अर्थ

माघमा मात्रै साढे आठ अर्ब गैर बजेट निकासा

काठमाडौं- वित्तीय सुशासन कायम गर्न लागि परेको सरकारले माघ महिनामामात्र आठ अर्ब ४१ करोड गैर बजेट निकासा गरेको छ। अर्थ मन्त्रालयले माघ महिनामा विभिन्न मन्त्रालयका लागि आर्थिक सहायता, प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागत र एउटा शीर्षकमा छुट्टिएको रकम अन्यत्र रकमान्तर गरेको छ। माघ महिनामा सरकारले प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागत र आर्थिक सहायतामा एक करोड ६१ लाख सकेको छ।

त्यस्तै दक्षिण एशिया पर्यटन पूर्वाधार तथा विकास आयोजना मुआब्जा वितरणका लागि सेयरमा लगानी गर्न दुई पटक गरी चार अर्ब रुपैयाँ रकमान्तर भएको छ। पुष्पलाल राजमार्ग तथा मध्यपहाडी राजमार्ग निर्माणको लागि दुई अर्ब रकम रकमान्तर गरिएको छ।

स्थानीय सडक पुल निर्माणका लागि भैपरी आउने विकास कार्यक्रमका लागि खर्च शीर्षक ६०२१०६४ बाट हुलाकी राजमार्गको पुलहरू समेत निर्माण गर्नको लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ। त्यस्तै हुलाकी राजमार्गमा पुल निर्माणका लागि पुनः छुट्टै ५० करोड रुपैयाँ निकासा गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। गोरखकाली रबर उद्योगमा ऋण लगानी लागि ३० करोड आन्तरिक रकमान्तर गरिएको छ।

गल्छी–त्रिशुली–मैलुङ स्याफ्रुवेशी–रसुवागढी सडकको मुआब्जा वितरणको लागि ५० करोड रुयैयाँ दिइएको छ। युवा तथा खेलकुद मन्त्रालयको पानी तथा विजुलीको महसुल तिर्नका लागि तीन लाख रुपैयाँ दिइएको छ।

प्रकाशित: १० फाल्गुन २०७५ ०८:५५ शुक्रबार

वित्तिय_सुशासन गैर_बजेट अर्थमन्त्रालय निकासा