अर्थ

यस कारण थन्किए ‘वाई १२–ई’ जहाज

काठमाडौं - नेपाल वायुसेवा निगमसँग चार थान ‘वाई१२–ई’ जहाज छन्। यी जहाज नउडेको शनिबार ३८ दिन पुग्यो। दुर्गम क्षेत्रमा उडाउन चीनबाट ल्याइएका यी जहाज निगमको कमजोर व्यवस्थापनका कारण थन्किन पुगेका हुन्।

निगममा मदन खरेल कार्यकारी अध्यक्ष बनेर आएपछि गत असोजमा ‘वाई१२–ई’ चारै थान जहाज उडाउने प्रयास भएको थियो। केही समय जहाज नियमित उडाएर खरेल चर्चामा पनि आए। तर, अहिले खरेलकै बेवास्थाले चारै थान जहाज पुस १६ गतेदेखि ग्राउन्डेड छन्। यसअघि पाइलट नभएर जहाज उडाउन नसकेको बताउने खरेलले अहिले पाइलट भएर पनि जहाज उडानमा चासो दिएका छैनन्। सुरुमा पनि निगमकै कारण ‘वाई१२–ई’ जहाजका लागि पाइलटको समस्या भएको हो। निगमले सुरुमै व्यवस्थापन गरेको भए ती जहाज पाइलटका कारणले रोकिनुपर्ने नपर्ने निगम उच्च स्रोत बताउँछ।

‘वाई१२–ई’ चार जहाजमा उद्धव घिमिरे, नृपेन्द्र भट्टराई, सन्जय बादे श्रेष्ठ र आङनुरी शेर्पा गरेर चार पाइलट थिए। तीमध्ये उद्धव घिमिरेलाई एअर बस चलाउन तालिमका लागि इन्डोनेसिया पठाइयो। घिमिरे तालिम लिन गएलगत्तै भट्टराई र श्रेष्ठ पुस २९ गतेबाट बिरामी बिदामा बसे। प्रशिक्षक पाइलटसमेत रहेका शेर्पाले जहाज नियमित उडाइरहे। जहाज चलाउनका लागि पाइलट प्रोफिसेन्सी चेक (पिपिसी) चाहिन्छ। पिपिसी लिनका लागि एक दिनको तालिम लिनुपर्छ। यो तालिम वर्षको दुई पटक लिनुपर्छ। तालिम ६–६ महिना वा सुरुको आठ महिनामा र त्यसपछिको चार महिनामा लिएर वर्षको दुई पटक पु¥याए पनि हुने व्यवस्था छ।

निगमको कमजोर व्यवस्थापन तथा बेवास्थाले गर्दा ३८ दिनदेखि थन्किएका चार थान ‘वाई१२–ई’ जहाज अझै कति सयम थन्किने हुन्, त्यसको उत्तर निगमसँगै छैन । 

पाइलट शेर्पाको पिपिसी तालिम लिएको नोभेम्बर ३० मै ६ महिना पुगिसकेको थियो। तर, निगमले शेर्पालाई तालिमका लागि पठाएन्। पिपिसी तालिम लिएको आठ महिनापछि भने फेरि तालिम नलिएसम्म जहाज उडाउन पाइँदैन। शेर्पाले पिपिसी तालिम लिएको जनवरी ३० मा आठ महिना पुग्यो। त्यसपछि शेर्पाले पनि जहाज उडाएनन्। चीनबाट ल्याइएका यी जहाजको पिपिसी तालिम पनि चीनमा लिनुपर्छ। तालिमको लागि पठाउने तथा व्यवस्थापन गर्ने काम निगमको हो। घिमिरे एअर बसको तालिम, भट्टराई र श्रेष्ठ बिरामी परेपछि तीनवटा जहाज थन्किएका थिए। शेर्पाको पनि पिपिसीको म्याद सकिएसँगै जनवरी ३० (पुस १६) बाट ‘वाई१२–ई’ चारै थान जहाज ग्राउन्डेड हुन पुगे।

जहाज यसरी ग्राउन्डेड भएपछि निगमले शेर्पालाई तालिमका लागि पठाउन कुनै चासो दिएन्। बरु त्यही जहाज उडाउन भन्दै दुई पाइलट केबी लिम्बू र फिजुनाथ नेपाली नियुक्ति ग¥यो। जबकी, लिम्बू र नेपालीका लागि ‘वाई१२–ई’ जहाजका लागि नयाँ हुन्। निगमकै अनुसार ‘वाई१२–ई’ जहाज लिम्बू र नेपालीले चलाउनका लागि एकदेखि दुई महिना तालिमको आवश्यकता पर्छ। त्यसैगरी पिपिसी तालिम पनि लिनुपर्छ।

