अर्थ

तीन महिनामा दुई करोड खर्च

काठमाडौं - सरकारले सार्वजनिक खर्चमा कटौती गरेको दाबी गरिरहेका बेला पछिल्ला तीन महिनामा मन्त्रीहरूको विदेश भ्रमणमा मात्र झन्डै दुई करोड रुपैयाँ खर्च भएको पाइएको छ। मन्त्रीहरूबाट प्रतिनिधिमण्डलसहित गरिएका विभिन्न विदेश भ्रमणका लागि मंसिरदेखि माघसम्म दुई करोड रुपैयाँ निकासा दिएको अर्थ मन्त्रालयद्वारा सार्वजनिक सूचीमा उल्लेख छ।

मन्त्रिपरिषद् बैठकले मंसिर २४ गते गरेको निर्णयअनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमण तथा परामर्श बैठकमा सहभागी प्रतिनिधिमण्डलको खर्चबापत २६ लाख ४१ हजार आठ सय २८ रुपैयाँ निकासा गरिएको अर्थले जनाएको छ। माघमा अर्थमन्त्री तथा सोही मन्त्रालयका पदाधिकारीहरूको विदेश भ्रमणमा ३७ लाख ५९ हजार ३१ रुपैयाँ खर्च भएको जनाइएको छ। युएईको दुबईमा आयोजित वल्र्ड गभर्नमेन्ट समिटमा उपस्थिति जनाउने क्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसहित तीन सदस्यीय प्रतिनिधिमण्डलको भ्रमण खर्च पाँच लाख ५६ हजार दुई सय ८० रुपैयाँ रहेको अर्थ मन्त्रालयको भनाइ छ।

यसैगरी मंसिर ८ देखि २५ गतेसम्म अन्तर्राष्ट्रिय अवार्ड ग्रहणका लागि युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा नेतृत्वको प्रतिनिधिमण्डलको भारत भ्रमण खर्च माघमा निकासा गरिएको जनाइएको छ। जसमा एक लाख ८९ हजार ६ सय ८० रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ। यसैगरी भारतको मुम्बईमा आयोजित २५औं एडिसन तथा पार्टनरसिप समिटमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको नेतृत्वमा गएको प्रतिनिधिमण्डलको भ्रमण खर्चमा दुई लाख ४२ हजार तीन सय ६१ रुपैयाँ निकासा गरिएकोे अर्थले जनाएको छ।

जल तथा ऊर्जा आयोगका सचिवालयका सात कर्मचारीहरूले जल यातायातसम्बन्धी अध्ययन गर्न भारत भ्रमणमा जाँदा आठ लाख २३ हजार आठ सय ४७ रुपैयाँ खर्च गरेको अर्थले जनाएको छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव राजेन्द्र पौडेलले गत भदौ १८ देखि २३ सम्म चाइल्ड प्रोटेक्सन केयरसम्बन्धी सेमिनारमा जान आवश्यक खर्च गर्न भनी १४ हजार दुई सय ५० रुपैयाँ निकासा गरेको अर्थ मन्त्रालयले बताएको छ। यसैगरी श्रीलंकामा हुने दोस्रो दक्षिण युथ समिट–१०१८ मा सहभागी हुन जाने क्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई भ्रमण खर्चका नाममा एक लाख १५ हजार निकासा गरिएको मन्त्रालयको भनाइ छ।

अर्थ मन्त्रालयका अनुसार सरकारले आर्थिक सहायताका नाममा माघ ३ गते धनकुटाका जनार्दन आचार्य, नेपालगन्जका मोहनकुमार श्रेष्ठ, दु्धकोसी गाउँपालिकाका अनुप्रशान्त राई, पाल्पका केशरी न्यौपानेलाई पाँच–पाँच लाख रुपैयाँ प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ। यसैगरी माघ ३ गते नै गुल्मीका थानेश्वर ज्ञवालीलाई पाँच लाख, काठमाडांैका मदनमणि दीक्षितलाई सात लाख, काठमााडौकै वसन्तकुरमार शर्मालाई पाँच लाख र सिरहाका सत्यम शर्मालाई पाँच लाख रुपैयाँ आर्थिक सहयाता दिएको जनाइएको छ। यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत बिना जोशीको उपचारका लागि पनि सरकारले १० लाख रुपैयाँ सहायता दिएको देखिएको छ।

