अर्थ

भारतीय लगानीमा अफिम खेती

लामिडाँडामा लगाइएको अफिम नष्ट गर्दै प्रहरी। तस्बिर : नागरिक

सुर्खेत – लेकवेशी नगरपालिका–८ स्थित लामिडाँडा गाउँमा पाँच महिनाअघि दुईजना भारतीय कुम्ले व्यापारी आइपुगे।सदरमुकामदेखि टाढा र यातायातको पहुँच नपुगेको लामिडाँडामा उनीहरु कपडा बेच्ने बहानामा एक सातासम्म बसे। स्थानीयसँग चिनजान भयो। भौगोलिक रुपमा विकट भए पनि यहाँ खेती गर्नका लागि पर्याप्त जमिन थियो। 

सुरक्षा निकायको पहुँचभन्दा टाढाको बस्तीमा उनीहरुले कात्तिकको पहिलो साता स्थानीयलाई भेला गराए। ‘तपाईंहरुसँग खेती गर्नका लागि जमिन छ, हामीसँग राम्रो आम्दानी दिने बिउ छ,’ उनीहरुले स्थानीयसँग प्रस्ताव राखे, ‘तपाईंहरु खेती गर्नुहोस्, उत्पादन हामी खरिद गर्छौं।’

बिउ पनि दिने र उत्पादन पनि खरिद गर्ने भएपछि स्थानीय उत्साहित भए। भारतीय कुम्ले व्यापारीको प्रस्ताव अफिम खेती गर्ने थियो। पैसाको प्रलोभनमा स्थानीयले उनीहरुको प्रस्ताव स्वीकारे। ‘बिउ पनि दिन्छौं र उत्पादन पनि चोप खरिद गरेर लिन्छौं भनेपछि हामीले अफिम खेती गर्‍यौं,’ स्थानीय श्यामबहादुर बाह्रघरेले भने, ‘यो लागूऔषध हो भन्ने जानकारी भएन।’ लामिडाँडा पुग्न सदरमुकाम वीरेन्द्रनगरबाट पाँच घण्टा लाग्छ। तीन घण्टा पैदल हिँड्नुपर्छ।

कुम्ले व्यापारीको आँडमा गाउँमा पुगेका भारतीय व्यापारीले स्थानीयलाई अफिम लगाउन बिउ उपलब्ध गराएका थिए।

कुम्ले व्यापारीको आँडमा गाउँ पसेका उनीहरुले सबै स्थानीयलाई बिउ वितरण गरे। केहीलाई अग्रिम रुपैयाँ पनि दिए। ‘बेलाबेलामा उनीहरु आउँथे, अघिल्लो महिनामात्रै आएर अब चोप निकाल्ने बेला भयो भनेर गएका थिए,’ उनले भने, ‘चोप निकाल्न नपाउँदै प्रहरीले थाहा पायो र फाँडेर गयो।’ उनले दुई कट्ठा जमिनमा अफिम खेती गरेका थिए। लामिडाँडामा ९० घरधूरी छन्। सबैले यहाँ अफिम लगाएका थिए। स्थानीय जनप्रतिनिधि मानबहादुर विर्कटा लागूऔषध हो भन्ने जानकारी नहुँदा स्थानीयले अफिम खेती गरेको बताउँछन्। ‘भारतीय कुम्ले व्यापारीले थोरै जमिनमा धेरै आम्दानी हुने प्रलोभन देखाएछन्,’ उनले भने, ‘औषधि भनेर लगाएको अफिम आगूऔषध हो भन्ने अहिले आएर थाहा भयो।’

दुई दिनअघि सामुदायिक–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत इलाका प्रहरी चौकी लेकबेसीको टोली लामिडाँडा पुगेको थियो। जनचेतनामूलक कार्यक्रमका लागि पुगेको प्रहरी टोलीले गाउँभरी अफिम खेती देख्यो। शनिबार बिहानै जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक निरञ्जन घिमिरेको कमाडमा २४ जनाको टोली खटियो। ‘६ बिघा जमिनमा लगाइएको अफिम खेती नष्ट गर्न ६ घन्टाभन्दा धेरै समय लाग्यो,’ प्रहरी निरीक्षक घिमिरेले भने, ‘स्थानीयले पनि अफिम खेती नष्ट गर्न सहयोग गरे।’
प्रहरीको प्रारम्भिक अनुसन्धानमा धेरै पैसा कमाउने लोभमा भारतीय कुम्ले व्यापारीको प्रलोभनमा परेर स्थानीयले पहिलो पटक अफिम खेती गरेको पाइएको छ। ‘जनप्रतिनिधिको रोहवरमा पहिलो पटक भएकाले अफिम खेती नष्ट गर्‍यौं,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले भने, ‘अफिम खेती गर्न प्रेरित गर्ने भारतीय कुम्ले व्यापारीको खोजी भइरहेको छ।’

प्रकाशित: १६ फाल्गुन २०७५ ०२:४४ बिहीबार

सुर्खेत भारतीय_व्यापारी अफिम लगानी