अर्थ

पशुपालक कृषकलाई ३६ लाख अनुदान दिँदै खैरहनी नगरपालिका

चितवन – पशुपालनमा लागेका कृषकलाई प्रोत्साहन गर्न खैरहनी नगरपालिकाले अनुदान वितरण गर्ने तयारी थालेको छ। आर्थिक वर्ष ०७५/७६ मा नगरपालिकाले पशुपालन गर्ने कृषकलाई ३६ लाख रुपैयाँ बराबरको अनुदान दिन लागेको हो। 

नगरपालिकाले गाई, भैंसी र बाख्रापालन गर्ने किसानलाई अनुदान दिन लागेको खैरहनी नगरपालिकाको पशु सेवा शाखा प्रमुख रुद्र श्रेष्ठले जानकारी दिए । शाखाका लागि नगरपालिकाले दिएको ५० लाख बजेट मध्येबाट ७० प्रतिशतभन्दा बढी रकम अनुदानमार्फत वितरण गर्न लागिएको उनले बताए। 

गोठ सुधार, दुग्ध प्रवद्र्धन र बजारीकरणलगायत विभिन्न शीर्षकमा बजेट व्यवस्थापन गरेर अनुदान रकम वितरण गर्ने तयारी गरिएको उनले जानकारी दिए । पशुपालनका लागि आवश्यक पर्ने औजारसँगै दूध उत्पादन गरेवापत नगरपालिकाले अनुदान दिनेछ । नगरपालिकाले गोठ सुधार शीर्षकमा अनुदान दिन १३ लाख रुपैयाँ छुट्याएको छ । 

१० वटा भन्दा बढीको संख्यामा गाईवस्तु राखेर व्यावसायिक पशुपालन गरिरहेका आठ कृषकलाई ५० हजार रुपैयाँका दरले अनुदान दिइने श्रेष्ठले बताए । गोठ सुधार शीर्षकमा छुट्याइएको बाँकी रकम भने १० वटा भन्दा कम संख्यामा पशुपालन गर्दै आएका साना किसानलाई २० हजार रुपैयाँका दरले अनुदान दिइनेछ । दूध उत्पादन गरेवापत एक लिटरमा २५ पैसाका दरले ३६ लाख लिटर दूधमा अनुदान दिन नौ लाख रुपैयाँ छुट्याइएको छ । घाँस काट्ने मेसिन च्यापकटर किन्न २० हजारका दरले ६ कृषकलाई अनुदान दिँदैछ । 

दुग्ध प्रवद्र्धन र बजारीकरणमा सहयोग गर्न एक दुग्ध उत्पादन सहकारी संस्थालाई मिल्क एनालाइजर किन्न एक लाख रुपैयाँ अनुदान दिइने पशु सेवा शाखा प्रमुख श्रेष्ठले बताए । यस्तै, एउटा दुग्ध सहकारीलाई चिलिङ भ्याटका लागि दुई लाख रुपैयाँ अनुदान दिइनेछ । नगरपालिकाको कार्यालयमा व्यवसाय दर्ता गराएका किसानबाट निवेदन माग गरिसकिएको उनले बताए । नगरपालिकामा व्यवसाय दर्ता गर्ने प्रावधानलाई यस वर्षबाट थप गरिएको उनले बताए । 

प्रतिलिटर दूध उत्पादन अनुदानका लागि १९ वटा सहकारी संस्था, गोठ सुधार कार्यक्रमअन्तर्गत ठूला किसानमा २१ र साना किसानअन्तर्गत अनुदान लिन ५२ किसानको निवेदन परेको उनले जानकारी दिए । यस्तै, मिल्क एनालाइजरका लागि पाँच र चिलिङ भ्याटका लागि ६ वटा दुग्ध उत्पादन सहकारीले निवेदन दिएका छन् । दूध उत्पादन गरेवापत प्रतिलिटर उत्पादनमा दिइने अनुदान बाहेकका शीर्षकमा नगरपालिकाले दिने अनुदान बराबरकै रकम किसान र सहकारीले लगानी गर्नुपर्नेछ । बाख्राको पकेट प्याकेज कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैयाँ बजेट छुट्याइएको छ । 

बाख्रापालन समूह गठन गरेर किसानलाई बीउ बाख्रा, बोका वितरण, खोर बनाउन अनुदान दिन र तालिम सञ्चालनको कार्यक्रम प्याकेजबाट गरिने छ । गत आवमा पनि १० लाख बराबरकै बाख्राको पकेट प्याकेज कार्यक्रम सञ्चालन गरिएको थियो । नगरपालिकाको वडा नम्बर ५ को दुर्गा मन्दिर, वडा २ को सिंगापुर डाँडा र १२ नम्बरको सिसानीका समूहलाई अनुदान दिइएको थियो । अघिल्लो वर्ष गरिएको ठाउँभन्दा फरक ठाउँमा प्याकेज कार्यक्रम सञ्चालन गर्न नगरपालिकाको बैठकबाट निर्णय गर्ने तयारी भएको पशु सेवा शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । 

गत वर्ष पनि पशुपालनअन्तर्गत करिब ३० लाखबराबरको अनुदान वितरण गरिएको उनी बताउँछन् । मिल्क एनालाइजर, गोठ सुधार, च्यापकटर लगायत शीर्षकमा अनुदान दिइएको थियो । कोही पनि नछुटुन र कोही पनि नदोहोरिउन् भन्ने सिद्धान्तका आधारमा नगरपालिकाले अनुदान वितरण गर्ने उनले बताए । ‘किसानलाई नगद नै वितरण गर्छौं,’ उनले भने, ‘अनुदानका कार्यक्रमले किसानले प्रत्यक्ष लाभ लिन पाउँछन् ।’ अनुदान वितरणको निर्णय गर्न अनुदान समिति बनाइएको छ । समितिले किसानले दिएका निवेदनको अध्ययन, स्थलगत अवलोकन र अनुगमन गरेर अनुदान लिनेहरुको नाम छनोट गर्नेछ । 

खैरहनी नगरपालिकामा २४ वटा दुग्ध उत्पादक सहकारी छन् । ५० भन्दा माथि संख्यामा पशुपालन गर्ने व्यावसायिक किसान र फार्मसमेत नगरपालिकामा रहेका छन् । नरपालिकामा रहेका आठ हजारभन्दा बढी घरधुरी पशुपालनमा सहभागी छन् । खैरहनीमा दैनिक ३० हजार लिटर दूध उत्पादन हुने गरेको छ । नगरबासीको प्रमुख आयस्रोत पशुपालन रहेको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरी बताउँछन्। 
अघिल्लो वर्ष दिइएको अनुदानले किसानलाई प्रोत्साहन भएको पाएकाले यस वर्ष पनि अनुदान रकम वितरणलाई प्राथमिकता दिइएको उनको भनाइ छ । नगरको विकासका लागि पशुपालन, कृषि, पर्यटनलाई नगरपालिकाले प्राथमिकतामा राखेको उनले बताए । पछिल्लो वर्षमा पशुपालन र कृषिलाई प्रमुख प्राथमिकता दिइएको उनले बताए । दूध उत्पादनको बजारलाई विविधीकरण गर्न दूधबाट विभिन्न परिकार बनाउने कार्यक्रम सञ्चालन गर्ने योजना पनि नगरपालिकाले अघि सारेको छ।

प्रकाशित: १४ फाल्गुन २०७५ ०१:०७ मंगलबार

चितवन खैरहनी_नगरपालिका पशुपालक अनुदान