अर्थ

चार महिनामा एक खर्ब ३५ अर्ब खर्च हुने

काठमाडौं– लामो समयदेखि आर्थिक वर्षको अन्तिममा हुँदै आएको पुँजीगत खर्चको चाप यो वर्ष पनि कायमै रहने भएको छ। अबकाे चार महिनामा एक खर्ब ३५ अर्बको हाराहारीमा पुँजीगत खर्च हुने भएको छ।

संसद्को अर्थ समितिमा बाेल्दै अर्थसचिव डा. राजन खनालले ८५ प्रतिशत पुँजीगत खर्च हुने बताए। उनले भने, ‘८७ प्रतिशत पुँजीगत खर्च हुन्छ। यसमा तपाइहरु ठुक्क हुनुहोस्।’

आजसम्म २८ दशमलव ८९ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ। चालु आबको बजेटमा तीन खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ पुँजीगत खर्च विनियोजन गरिएको थियो। अहिलेसम्म ९१ अर्ब ५४ करोड रुपैयाँ मात्र पुँजीगत खर्च भएको छ।

अबका चार महिनामा ८५ प्रतिशत पुँजीगत खर्च पुर्याउनका लागि खर्च दुई खर्ब २६ अर्ब पुर्याउनु पर्ने देखिन्छ। आर्थिक वर्षको अन्तिम महिनामा बजेट सक्नका लागि गरिने विकास निर्माणका कामको गुणस्तरमा भने बेला बेलामा प्रश्न उठ्दै आएको छ। 

प्रकाशित: ४ चैत्र २०७५ ०८:२९ सोमबार

अर्थ_मन्त्रालय पुँजीगत_खर्च अर्थ_समिति राजन_खनाल