अर्थ

किवी किसानलाई करोड अनुदान

सोलुखुम्बु  – माथिल्लो सगरमाथाका तीन जिल्लाका किवी किसानले एक करोड रुपैयाँ अनुदान पाउने भएका छन्। सोलुखुम्बु, ओखलढुंगा र खोटाङका किवी खेती गरिरहेका कृषकलाई बागवानी केन्द्र फाप्लुमार्फत प्रस्तावनामा आधारित अनुदान कार्यक्रमअन्तर्गत एक करोड अनुदान वितरण गर्न लागिएको हो।

माघ १७ गतेदेखि एक महिना सार्वजनिक रुपमा आव्हान गरिएको प्रस्तावनामा तीन जिल्लाका २० कृषि फार्मले आवेदन दिएका थिए। कागजातका आधारमा प्रारम्भिक चरणमा १६ कृषि फार्म छनौटमा परेको वरिष्ठ बागवानी विकास अधिकृत चन्द्रमान श्रेष्ठले जानकारी दिए।

दोस्रो चरणमा सम्बन्धित कृषि फार्मको अनुगमन गरी स्थलगत अवस्था र प्रस्तावना पेस गरिएका योजनालाई ध्यानमा राखेर अनुदान रकम प्रदान गरिने अधिकृत श्रेष्ठको भनाइ छ। किसानले कम्तीमा पनि एक हेक्टर क्षेत्रफलमा किवीखेती गरेको हुनुपर्नेछ भने किवीको खेती र योजनाको आधारमा अनुदान रकम फरक हुन सक्नेछ।

सोलुदूधकुण्ड नगरपालिकाका–६, थुलुङ दूधकोशी गाउँपालिकाका–४, लिखुपिके र नेचासल्यान गाउँपालिकाका दुई–दुईवटा कृषि फार्म प्रारम्भिक चरणको छनौटमा परेका छन्। त्यस्तै खोटाङ र ओखलढुंगाका एक–एक फार्म अनुदानको सूचीमा छनौटमा परेको छ। सोलुखुम्बु किवीका लागि प्रचूर सम्भावना भएको जिल्लाका रुपमा परिचित छ।
 

प्रकाशित: ३० फाल्गुन २०७५ ०६:२९ बिहीबार

किवी किसान अनुदान