अर्थ

बैंकको ब्याजदर एकल अंकमा झार्न सुझाव

काठमाडौं – नेपाल इन्भेस्टर्स फोरमले बैंकको ब्याजदर एकल अंकमा झार्न सरकारलाई सुझाव दिएको छ।

मंगलबार अर्थ समितिले बोलाएको बैठकमा फोरमका अध्यक्ष छोटेलाल रौनियारले अहिलेको पुँजी बजारको समस्या चर्को ब्याजदर भएको बताउँदै त्यस्तो ब्याजदर एकल अंकमा झार्नुपर्ने बताए। ‘बैंकको अनियन्त्रित ब्याजदरले पुँजी बजारमा समस्या ल्याएको छ,’ उनले भने, यसलाई व्यवस्थित गरी एकल अंकमा झार्नुपर्छ।’

फोरमले बजार सुधारका लागि ६ बुँदे सुझाव समेत दिएको छ।  सुझावपत्रमा जलविद्युत् कम्पनीको नियामक निकाय तत्काल गठन गर्नुपर्ने, बैंकलाई ब्रोकर लाइसेन्स दिन र अनलाइन कारोबार प्रणालीको त्रुटि तथा कमी–कमजोरी हटाएर लगानीमैत्री बनाउन माग गरेको छ । फोरमले प्यानको बारेमा सरकारको स्पष्ट धारण समेत माग गरेको छ। साथै फोरमले व्यक्तिगत कर्जाको सीमा बढाउन र नयाँ ब्रोकर लाइसेन्स खुलाउन माग गरेको छ। 

अध्यक्ष रौनियारले २३ खर्बको पुँजी बजार १३ खर्बमा झरेकोतर्फ सरकारलाई सचेत गराएका छन्। ‘लगानीकर्ताले १० खर्ब नोक्सानी बेहोर्नुपरेको छ,’ उनले भने, ‘यसबारे सरकारले सोच्नु आवश्यक छ।’ पुँजी बजारलाई राहत दिन सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने उनको भनाइ छ। 

सेयर बजारमा २२ बिन्दुको सुधार
काठमाडौं, फागुन ७ (नागरिक)– निरन्तर ओरालो लागेको पुँजी बजार मापक नेप्सेमा मंगलबार २२.४४ बिन्दुले सुधार भएको छ। यो सुधारसँगै नेप्से सूचक ११२४.९६ बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लगानीयोग्य पुँजी (तरलता) सहज हुने र कर्जाको ब्याजदर घट्ने संकेत देखिएपछि बजार उकालो लाग्न पुगेको हो। 

प्रकाशित: ८ फाल्गुन २०७५ ०१:३५ बुधबार

नेपाल_इन्भेस्टर्स_फोरम बैंक ब्याजदर एकल_अंक