अर्थ

सुरुङ मार्गको निर्माण द्रुतगतिमा अगाडि बढाउन स्वीस सरकारलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले सुरुङ मार्गको निर्माण कार्य द्रुतगतिमा अगाडि बढाउन स्वीस सरकारलाई आग्रह गरेका छन्। 

स्वीस डेभलपमेण्ट कोअपरेशन एजेन्सीका महानिर्देशक एचई मेनुएल सागेरसँग विहीबार मन्त्रालयमा भएको भेटमा नेपाल सरकारले प्रस्तावित गरेको दुई सुरुङ मार्गको निर्माणलाई द्रुतगतिमा अगाडि बढाउन आग्रह गरेका हुन्।

यातायात तथा सुरुङ मार्ग निर्माणमा स्वीस सरकारको विशेष दक्षता र अनुभव रहेकोले सो प्रविधिलाई नेपालमा प्रयोग गर्न चाहेको धारणा पनि खतिवडाले व्यक्त गरेका थिए। नेपालको समग्र विकास प्रयासमा स्वीस सरकारले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै मन्त्री खतिवडाले थप सहयोगका क्षेत्रबारे समेत छलफल गरेका थिए।

जवाफमा महानिर्देशक सागेरले नेपालले राजनीतिक स्थिरता प्राप्त गर्न सफल भएको तथा नयाँ संविधान कार्यान्वयनको चरणमा भएकोमा खुशी व्यक्त गरे। साथै, नेपालको भौगोलिक विविधताका कारण प्राप्त गर्न सक्ने लाभका क्षेत्रहरुमा आगामी दिनमा पनि सहयोगको निरन्तरता रहने प्रतिवद्धता व्यक्त गरे।

भेटमा स्वीजरल्याण्डका नेपालस्थित राजदूत एन्जाबेथ भाउ क्यापलर पनि उपस्थित थिए।

प्रकाशित: ७ चैत्र २०७५ १३:४१ बिहीबार

सुरुङ_मार्ग युवराज_खतिवडा स्वीस_सरकार स्वीस_डेभलपमेण्ट_कोअपरेशन_एजेन्सी