अर्थ

ग्यास उद्योगीको आन्दोलन स्थगित

काठमाडौं – कमिसन वृद्धिलगायत १० बुँदे माग राखेर आन्दोलन सुरु गरेका ग्यास उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको रोहबरमा नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल आयल निगमबीच तीनबुँदे सहमति भएपछि उद्योगीले आन्दोलन स्थगित गरेका हुन्। 

ग्यास उद्योगीका व्यावसायिक मागबारे अध्ययन गर्न निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र शाहको संयोजकत्वमा गठित अध्ययन समितिले १५ दिनभित्र सुझाव पेस गर्ने, एलपिजीलगायत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको मार्गचित्र तय गर्न उच्चस्तरीय समिति गठन गर्ने प्रतिबद्धतापछि आन्दोलनका कार्यक्रम स्थगित गरेको संघका अध्यक्ष गोकुल भण्डारीले बताए। निगम र संघबीच भएको तीनबुँदे सहमतिमा निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र संघका अध्यक्ष भण्डारीले हस्ताक्षर गरेका छन्।

कमिसन वृद्धिलगायत १० बुँदे माग राखेर आन्दोलनरत ग्यास उद्योगीले शुक्रबारबाट ग्यास ल्याउने अनुमति (प्रोडक्ट डेलिभरी अर्डर–पिडिओ) उठाएका थिएनन्। बुधबारबाट पिडिओ उठाउने भण्डारीले बताए।

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०२:३८ बुधबार

कमिसन ग्यास_उद्योगी आन्दोलन