अर्थ

इन्फ्रास्ट्रक्चर एक्सिलेन्स अवार्ड २०१९ हुँदै

काठमाडौं – ‘इन्फ्रास्ट्रक्चर एक्सिलेन्स अवार्ड २०१९’ हुने भएको छ। नेपाली निर्माण क्षेत्रले पुर्‍याएको योगदानलाई सम्मानस्वरुप उक्त अवार्ड वैशाखा दोस्रो साता हुन लागेको हो। 

अवार्डले नेपाली निर्माण क्षेत्रमा भइरहेका राम्रा कार्यहरुको पहिचान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ। 

निर्माण कम्पनी, व्यक्तित्व एवं परियोजनालाई योगदानको कदर गर्दै सम्मान गर्नेछ। यसले नेपाली निर्माण क्षेत्रमा भइरहेका उदाहरणीय कार्यलाई प्रोत्साहित गर्ने र अन्ततः गुणस्तरीय पूर्वाधार निर्माणलाई प्रोत्साहन गर्ने विज्ञप्तिमा छ।

‘इन्फ्रास्ट्रक्चर एक्सिलेन्स अवार्ड २०१९’ विभिन्न सातवटा विधामा प्रदान गरिनेछ। प्रत्येक विधामा पाँचवटा प्रतिस्पर्धी छनोट गरी तीमध्ये एउटालाई निर्णायकको मतअनुसार अवार्ड प्रदान गरिने बताइएको छ।  

पपुलर प्रोजेक्ट अफ दि इयर अवार्ड भने जनताको मतमार्फत् छनोट गरिने छ। यसका लागि सोसल मिडिया र एसएमएसमार्फत् मत दिन सकिने विज्ञप्तिमा उल्लेख छ। यस्तै पूर्वाधार विकासको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ। 

अवार्डका दाबेदार परियोजनाको छनोटका लागि अनुसन्धान संस्था ‘फ्याक्ट’लाई अनुबन्ध गरिएको छ। सन् २०१८ मा निर्माण सम्पन्न भएका उदाहरणीय परियोजना तथा कम्पनीबारे स्वतन्त्र ढंगले अनुसन्धान गरी फ्याक्टले अवार्डका दाबेदार छनोट गर्नेछ। यसैगरी, यो क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको निर्णायक मण्डलले अवार्ड विजेता छनोट गर्नेछ।

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०५:१३ बिहीबार

इन्फ्रास्ट्रक्चर_एक्सिलेन्स_अवार्ड निर्माण_क्षेत्र विज्ञप्ति