अर्थ

‘व्यवसाय चल्ने र बैंकलाई निश्चित मुनाफा हुने गरी ब्याजदर निर्धारण’

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले व्यवसाय चल्ने र बैंंकलाई निश्चित मुनाफा हुने गरी ब्याजदर निर्धारण हुनुपर्ने बताएका छन्। उनले मंगलबार बजेटको अर्धवार्षिक समीक्षामा यस्तो बताएका हुन्। 

खुला अर्थतन्त्रमा बजारले नै ब्याजदर तोक्ने उनको भनाइ थियो। बैंक ब्याजदरलाई निश्चित सीमा भित्र राख्न खोज्दा हस्तक्षेप गरेको आरोप लगाउने र ब्याजदर असाध्यै न्यून हुँदा कसैले चिन्ता नलिने प्रवृत्ति रहेको पनि अर्थमन्त्री खतिवडाले बताए।

खुला बजारमा मूल्यवृद्धि, बैंक तथा वित्तीय संस्थाको ब्याजदर र विदेशी विनिमय दर सरकारले तोक्न नसक्ने उनको भनाइ थियो। ‘यीमध्ये कुनै दुई क्षेत्रलाई सरकारले नियन्त्रण गर्न खोजे पनि तेस्रो क्षेत्रको निर्धारण बजारले गर्नेछ,’ उनले भने।

ब्याजदर अस्वाभाविक रुपमा माथि जाँदा अर्थमन्त्रीले हस्तक्षेप गर्याे भनेर लेख्ने काम पनि भएको उनले बताए। ब्याजदर असाधारण तल जाँदा पनि आफूले चिन्ता गरेको पनि अर्थमन्त्री खतिवडाले बताए।

अर्को वर्ष स्प्रेड दरलाई चार प्रतिशतमा झार्ने तयारी भइरहेको भन्दै अर्थमन्त्री खतिवडाले ६ प्रतिशतमा कर्जा दिँदा निक्षेपको ब्याजदर दुई प्रतिशतमा सीमित हुने अवस्था आउने उल्लेख गरे। अर्थमन्त्री खतिवडाले व्यावसायिक स्वतन्त्रता र बजारको सिद्धान्त पालना गरेर सबै काम अघि बढाउनुपर्ने बताए। 

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०२:५९ बुधबार

अर्थमन्त्री युवराज_खतिवडा बैंंक मुनाफा ब्याजदर