अर्थ

रसुवामा ७ सय ४५ मेगावाट विद्युत् उत्पादन हुने

रसुवा – रसुवामा जलविद्युत् आयोजना निर्माण हुने क्रम बढेको छ। जलविद्युत्का लागि प्रचूर सम्भावना रहेको जिल्लामा पछिल्लो समय आयोजना निर्माण गर्ने क्रम बढेको हो। २०७० सम्ममा २७ मेगावाट विद्युत् उत्पादन भएको थियो।
दुईवटा आयोजना सञ्चालनमा आएपछि अहिले १३ वटा आयोजना निर्माण भइरहेका छन्। यी आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। १३ वटै आयोजना निर्माण सम्पन्न भएमा सात सय ४५ मेगावाट विद्युत् उत्पादन हुने छ।
नेपाल विद्युत् प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ए र ३७ मेगावाटको माथिल्लो त्रिशुली थ्री बी आयोजना निर्माण गर्दै छ। बाँकी ११ वटा आयोजना निजी क्षेत्रबाट निर्माण हुँदै छन्।
जिल्लामा निर्माण सुरु भएका आयोजना निर्धारित समयमा निर्माण सम्पन्न भएमा सात सय ४५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ। यी आयोजना २०८० चैतअघि नै सञ्चालनमा आउने छन्। ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ए को ८५ प्रतिशत काम सकिएको छ। यो आयोजनाले २०७६ असारभित्रै उत्पादन सुरु गर्ने छ भने २०८० चैतसम्ममा माथिल्लो त्रिशुली एकले उत्पादन गर्ने छ।
६.५ मेगावाटको माथिल्लो मैलुङ ‘ए’ को ८५ प्रतिशत, १४.८ मेगावाटको माथिल्लो सान्जेनको ८० प्रतिशत, एक सय ११ मेगावाटको रसुवागढीको ६८ प्रतिशत, ४२.५ मेगावाटको सान्जेनको ६६ प्रतिशत काम सकिएको छ।  
१४.७ मेगावाटको फलाखु खोला (पहिलो)को ३० प्रतिशत, ३७ मेगावाटको त्रिशुली थ्री बीको २८, १४.३ मेगावाटको माथिल्लो मैलुङको १५, ७८ मेगावाटको सुपर सान्जेनको १०, २० मेगावाटको लाङटाङ खोलाको १०, एक सय २० मेगावाटको लाङटाङ भोटेकोसीको पाँच र दुई सय १६ मेगावाटको माथिल्लो त्रिशुली १ को पाँच प्रतिशत काम सकिएको आयोजनाले जनाएका छन्।
जिल्लामा दुईवटा जलविद्युत् आयोजना यसअघि नै सञ्चालनमा आइसकेका छन् भने आठवटा आयोजना निर्माणका लागि सर्भे भइरहेको छ।

प्रकाशित: १० फाल्गुन २०७५ ०१:२१ शुक्रबार

रसुवा विद्युत् उत्पादन