अर्थ

असारभित्र विद्युत् उत्पादन

रसुवा – माथिल्लो त्रिशुली थ्री ‘ए’ ले आगामी असारभित्र विद्युत् उत्पादन सुरु गर्ने भएको छ। रसुवामा बाँध र नुवाकोेटमा विद्युत्गृह रहेको आयोजनाको ८५ प्रतिशत काम सकिएको छ। 

६० मेगावट क्षमताको आयोजनाले चालु आर्थिक वर्षभित्र दुईवटै युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए। ‘चालु आर्थिक वर्षभित्र उत्पादन सुरु गर्ने गरी निर्माण कार्य भइरहेको छ,’ उनले भने, ‘यसका लागि ठेकेदारले समूह निर्माण गरेर काम गर्ने छन्।’ 

अहिले दुईवटा समूहले काम गरिरहेका छन्। ‘पाँचवटा समूह बनाएर काम गर्न सकिएमा तोकिएको समय सीमाभित्रै निर्माण गर्न सकिन्छ,’ उनले भने, ‘यसका लागि निर्माण पक्षसँग छलफल गरिरहेका छौं।’ आयोजनाका अनुसार सिभिलतर्फ ९८ प्रतिशत, हाइड्रो मेकानिकलतर्फ ६५ प्रतिशत र इलेक्ट्रो मेकानिकलतर्फ ३५ प्रतिशत काम सकिएको छ।
इलेक्ट्रो मेकानिकलतर्फको काम सुरु भएको आयोजनाले जनाएको छ। आयोजनामा ड्याम साइडको फिनिसिङ र गेट निर्माण लगायत काम भइरहेको छ। वर्षा र चिनियाँ नयाँ वर्षका कारण निर्माण कार्य केही दिन प्रभावित बनेको थियो। अहिले कामदार काममा फर्किसकेका छन्। 

आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु २०७४ भदौमा भएको थियो। आयोजना निर्माण ठेकेदार चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) ले गरिरहेको छ। परामर्शदाताको रूपमा नर्थ वेस्ट हाइड्रो इन्जिनियरिङ कर्पोरेसन (एनडब्ल्युएच) रहेको छ। 

पछिल्लो तालिकाअनुसार २०७६ वैशाख १७ गते आयोजनाको दुवै युनिटबाट ३०–३० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ। आयोजना २०६८ वैशाखबाट निर्माण सुरु भएको थियो।

भूकम्पका कारण करिब २२ महिना निर्माण कार्य प्रभावित बनेको थियो। भूकम्प र नाकाबन्दीका कारण आयोजनाको संरचनामा क्षति भए पनि आयोजनाको लागत भने बढ्ने छैन। आयोजना निर्माण सम्पन्न गर्न १३ अर्ब ९९ करोड १२ लाख ५० हजार रुपैयाँ खर्च हुने छ। 

आयोजनाबाट उत्पादन भएको विद्युत् थ्रिबी हबदेखि मातातीर्थ सबस्टेसनसम्म ४५ किलोमिटर दूरी रहेको प्रशारण लाइनमार्फत लगिने छ। जसमा पावर हाउस (सिम्ले)देखि थ्रिबी हबसम्म १३२ केभी, थ्रिबी हबदेखि बाँडभञ्ज्याङसम्म २२० केभी डबल सर्किट र बाँडभञ्ज्याङदेखि मातातीर्थसम्म २२० केभी फोर सर्किट प्रसारण लाइन हुने छ। 

मातातीर्थदेखि मातातीर्थ सबस्टेसनसम्म १.४१ किलोमिटर भूमिगत लाइन हुने आयोजनाले जानकारी दिएको छ। हालसम्म २२ किलोमिटर दूरीमा तार तानिसकिएको छ। ७ किलोमिटर दूरीमा तार तान्ने काम एक साताभित्र सम्पन्न हुने छ। डेड महिनाभित्र प्रसारण लाइनको तार तानिसकिने उनले बताए। 

थ्रिबी हब सबस्टेसन निर्माण भइनसकेका कारण अहिले विद्युत् सिधै लगिने छ। सबस्टेसन निर्माण भएपछि त्यहाँ विद्युत् जोडिने छ। सबस्टेसन निर्माणमा ढिलाइ हुँदा तीनवटा टावर थप गर्नुपरेको आयोजनाले जनाएको छ। प्रसारण लाइनका लागि एक सय ४३ टावर निर्माण गर्नुपर्छ। जसमा एक सय ३९ वटा टावर निर्माण भइसकेको छ।

प्रकाशित: ६ फाल्गुन २०७५ ०१:३० सोमबार

माथिल्लो_त्रिशुली_थ्री_ए जलविद्युत् आयोजना असार विद्युत्_उत्पादन