अर्थ मन्त्रालयका अनुसार भरतपुर महानगरपालिकालाई बखान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको भवन निर्माणका लागि स्वीकृत मापदण्ड र प्रचलित कानुनबमोजिम खर्च गनेगरी भन्दै तीन करोड ९० लाख रुपैयाँ अन्तरसरकारी वित्तीय सहयोग हस्तान्तरण गरिएको बताइएको छ। अर्थ मन्त्रालयले गत पुसमा लन्डनमा भएको अवैध वन्यजन्तु व्यापारसम्बन्धी कार्यक्रममा सहभागी वन तथा वातावरणमन्त्री शक्ति बस्नेत नेतृत्वको टोलीको भ्रमणमा तीन लाख १६ हजार आठ रुपैयाँ खर्च भएको जनाएको छ। परराष्ट्रमन्त्री ज्ञवाली भियानामा सम्पन्न अन्तर्राष्ट्रिय आणविक ऊर्जा संगठनको ६२औं महासम्मेलन सहभागी हुन जाँदा ४१ लाख २९ हजार पाँच सय २४ रुपैयाँ खर्च भएको जनाइएको छ। यसमा जापानको औपचारिक भ्रमण र थाइल्यान्ड भ्रमणमा सहभागी प्रतिनिधिमण्डलको खर्चसमेत जोडिएको अर्थको भनाइ छ। यो खर्च अर्थले गत पुसमा निकासा गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भारतका नयाँ दिल्ली, युएईको दुबई, जर्मन र स्विट्जरल्यान्ड जाँदाको भ्रमण खर्च १९लाख २७ हजार ६ सय ६३ रुपैयाँ निकासा गरिएको अर्थले जनाएको छ। मन्त्री बाँस्कोटा जर्मन र स्विट्जरल्यान्ड भ्रमणमा जाँदा ट्याक्सी भाडाबापत १९ हजार सात सय २० रुपैयाँ खर्च भएको अर्थले जनाएको छ। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको काजकस्तान तथा स्विट्जरल्यान्ड भ्रमणको खर्च ११ लाख २१ हजार पाँच सय ३९ रुपैयाँ खर्च भएको अर्थले जनाएको छ। यसैगरी उपप्रधानमन्त्री यादव लन्डनमा भएको मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रममा सहभागी हुँदा पनि अर्थले पाँच लाख चार हजार तीन सय ११ रुपैयाँ निकासा गरेको जनाइएको छ। यी दुवै खर्च गत मंसिरमा निकासा गरिएको अर्थ मन्त्रालयको भनाइ छ।

यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको थममाया थापाको स्विट्जरल्यान्ड भ्रमणबापत मंसिरमा ११ लाख ९९ हजार एक सय २६ रुपैयाँ खर्च भएको जनाइएको छ। यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको वासिंगटन डिसीमा भएको भ्रमणमा भएको खर्च गत मंसिरमा अर्थले निकासा गरेको मन्त्रालयले जनाएको छ। त्यसमा १४ लाख ७० हजार आठ सय २३ रुपैयाँ खर्च देखिएको छ। यसैगरी मंसिरमा उपप्रधानमन्त्री यादवकै भारतको राजधानी नयाँ दिल्लीमा भएको ७१औं डब्लुएचओसम्बन्धी कार्यक्रममा सहभागी हँुदा चार लाख २० हजार पाँच सय ३० रुपैयाँ खर्च भएको अर्थले जनाएको छ। गत कात्तिक ५ देखि ९ गतेसम्म युएनसिटिएड विश्व लगानी मञ्चको कार्यक्रममा सहभागी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवको विदेश भ्रमणमा पाँच लाख ७३ हजार आठ सय ८५ रुपैयाँ खर्च भएको अर्थले जनाएको छ।

यसैगरी जल तथा ऊर्जा आयोगका सचिवालयका सात कर्मचारीहरू जल यातायातको नाममा विदेश भ्रमण गरेका छन्। त्यस्तो भ्रमणका नाममा उनीहरूले आठ लाख रुपैयाँभन्दा बढी खर्च गरेको अर्थले जनाएको छ। मन्त्रालयका अनुसार जल यातायातसम्बन्धी अध्ययन गर्न भारत भ्रमणमा जाँदा आठ लाख २३ हजार आठ सय ४७ रुपैयाँ खर्च गरेको अर्थले जनाएको छ।

राष्ट्रपतिको भ्रमणमा मात्र तीन करोड
राष्ट्रपति विद्या भण्डारीको गत मंसिरमा भएको पोल्यान्ड भ्रमणको खर्च दुई करोड नाघेको छ। अर्थ मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीको गत मंसिर १७ र १८ मा भएको पोल्यान्ड भ्रमणमा सहभागी हुँदाको प्रतिनिधि मण्डलको भ्रमण खर्च दुई करोड १४ लाख दुई हजार ६ सय ६५ रुपैयाँ देखिएको छ। राष्ट्रपतिको पोल्याण्ड खर्चको निकास अर्थले गत पुसमा गरेको हो। यसैगरी राष्ट्रपति भण्डारीले गत कात्तिक १२ देखि १५ गतेसम्म कतारमा गरेको भ्रमणमा अर्थले एक करोड २० लाख २४ हजार सात सय ७५ रुपैयाँ निकासा गरेको जनाइएको छ।

प्रकाशित: १३ फाल्गुन २०७५ ०३:०५ सोमबार

सरकार सार्वजनिक_खर्च मन्त्री अर्थ_मन्त्रालय