अर्थ

५० पाइलट माग्दा २६ को मात्र आवेदन

काठमाडौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रिक्त पाइलटको पदपूर्ति गर्न ५० जना माग गरेकोमा २६ जनाको मात्रै आवेदन परेको छ।

निगमले क्याप्टेन, जुनियर क्याप्टेन, सिनियर को–पाइलट र जुनियर को–पाइलटमा फागुन १० गते विज्ञापन खुलाएको थियो। आवेदनको अन्तिम मितिसम्ममा मागको ५२ प्रतिशत मात्रै आवेदन परेको निगमले जानकारी दिएको छ। निगममा भन्दा निजी एअरलाइन्स कम्पनीमा राम्रो सुविधा पाइने भएकाले आवेदन कम परेको हुन सक्ने अनुमान गरिएको छ। निगम सहप्रवक्ता नवराज कोइरालाका अनुसार निगमले १३ जना सिनियर क्याप्टेन माग गरेको थियो। यो पदमा मागको तुलनामा अत्यन्तै कम संख्याले मात्रै आवेदन दिएका छन्। माग १३ जना गरिए पनि आवेदन एकजनाले मात्रै दिएको कोइरालाले जनाकारी दिए। त्यसैगरी, १५ जना जुनियर क्याप्टेन माग गरेकामा तीनजनाको मात्रै आवेदन परेको छ। नौजना सिनियर को–पाइलट माग गरेकामा ६ जनाको मात्रै आवेदन परेको छ। जुनियर को–पाइलट पदको लागि भने निगमको माग संख्याभन्दा बढी आवेदन परेको छ। १३ जना जुनियर को–पाइलट माग गरेकोमा १६ जनाले आवेदन दिएका छन्।

निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने १४ थान जहाज छन्। निगमका अनुसार ती जहाज उडाउन सिनियर क्याप्टेन, जुनियर क्याप्टेन, सिनियर को–पाइलट र जुनियर को–पाइलट गरेर एक सय ४३ पाइलट आवश्यक हुन्छ। अहिले निगमसँग ८५ जना मात्रै पाइलट छन्। ‘अपुगमध्ये ५० जना पाइलट थप्न लागेका थियौंं,’ सहप्रवक्ता कोइरालाले भने, ‘सोही अनुसार विज्ञापन आह्वान गरे पनि प्राप्त आवेदन परेन।’ फागुन १० गतेबाट २१ दिनको म्याद दिएर दरखास्त आह्वान गरिएको थियो।

अब प्रक्रिया पूरा गरेर नियुक्त गरिनेछ। लोकसेवा आयोगले परीक्षा लिएपछि सक्षम व्यक्ति नियुक्त हुनेछ। रिक्त पदको लागि अर्कोपटक पात्रो अनुसार पुनः विज्ञापन गरिनेछ। अति नै आवश्यक भएको खण्डमा करारमा लिने निगमको योजना छ। निगमले पाइलटसँगै अन्य पदमा पनि दरखास्त आह्वान गरेको थियो। निगमले पाइटलसहित सिनियर क्याप्टेनदेखि ग्राउन्ड इक्विप्मेन्ट अपरेटरसम्मका पदमा एक सय ७४ कर्मचारी माग गरेको थियो। पाइलटमा पर्याप्तत आवेदन नपरे पनि कर्मचारीमा भने आवश्यकभन्दा कैयौं गुणा बढी आवेदन परेको छ।

निगमले सबैभन्दा बढी वरिष्ठ सहायकमा ३४ जना कर्मचारी माग गरेको थियो। उक्त पदका लागि १० हजार नौ सय ५० जनाको आवेदन परेको छ। त्यसैगरी, सहायकमा १८ जना माग गरिएकोमा ६ हजार दुई सय १५ जनाको आवेदन परेको छ। अधिकृत १० जना माग गरेकामा २९ सय ५० जनाको आवेदन परेको छ। निगमले पेन्टर माग गरेको थियो। निगमले दुईजना पेन्टर माग गरेकोमा दुईजना मात्रैको आवेदन परेको छ। अन्य पदका लागि आवश्यकभन्दा कम वा बढी आवेदन परे पनि पेन्टरको लागि भने माग संख्या बराबर आवेदन परेको हो।

निगममा सबै गरेर एक सय ७४ जनाको माग गरेकोमा जम्मा २५ हजार आठ सय सातजनाको आवेदन परेको छ। परेका आवेदनमध्येबाट तोकिएको योग्यता पुगेकालाई लोकसेवा आयोगले परीक्षा लिनेछ। त्यसपछि नियुक्तिका बाँकी प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित: ११ चैत्र २०७५ ०७:४६ सोमबार

नेपाल_वायुसेवा_निगम पाइलट आवेदन