अर्थ

निर्माण तथा मेसिनरी सामाग्री अलपत्र

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल हेलम्बु। अम्बाथानमा अलपत्र सवारी साधन लगायत मेसिनरी उपकरण।    तस्बिर : ध्रुव/नागरिक

हेलम्बु (सिन्धुपाल्चोक) – मुख्य संरचना सुरुङ निर्माणमा संलग्न ठेकेदार हिँडेपछि मेलम्ची खानेपानी आयोजनास्थलमा निर्माण सामग्री र मेसिनरी उपकरण अलपत्र परेका छन्। घामपानी र प्रयोगविहीन अवस्थाले त्यस्ता सामग्री खिइँदा र नासिँदा छन्। 

इटालियन कम्पनी सिएमसी रेभेना एकतर्फी ठेक्का तोड्दै भागेपछि तीन महिनादेखि सुरुङमार्गको काम रोकिँदै आएको छ। आयोजनास्थलमा मेसिनरी औजार, सवारी साधन र निर्माण सामग्री अलपत्र देखिन्छन्। साढे २६ किलोमिटर लामो सुरुङ गत वर्षको चैत २७ गते ‘ब्रेक थ्रु’ (वारपार) भएको थियो। सुरुङका चार अडिटमार्गका सात स्थानबाट भइरहेको ढलान (फाइनल फिनिसिङ) अन्तिम चरणमा पुगेका बेला गत पुस २ गते सिएमसी आयोजनास्थल छाडेर भागेको थियो।

सुन्दरीजल, सिन्धु, ग्याल्थुम र मुहानस्थल अम्बाथानमा सिमेन्ट, छड, गिटी, बालुवा, काठ जस्ता निर्माण सामग्री अलपत्र छन्। गिटी, बालुवा छरिँदै छन् भने छड खिया लाग्दै गएको छ। मुहानस्थल अम्बाथानमा काटिएका छडमा बाक्लो खिया लागिसकेको छ। यहाँ इन्टेक (मुहान) बनाउने काम भइरहेको थियो। ‘सामग्री अलपत्र पर्दा सुरक्षा चुनौती थपिएको छ,’ इलाका प्रहरी कार्यालय हेलम्बुका इन्स्पेक्टर मणिराम लामिछानेले भने। 

त्यस्ता सामग्री, हराउन र चोरिन नदिँन उच्च सुरक्षा सतर्कता अपनाइएको उनले बताए। ठेकेदार हिँडेपछि आयोजनाले उसका सुरक्षा संयन्त्र आफू मातहत ल्याएको छ। सुरक्षागार्डले आयोजनास्थलमा सुरक्षा दिइरहे पनि उनीहरु नै चुनौती बनेका छन्। ‘ठेकेदार हिँडेपछि मुहानस्थलबाट ठूलो परिमाणमा तामाका तार हराए,’ आयोजनाका एक अधिकारीले भने, ‘खोजविन गर्दा सुरक्षा गार्डले नै चोरेर स्थानीय पसलमा बिक्री गरेको पायौँ।’ ठेकेदार हुँदा सामग्री प्रत्यक्ष उसको निगरानीमा हुन्थ्यो। 

आयोजनास्थलमा सयभन्दा बढी सवारी साधन अलपत्र छन्। लामो समयदेखि प्रयोग नहुँदा ट्रक, ट्रिपर, एक्स्काभेटर, रोलरलगायत साधन बिग्रँदा छन्। अलपत्र सबै साधन स्थानीय आपूर्तिकर्ताका हुन्। सिएमसीकै नामका औजार भने आयोजनास्थलमा छैनन्। उसले सुरुदेखि नै त्यस्ता मेसिनरी उपकरण भाडामा लिएर काम गर्दै आएको थियो। 

आपूर्तिकर्ता बिरा मोटर्सका सबैभन्दा बढी उपकरण आयोजनास्थलमा थन्किएका छन्। साइट लिडर तिलक पुरीले बिराका मात्रै ४६ उपकरण अलपत्र परेको बताए। ‘भाडामा दिइएकाले ती हाम्रो नियन्त्रणमा छैनन्,’ उनले भने। नियमित सञ्चालन अभावमा लामो समयदेखि नचल्दा मेसिनरी उपकरण बिग्रने खतरा ज्यादा हुने उनी बताउँछन्। नियमित ‘स्टार्ट’ गरेर दुरुस्त हालतमा राख्ने प्रयास गर्दा आयोजनाले नदिएको आपूर्तिकर्ताको गुनासो छ। 

सिएमसीसँग मोटो रकम भुक्तानी लिन बाँकी रहेकाले आफ्ना साधन बलजफ्ती लैजान उनीहरुले सकेका छैनन्। स्थानीय आपूर्तिकर्ताले ठेकेदारसँग साढे एक अर्ब रुपैयाँभन्दा बढी भुक्तानी लिन बाँकी देखिन्छ। बिरा मोटर्सले मात्रै ७५ करोड रुपैयाँभन्दा बढी भुक्तानी लिन बाँकी रहेको बताएको छ। मेलम्ची क्षेत्रका १२ आपूर्तिकर्ताले ठेकेदारसँग साढे १६ करोड रुपैयाँ भुक्तानी लिनुपर्ने भन्दै केही दिनअघि मात्र आयोजनास्थलमा पत्रकार सम्मेलन गरेका थिए। 

सुरुङ निर्माणमा संलग्न आठ सयन्दा बढी मजदुरले तलब, भत्ता र सञ्चय कोषबापतको झन्डै नौ करोड रुपैयाँ पाएका छैनन्। ‘कम्पनी हिँडेपछि भाडामा दिइएका मेसिनरी औजार नचलेको समयको भूक्तानी अब कसले दिने,’ अलपत्र साधनको सुरक्षा चुनौती दर्शाउँदै अर्का आपूर्तिकर्ता शिकुमार भट्टराईले प्रश्न गरे। 

प्रकाशित: ५ चैत्र २०७५ १०:३७ मंगलबार

मेलम्ची_आयोजना ठेकेदार_प्रकरण मेसिनरी_सामाग्री