अर्थ

भुक्तानी अनिश्चित हुँदा सस्तोमा उखु बेच्दै किसान

रौतहट – रौतहटका उखु किसानले भुक्तानी पाउने निश्चित नभएपछि धमाधम सस्तोमा उखु बेच्न थालेका छन्। चिनी मिलले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३८ रुपैयाँँ दिने सहमति भए पनि भुक्तानीप्रति अविश्वास हुँदा सस्तोमा भए पनि नगदी दिइरहेका हुनाले किसान उखु बेच्न बाध्य छन्।

गढीमाई नगरपालिका–४ का सुरेन्द्र चौधरी प्रतिक्विन्टल दुई सय ७५ रुपैयाँमा नगदै उखु बेच्दै घरमा पैसाको अभावको समयमा उखुको मूल्यले तत्कालै काम दिने बताउँछन्। उखुलाई नगदे बाली भनिए पनि सख्खर उद्योगले सस्तोमै उखु किने पनि बाली बेच्नासाथ नगद हात परेपछि घरायसी काम गर्न सजिलो भएको चौधरीको भनाइ छ।

खेतमा नगदेबाली उब्जाएर उधारोमा बेच्नुपर्दा निकै दुःख लाग्ने गरेको चौधरी बताए। बाध्यताले सस्तोमा भए पनि नगदीमा बेच्न पाउँदा खुसी लाग्ने गरेको किसान बताउँछन्।  गढीमाई–३ का जियाउल हकले पनि पानी पर्नुभन्दा दुई दिन पहिले प्रतिक्विन्टल तीन सय रुपैयाँमा उखु बेचेको बताए। सख्खर उद्योगले उखुको मूल्य निकै कम दिए पनि सर्वसाधारण किसानको घर खर्च चलाउन सजिलो बनाएकाले किसानलाई खुसी तुल्याएको चौधरी बताउँछन्।

सख्खरको भाउ निरन्तर कम हुँदै गएकाले सख्खर उद्योगले उखुको उचित भाउ दिन नसकेको उद्योगीको भनाइ छ। अहिले सख्खरको मूल्य प्रतिक्विन्टल तीन हजार चार सय रुपैयाँ रहेकाले किसानले बेच्न ल्याउने उखुको खासै मूल्य दिन नसकेको गढीमाई क्रसर उद्योगका सञ्चालक विशुन राय यादव बताउँछन्। विगतका वर्षभन्दा सख्खरको मूल्य निकै कम भएकाले किसानलाई उखुको भाउ तिर्न नसकिएको सञ्चालक यादवको भनाइ छ।

करिब डेढ महिनादेखि देशका विभिन्न चिनी उद्योगमा उखु किसानले एक पैसा पाउन सकेका छैनन्। जतिसुकै ठूलो काम पर्दा पनि चिनी उद्योगले रकम उपलब्ध नगराउने तर सख्खर उद्योगले भनेकै दिन रकम उपलब्ध गराउने हुनाले उखु किसान सख्खर उद्योगतिर आकर्षित भएका हुन्। रौतहटको सुन्दरपुरमा रहेको दर्जनौं सख्खर उद्योगले रौतहटका साथै सर्लाहीका उखु किसानको गर्जो टार्दै आएको छ। किसानको गर्जो टार्ने भएकाले सर्वसाधारण उखु किसानहरुले सख्खर उद्योगलाई पत्याएको देखिएको छ। जिल्लामा दुईवटा चिनी उद्योग रहे पनि किसानले दर्जन सख्खर उद्योगमा किसानले उखु पुर्‍याउन तँछाडमछाड गरेका हुन्।

इन्धनको मूल्य बढेसँगै ढुवानीको मूल्य पनि बढेको तर सख्खरको मूल्य गत वर्षको तुलनामा निकै कम भएकाले उखु किसानलाई उचित मूल्य दिन नसकेकोमा आफूहरुलाई पनि नमिठो लागेको सख्खर उद्योगी यादवको भनाइ छ।

प्रकाशित: १७ फाल्गुन २०७५ ०१:४० शुक्रबार

रौतहट उखु_किसान भुक्तानी अनिश्चित