अर्थ

व्यापारिक कारोबार सुरु

रसुवा – रसुवागढी नाकामा व्यापारिक कारोबार सुरु भएको छ। ल्होसारको कारण २२ दिनदेखि कारोबार रोकिएको थियो। चीनको केरुङमा सामग्री लिन पुगेका ८० वटा कन्टेनरमा सिल लगाइएको छ। स्याउ लिन गएका गाडीमा सिल लगाउन सुरु गरिएको केरुङमा रहेका व्यापारी पुरुषोत्तम पौडेलले बताए। 

‘स्याउका गाडीमा सिल लगाउन सुरु गरिएको छ,’ उनले भने, ‘रेडिमेड सामग्री ल्याउने गाडीमा आगामी सोमबारदेखि सिल लगाउने काम सुरु भयो।’ स्याउको कारोबार गर्ने १५ जना व्यापारी छन्। रेडिमेड सामग्रीको कारोबार गर्ने व्यापारी नपुगेका कारण रेडिमेड तर्फको काम सुरु भएको छैन। बिहिबार सिल लगाइएका कन्टेनर शुक्रबार नेपाल आएका छन्। शुक्रबार ४० वटा गाडीको जाँचपास भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्य बिक्रम खड्काले बताए। 

‘सामग्री आउने क्रम सुरु भएको छ,’ उनले भने, ‘पहिलो चरणमा स्याउ आयात भएको छ।’ चीनसँग सडक मार्गबाट कारोबार हुने एक मात्र नाका भएकाले यहाँ कारोबार बढ्दै गएको छ। सडक सञ्जालसँग जोडिएका अन्य नाका सञ्चालनमा आएका छैनन्। भूकम्प र पहिरोका कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द छ।

 

प्रकाशित: १५ फाल्गुन २०७५ ०१:५७ बुधबार

रसुवागढी नाका व्यापारिक_कारोबार