शेर्पा प्रशिक्षक पाइलट हुन्। निगमका सहप्रवक्ता नवराज कोइरालाका अनुसार लिम्बू र नेपालीलाई प्रशिक्षक पाइलट शेर्पाले नै तालिम दिन्छन्। पिपिसीको तालिम लिएर आएपछि अन्य पाइलटको पिपिसीको तालिम पनि शेर्पाले नै गराउने उनले बताए। तर, उनै शेर्पालाई तालिम पठाउन निमगले चासो नदिएर नयाँ पाइलट थप गर्न हतारियो। अहिले निगमको कमजोर व्यवस्थापनको कारण थपिएका नयाँ पाइलट नियुक्ति लिएर जहाज नछोई मासिक प्रतिव्यक्ति दुई लाख हाराहारी तलब बुझिराखेका निगम स्रोत बताउँछ। ‘नयाँ पाइलट थपेर जहाज नछोई नै तलब खुवाउने,’ निगम स्रोतले भन्यो, ‘तर, ती पाइलटलाई तालिम दिने प्रशिक्षक पाइलट शेर्पालाई पिपिसीको तालिम लिने व्यवस्थासमेत नमिलाउनाले निगमको व्यवस्थापन कस्तो छ भन्ने स्पष्ट हुन्छ।’

यता बिरामी रहेका भट्टराई र श्रेष्ठ पनि सञ्चो भएर काममा फर्किसकेका छन्। यद्यपी श्रेष्ठको भने पिपिसीको म्याद सकिएको छ। उनले पनि तालिम नलिएसम्म जहाज उडाउन पाउँदैनन्। अहिले ‘वाई१२–ई’ जहाजका लागि एक मात्रै पाइलट भट्टराई हुन्। पाइलट भट्टराईले एउटा जहाज नियमित हप्ताको ६ दिन उडाउन पाउँछन्। तर, निगमले पाइलट भट्टराईलाई पनि जहाज उडान लगाएको छैन। भट्टराई उपचारपछि फागुन १३ गते काममा फर्किएको निगम बताउँछ। भट्टराई काममा फर्किएपछि प्राविधिक कारण देखाएर फागुन १४ गते उडान राखिएन। निगमकै अनुसार फागुन १५ गते दाङका लागि उडान राखियो पाइलट भट्टराईलाई। १४ जना यात्रुसहित राखिएको उडान मौसमका कारण गर्दा अन्तिम समयमा आएर हुन सकेन। यद्यपी, प्राविधिक पाटो पूरा गरेर पाइलट तयारी रहेको अवस्थामा उक्त उडान अन्य कारणले नभए पनि उडान भए सरह मानिने निगमको व्यवस्था छ।

त्यसरी उडान राखेका पाइलट भट्टराईलाई निगमले फागुन १५ गतेकै बेलुका मेडिकल नगरी जहाज उडाउन नपाउने भन्दै पत्रचार गरेको छ। निगमले पठाएको पत्रमा नागरिक उड्ड्यन प्राधिकरणले जारी गरेको पाइलट लाइसेन्स निर्देशिकामा २० दिनभन्दा बढी बिरामी भएमा मेडिकल जाँच गराउनुपर्ने व्यवस्था रहेकाले मेडिकल गराउनु पर्ने उल्लेख छ। निगमका स्रोत भन्छ, ‘मेडिकल गराउन पर्ने भए किन फागुन १५ गते दाङका लागि उडान राखियो ?’ निगमले जहाज नउडाउनका लागि अनेक बखेडा झिकेर अल्झाइरहेको दाबी उक्त स्रोतको छ।

निर्देशिकामा २० दिनभन्दा बढी बिरामी प्राधिकरणका महानिर्देशकलाई जानकारी गराउनुपर्ने र त्यस्तै खालको बिरामी दोहोरिएमा मेडिकल परीक्षण गर्नपर्ने उल्लेख छ। पाइलट भट्टराईका अनुसार बिरामी भएलगत्तै निगम र प्राधिकरणमा जानकारी गराइएको छ। निगममा आवश्यक मेडिकल काजपत्रसमेत बुझाइएको उनले बताए।

