अर्थ

माछामा परनिर्भर बन्दै मलेखु

तराईबाट आयात गरेर धादिङको मलेखु बजारमा बेच्न राखिएको माछा र माछाका विभिन्न परिकार। तस्बिर : सरिता/नागरिक

मलेखु – माछाका लागि प्रसिद्ध ठाउँ भनेर धादिङको मलेखु चिनिँदै आएको छ। २०३५ देखि स्थानीय छविलाल मरहठ्ठाले माछा व्यवसाय सुरु गरेपछि यो ठाउँको नाम माछाबजार हुन गएको हो। स्थानीयले पोखरीमा माछा पालेर व्यवसाय सुरु गरेका थिए। पृथ्वी राजमार्ग हुँदै यात्रा गर्नेहरु पनि मलेखरको माछा खान भनेर रोकिने गर्थे। छविलालसँगै माछापालन गर्नेको संख्या बिस्तारै बढ्दै गयो। अहिले यहाँ करिब सय होटल सञ्चालनमा छन्। त्यस्तै माछा बेच्न व्यापारी राजमार्ग किनारमा पनि बस्ने गर्छन्। 

करिब ४० वर्षको अवधिमा मलेखु बजार तराईको माछामा आत्मनिर्भर हुनुपरेको छ। माछाको नामले देशविदेशमा परिचित बने पनि पछिल्लो समय मलेखु आसपासका क्षेत्रमा माछा उत्पादन हुन छाडेपछि जनकपुर, वीरगन्ज, नारायणघाट तथा तराईको माछाको भर पर्नुपरेको मलेुखका व्यापारी रमेश सेढाईले बताए। ‘यहाँका पोखरीमा माछा पाउन छाडेको छ, जसका कारण तराईबाट माछा ल्याउनुपर्छ,’ सेढाईले भने, ‘तराईबाट ल्याएको माछा मलेखुको स्वादमा खाने गरेका छन्।’ छविलालले माछा बेचेर नै दैनिक ५० हजारसम्म कमाउने गर्छन्।   

मलेखु बजारमा दैनिक सयौंको संख्यामा माछा खान भनेर मानिस आउने गर्छन्। पहिले पहिले स्थानीयस्तरमा नै उत्पादन भएको माछाले थेगेको मलेखु बजार अहिले तराईको माछामा आत्मनिर्भर हुनुपरेको छ। जिल्लामा उत्पादित माछाले बजार धान्न नसकेपछि मलेखु बजारमा मात्र प्रतिदिन एकदेखि तीन टनभन्दा बढी माछा तराईबाट र भारतीय बजारबाट आयात गरिने व्यापारी बताउँछन्। केही समय अघिसम्म मलेखु बजारमा त्रिशूली नदीकै माछा खान पाइन्थ्यो भने अहिले उपभोक्ताको माग बढेसँगै तराईबाट माछा ल्याउनु परेको व्यापारीको भनाइ छ। 

पृथ्वी राजमार्ग भएर आवतजावत गर्ने साना–ठूला सवारी साधनमा यात्रा गर्ने यात्रुका लागि मलेखुमा पकाएको माछाका परिकारका स्वाद चर्चित बन्ने गरेको छ। त्रिशूली नदीमा पाइने स्थानीय प्रजातीका माछा विभिन्न कारणले गर्दा लोप हुँदै गएको स्थानीय व्यापारी बताउँछन्। अचेल मलेखु बजारमा भारतीय बजार र तराईका जिल्लाबाट माछा आयात गर्न बाध्य भएको व्यापारी सेढाईले बताए। ‘स्थानीयस्तरमा उत्पादन गरिएका र त्रिशूली नदीका माछा पाउन मुस्किल छ,’ सेढाईले भने, ‘स्थानीय माछाको स्वादमा तराईका माछा खादै रमाउने गर्छन्।’

पहिले मलेखु खोला र त्रिशूली नदीको मात्र माछा पाइने यो बजारमा २०५० साउन ४ गते मलेखु खोलामा आएको बाढीले खोलाको ढड्यान बगाएपछि माछा बस्ने कुरहरू भत्किए। त्यसपछि नै मलेखु बजारमा तराई क्षेत्रका माछाले प्रवेश पाएको हो। अहिले मलेखुमा असला, कत्ले, झिंगे, वामसहितका माछा उपलब्ध छन्। तेलमा तारेको माछा सबैले मन पराउँछन्। माछामा काँडा हुने भएकाले धेरैले तारेको मन पराउँछन्। जाडो समयमा आलो माछामा झोल हालेर खान मन पराउने पनि धेरै हुन्छन्। 

त्रिशूली नदीमा पाइने स्थानीय प्रजातीका माछा विभिन्न कारणले लोप हुँदै गएकाले मलेखु बजारमा भारतीय बजार र तराईका माछा आयात गर्नुपरेको छ। जिल्लामा उत्पादित माछाको तुलनामा तराई तथा भारतबाट ल्याइएका माछा सस्तो पर्ने भएकाले तराईको माछा बढी बिक्री हुने गरेको अर्का व्यापारी लक्ष्मी मगरले बताइन्। ‘जाडो मौसम सुरु भएपछि सुकेका र नसुकाइएका सिल माछाको व्यापार वृद्धि भएको छ,’ मगरले भनिन्, ‘स्थानीयस्तरमा माछा त्यति नपाएपछि तराईका माछाले मलेखु बजार धानेको छ।’ मलेखु बजारमा आलो माछाजस्तै सुकाएर बिक्री गरिने माछा पनि अत्याधिक बिक्री हुने गरेको उनको भनाइ छ। 

जाडो मौसम सुरुसँगै पृथ्वी राजमार्ग हुँदै जाने यात्रु पनि माछा खान मलेखुमा रोकिने गर्छन्। अफसिजनमा समेत दैनिक पाँच सय किलो माछा खपत हुने मलेखु क्षेत्रमा मात्रै अहिले झन्डै एक हजार किलो माछा खपत हुने गरेको व्यापारी बताउँछन्। तरकारीभन्दा माछाको व्यापारबाट बढी फाइदा हुने भएपछि तरकारीको ठेलामा समेत माछा राखेर बिक्री गर्ने गरिन्छ। व्यापारीले सुकेको एक सिल माछाको तीन सय र नसुकाइएका आलो माछाको ६ सय रुपैयाँसम्म यात्रुबाट लिने गरेका छन्। 

जिल्लाको राजमार्ग क्षेत्रका होटलमा माछा व्यापार राम्रो हुन थालेपछि किसानलाई माछापालनतर्फ आकर्षित गर्न स्थानीय तहले पनि तालिम तथा अनुदान सहयोग गर्दै आएको छ। तर त्यस्ता कार्यक्रमले माछा उत्पादनमा कुनै प्रभाव नपारेको किसानको बुझाइ छ। स्थानीयस्तरमा माछापालन नहुने भएपछि बाहिरी जिल्लाबाट नै ल्याएर भए पनि माछाको बिक्री गर्नु परेको व्यापारी बताउँछन्।

प्रकाशित: १६ फाल्गुन २०७५ ०३:०६ बिहीबार

मलेखु माछा परनिर्भर