अर्थ

चीन जोड्ने  सडक स्तरोन्नतिमा ढिलाइ

रसुवा –  चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको सडकको स्तरोन्नतिमा ढिलाइ भएको छ। मैलुङ–स्याफ्रुबेंसी सडकमा झरेको ढुंगा ब्लास्टिङका लागि समयमै अनुमति नपाउँदा ढिलाइ हुन पुगेको हो। 
१७ किलोमिटर सडकमध्ये दुई सय मिटर सडकको काम मात्रै बाँकी छ। त्यो भागमा ब्लास्ङि गर्नुपर्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। 
प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल शनिबार बेत्रावती मैलुङ हुँदै स्याफ्रु जाने कार्यक्रम निर्धारण गरिएको थियो। ‘हामीले शनिबारसम्ममा बाटो सुचारु गर्ने योजना बनाएका थियौं,’ योजना प्रमुख सुवोध कुमार देवकोटाले भने, ‘तर ब्लास्टिङको काम सुरु हुन नसक्दा योजना सफल हुन सकेन।’
ब्लास्टिङ सकिएपछि चार दिन जतिमा बाटो खुल्ने उनले थपे। सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन गर्नुपरेकाले स्तरोन्नतिमा ढिलाइ भएको थियो। गत पुस अन्तिम साताबाट स्तरोन्नतिको काम सुरु भएको थियो। 
२०७२ वैसाख १ गतेदेखि निर्माण कार्य सुरु भएको सडकको गत जेठ ६ गते ट्र्याक खोल्ने कार्य सम्पन्न भएको थियो। ट्र्याक खोलेपछि केही दिन सवारी सञ्चालनका लागि अनुमति दिइएको थियो। यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो। 
राष्ट्रिय योजना आयोगको मध्यकालिन खर्च संरचना (०७५/७६–०७७/७८) मा उल्लेख भएअनुसार आव ०६१/६२ देखि निर्माण सुरु भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजना ०७५/७६ भित्र निर्माण तथा स्तरोन्नति हुने उल्लेख छ। 
यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किमि छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किमि रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किमि मात्रै छ। 
पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन। काठमाडौंदेखि गल्छी ४४ किमि, गल्छीदेखि बट्टार २२ किमि, बट्टारदेखि बेत्रावती ११ किमि, बेत्रावतीदेखि मैलुङ १२ किमि र मैलुङदेखि स्याफ्रु १६ किमि दूरी रहेको छ। 
बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट जान कुनै पनि घुम्ती पार गर्नु पर्दैन। 
मैलुङ¬–स्याफ्रुबेंसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिने बताइएको छ। २०४२ देखि पासाङल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ।

प्रकाशित: १३ फाल्गुन २०७५ ०२:०२ सोमबार

रसुवा चीन सडक_स्तरोन्नति ढिलाइ