अर्थ

धमाधम कुखुरा मर्न थालेपछि कृषक चिन्तित, उपभोक्तामा त्रास

हेटौंडा उपमहानगरपालिका ७ मा अचानक मरेको सयौ कुखुरा । तस्बिरः अशोकसुजन श्रेष्ठ

हेटौंडा– उपमहानगरपालिकामा हजारौं कुखुरा धमाधम मर्न थालेपछि कृषकहरू चिन्तित भएका छन्। हेटौंडा ७, ८ र ११ नम्बर वडामा रोगका कारण एक सातामै किसानका करिब १५ हजार कुखुरा मरेका छन्। 

मरेका कुखुरामा एच ९ भेटिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाले जनाएको छ। दिनहुँ कुखुरा मर्न थालेपछि किसानको खोर रित्तिएको छ। 

मरेका कुखुराको नमुना चितवन हुँदै काठमाडौं पठाइएको र प्राप्त रिपोर्टमा एच ९ भाइरस देखिएकोले सतर्कता अपनाउन भनिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख डा. चेतनारायण खरेलले बताए।

‘रोग नियन्त्रणका लागि तत्काल खोरको कुखुरा बिक्री वितरणमा रोक लगाएका छौं,’ उनले भने, ‘रोग सर्भिलेन्स गर्ने र रिपोर्ट सम्बन्धित निकायमा पठाउने र निर्देशनअनुसार नियन्त्रणका लागि सूचना सम्प्रेषण र सहयोग गर्ने कार्यलाई तीव्रता दिएका छौं,’ हेटौंडाका अन्य वडामा पनि धेरै मात्रामा कुखुरा मरेको सुने पनि वडा नम्बर ७ बाट मात्र जानकारी आएको उनले बताए।

ठूलो संख्यामा एकै गाउँका कुखुरा मरेपछि नमुना संकलन गरिएको उनले जानकारी दिए। हेटौंडा ७ मा कुखुरा बिक्रीमा मंगलबारबाट रोक लगाइएको मकवानपुरका सीडीओ असमान तामाङले बताए। 

यसैबीच मकवानपुर कुखुरा व्यवसायी संघले मंगलबार पत्रकार सम्मेलन गर्दै अचानक धेरै कुखुरा मर्दा कृषकमा चिन्ता छाएको जनाएको छ। संघका अध्यक्ष राजु अधिकारीले बर्ड फ्लु नभई कुखुरामा सामान्य प्रकृतिको रानीखेत रोगको संक्रमण भएको हुन सक्ने बताए। 

उपभोक्तावादीहरूले भने एक साताअघि नै रिपोर्ट सस्पेक्टेड आए पनि कुखुराजन्य पदार्थ बिक्री वितरणमा रोक नलगाई गम्भीर त्रुटि गरेको आरोप लगाएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले नतिजा गुपचुप राखी कुखुरा व्यवसायीसँग मिलेमतो गरी स्थानीय प्रशासनलाई समेत जानकारी नदिएको उपभोक्ताहीत संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बासु खतिवडाले आरोप लगाए। जसका कारण मानव स्वास्थ्यलाई असर गरेको प्रमाणित भए गल्ती गर्ने कानुनी उपचार खोज्ने बताए। 

उपभोक्ताहित संरक्षण मञ्चले चासो व्यक्त गरेपछि सोमबार प्रशासन, उपभोक्ता मञ्च, पशुसेवा विज्ञ केन्द्र, प्रहरी, कुखुरा व्यवसायी, सञ्चारकर्मीको टोलीले कुखुराको खोर संयुक्त रुपमा निरीक्षण गरेको थियो। टोलीले उच्च संक्रमण रहेको आशंका गरिएका ५ वटा खोरबाट कुखुराको ¥यालको नमुना संकलन गरेको थियो।

टोलीले दीपेन्द्र गौतमको डीएस पोल्ट्री फर्म, नवराज सिलवाल र कुवेरप्रसाद चौलागाईंको कुखुरा फर्म, अनिष पोल्ट्री फर्म र दुर्गा महतको खोरबाट कुखुराको ¥याल संकलन गरेको हो।

प्रकाशित: १४ फाल्गुन २०७५ १४:४२ मंगलबार

कुखुरा हेटौंडा उपभोक्तावादी पशुसेवा_विज्ञ