अर्थ

एक वर्षमा ४१ लाख बैंक खाता

काठमाडौं – एक वर्षमा ४१ लाख बैंक खाता खुलेका छन्। बैंक कारोवारमा सर्वसाधारणको विस्वास वढेसंगै खाता खोल्नेको संख्यामा समेत वृद्धि भएको हो।

अघिल्लो माघ मसान्तको तुलनामा यो वर्षको माघसम्ममा ४१ लाख ६९ हजार निक्षेपकर्ता बढेको राष्ट बैंकले जनाएको छ। यो संगै माघ मसान्तसम्म बैंकमा खाता हुने नेपालीको संख्या दुई करोड ५६ लाख ५८ हजार पुगेको छ।

गएको वर्षको माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता खोल्नेको संख्या दुई करोड १४ लाख ९८ हजार थिए।  सरकारले गत आवको बजेटमा एक नेपालीको एक खाता अभियान घोषणा गरेको थियो। वित्तीय सचेतना बढ्दै जाँदा खाता खोल्नेको संख्या बढेको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए। साथै सहरदेखि ग्रामीण क्षेत्रमा समेत बैंक तथा वित्तीय संस्था पुगेका कारण खाता खोल्ने बढेको हो। 

यस अवधिमा खोलिएका खातामध्ये दुई करोड नौ लाख ७८ हजार खाता ‘क’ वर्गका वाणिज्य बैंकमा रहेका छन्। ४१ हजार सात सय खाता ‘ख’ वर्गका विकास बैंकमा र पाँच लाख ५२ हजार खाता फाइनान्स कम्पनीमा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: ३ चैत्र २०७५ ०९:३७ आइतबार

बैंक खाता निक्षेप_खाता