अर्थ

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई अर्थमन्त्रीकाे आग्रह

काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

मन्त्री खतिवडाले गैरआवासीय नेपाली संघ युकेले आयोजना गरेको कार्यक्रममा गैरआवासीय नेपालीलाई नेपालमा लगानीको उपयुक्त अवसर भएको भन्दै सामूहिक लगानी कोष मार्फत लगानी गर्न आग्रह गरेका हुन्। 'तपाईका समस्या र सम्भावना छलफल गरौं भनेर म यहाँ आएको हुँ' उनले भने।

नेपालीले उपयोग गर्न सक्ने र सुविधाका सामान मात्र अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट लैजान सबैलाई आग्रह गर्दै उनले विमानस्थलमा भन्सार जाँचपास सहजीकरण भएको बताए। ठुलो मुलुकमा चेकजाँच हुँदा सामान्य मानिने भएपनि आफुहरुकहाँ त्यही चेकजाँचको विषयलाई ठुलो बनाइएको उनले बताए।

करका दरहरु बढेका नभई सुधार गरिएको मन्त्री खतिवडाले बताए। इतिहासमै पहिलो पटक धेरै आर्थिकबृद्धि हुने भन्दै उनले वर्तमान सरकारले ७ प्रतिशतभन्दा बढि आर्थिकबृद्धि हासिल गर्ने दाबी गरे। मुल्यबृद्धि चार प्रतिशतको वरिपरि मात्र रहेको भन्दै मन्त्री खतिवडाले आर्थिकबृद्धि समग्रमा वैदेशिक व्यापार बाहेक सरकारको वित्त स्थिति राम्रो भएको स्पष्ट पारे।

वैदेशिक व्यापार समस्या अहिले सृजना नभएको नभई विगतको संरचनागत समस्या समेत भएको उनकाे भनाइ छ। विकासका पूर्वाधार निर्माण, कृषि तथा औद्योगिक क्षेत्रको विकासको प्रभावले वैदेशिक व्यापारको समस्या र उत्पादनको संरचना परिवर्तन गर्दा व्यापार घाटा देखा परेको मन्त्री खतिवडाले बताए।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरुले नेपालमा लगानीका बारेमा चासो राखेका थिए। २९ र ३० मार्च २०१९ मा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीका लागि लन्डनमा आयोजित नेपाल विकास सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा मंगलबार लन्डन पुगेका हुन्।

प्रकाशित: ९ फाल्गुन २०७५ १३:११ बिहीबार

डा._युवराज_खतिवडा गैरआवासीय_नेपाली लगानी