मेडिकल जाँच गर्नुपर्ने भएकाले पाइलट भट्टराईलाई जहाज उडाउन नलगाएको कोइरालाले बताए। तर, यसअघि अन्य पाइलट भने लामो समय बिरामी हुँदासमेत मेडिकल जाँच गरेको थिएन। एक वर्षअघि प्रदीपराज भट्टराई बिरामी भएर ६ महिना बिदामा बसेका थिए। त्यसैगरी दुई वर्षअघि पाइलट अरन्द्रिराज पहाडी पनि बिरामी परेर लामो समय बिदामा बसेका थिए। निगम स्रोतका अनुसार यी दुबै पाइलटको भने मेडिकल जाँच बिनै जहाज उडाउन लगाइयो। तर, प्राधिरकणबाट नियमित मेडिकल जाँच भने सबै पाइलटको गराउनुपर्छ। अहिले भट्टराईको पनि नियमित जाँच भने भइरहेको छ। उनका अनुसार नियमित जाँचको मिति अप्रिल अन्तिमसम्म छ।

स्रोतका अनुसार निगमले ‘वाई१२–ई’ जहाज नउडाउन अनेक बहाना बनाइरहेको हो। ‘निगम ‘वाई१२–ई’ जहाज नउडाएर भित्रि रुपमा नयाँ खेल खेल्दैछ,’ स्रोत भन्छ, ‘पाइलट भट्टराईको मेडिकल जाँच गराउनैपर्ने भए पनि निगम व्यवस्थापनमा गराउनुपर्ने हुन्छ, १५ गतेबाट अहिलेसम्म किन गराइएन् ?’ निगमका सहप्रवक्ता नबराज कोइरलाका अनुसार निगम चारै थान ‘वाई१२–ई’ जहाज उडाउने पक्षमा छ। त्यसका लागि पाइलटको व्यवस्था भइरहेको उनले बताए। ‘पाइलका कारणले अहिले जहाज ग्राउन्डेड हुने अवस्थामा पुगेका हुन्,’ उनले भने, ‘पछिका दिनमा त्यस्तो समस्या नआओस् भनेर त्यहीअनुसार पाइलटको व्यवस्था गर्दैछौं।’ उनका अनुसार पाइलट भट्टराईको मेडिकल जाँच गर्न निगमले प्राधिकरणसँग समन्वय गर्दैछ। अबको एक–दुई दिनमै पाइलट भट्टराईको मेडिकल जाँच भएर एउटा जहाज नियमित रुपमा सञ्चालन हुनेछ।

बाँकी जहाज प्रशिक्षक पाइलट शेर्पाले पिपिसी तालिम लिएर आएपछि अन्य पाइलटलाई तालिम दिएर मात्रै हुने उनले बताए। ‘निगमले पाइलट शेर्पालाई पिपिसी तालिम लिन अघिल्लो हप्ता चीन पठाएको थियो,’ उनले भने, ‘प्राविधिक कारणले तालिम भएन।’ पाइलट शेर्पाको पिपिसी नोभेम्बर ३० मै सकिएको हो। जनवरी ३० बाट त जहाजै चलाउन नपाउने गरी सकियो। तर, निगमले शेर्पालाई तालिमका लागि फागुन ११ (फेब्रुअरी २३)मा मात्रै पठायो। कोइरालाका अनुसार चीनमा तालिमका लागि जहाज नभएपछि उनी फर्किएर आए। स्रोतका अनुसार चीनमा तालिम प्रदान गर्ने कम्पनीसँग निगमले सोधपुछ नगरी पठाएको हो। यसले निगमलाई नोक्सानी पु¥याएको स्रोतको भनाइ छ।

तालिमका लागि शेर्पा चीन कहिले जान्छन्, त्यसको टुंगो निगमसँगै छैन। ‘शेर्पालाई तालिम लिनका लागि सक्दो चाँडो पठाउँछौं,’ कोइरालाले भने, ‘त्यसका लागि तालिम प्रदान गर्ने चिनियाँ कम्पनीसँग कुरा भइरहेको छ।’ शेर्पाले पिपिसी तालिम लिएर आएसँगै ‘वाई१२–ई’ चारै थान जहाज नियमित उडाइने छ। उनका अनुसार चारमध्ये एउटा जहाज बिग्रिएर मर्मतको क्रममा छ। त्यो जहाज पनि मार्च महिनाभित्र बनिसकेर नियमित सञ्चालनमा आउँछ। त्यसपछि भने ‘वाई१२–ई’ चारै थान जहाज दुर्गम क्षेत्रमा नियमित उडाएर सेवा दिने दाबी निगमको छ। तर, त्यो कहिलेसम्म भने निगमसँग जवाफ छैन।

प्रकाशित: २७ फाल्गुन २०७५ ०४:४१ सोमबार

नेपाल_वायुसेवा_निगम वाई१२–ई विमान