अर्थ

प्रांगारिक खेतीमा आकर्षित गराउन कार्यनीति

चितवन– प्रांगारिक खेतीलाई प्रवद्र्धन गर्न कार्यनीति बनाउन गठित कार्यदलले चितवनको खैरहनीका किसानसँग छलफल गरेको छ। कार्यनीति बनाउन देशका विभिन्न क्षेत्र पुगेर किसानसँग राय, सुझाव संकलन गरेको राष्ट्रिय कार्यदलले किसानसँग छलफल गरेको हो। रासायनिक विषादीको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्न र प्रांगारिक खेतीमा किसानलाई आकर्षित गराउन नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कार्यनिति बनाउनका लागि कार्यदल गठन गरेको हो। 

रासायनिक विषादीको अधिक प्रयोगका कारण सबै क्षेत्रमा असर गरेको भन्दै यसलाई निरुत्साहित गर्न कार्यनिति बनाउन लागिएको कार्यदलका सदस्य सचिव गंगा आचार्यले बताए। कार्यदललाई चार महिनाभित्र देशका विभिन्न क्षेत्रमा पुगेर राय, सुझाव संकलन गरेर अध्ययन प्रतिवेदन तयार गर्न समय दिइएको छ। कार्यदल सदस्य एवं खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरी प्रांगारिक खेती गर्दा सुरुका दुई–तीन वर्ष उत्पादन कम हुने बताउँछन्। 

छलफलमा किसानले छिटोभन्दा छिटो कार्यनीति बनाएर लागु गर्नु आवश्यक रहेको बताए। प्रांगारिक खेती गर्ने किसानले रासायनिक विषादीको प्रयोग गरेर खेती गर्ने किसानसँग र बजारसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले यसमा राज्यले ध्यान दिनुपर्ने किसानको भनाइ छ। 

प्रकाशित: ११ चैत्र २०७५ ०८:१६ सोमबार

प्रांगारिक_खेती कार्यनीति छलफल