अर्थ

नक्कली ब्राण्डको डम्पिङ हुनबाट बचाउनु पर्छ

रुपेश पाण्डे, प्रबन्ध निर्देशक, आरपी ग्रुप

वीरगञ्जबाट लत्ताकपडा र खाद्यान्नको व्यापार सुरु गरेका रुपेश पाण्डेले अहिले उपत्यकामा ब्राण्डेड कपडाका ‘आउटलेट’ तिब्रतासाथ विस्तार गरिरहेका छन्। पाण्डेले नेतृत्व गरेको आरपी ग्रुपले भारत, इटली, भारत, फ्रान्स, अमेरिका, जर्मन लगायत मुुलुकका चर्चित ब्राण्ड नेपाल भित्राएको छ। राजधानीको दरबारमार्ग, न्यूरोड, लबी मल, मैतीदेवी, चाबहिल, ललितपुरको जाउलाखेल, कुमारीपाटीलगायतका स्थानमा २३ अन्तर्राष्ट्रिय ब्राण्डेड कपडाका आउटलेट सञ्चालन गरेका छन्। उदाउँदो व्यावसायिक घराना आरपी ग्रुपका प्रबन्ध निर्देशक पाण्डेसँग ब्राण्डेड कपडाको बजार, मुलुकमा व्यावसायिक वातावरणलगायतको विषयमा नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानीकाे सम्पादित अंश:

नेपालमा ब्राण्डेड सामानको बजार कस्तो छ ?
विगत पाँच/सात वर्षदेखि नेपाली वैदेशिक रोजगार, अध्ययनका लागि विदेश आउने जाने क्रम चलिरहेको छ। यसले गर्दा अहिले नेपालीलाई ब्राण्डेड सामग्री प्रयोग गर्नुपर्छ भन्ने धारणाको विकास भएको छ। अहिले उपभोक्ताले टिकाउ हुने चिज किन्न चाहान्छ। तुरुन्त डिस्कलर नहोस्। फिटिङ राम्रो होस्। आफ्नो व्यक्तित्व झल्काउनका लागि पनि ब्राण्डेड सामान रोजाईमा परेको छ। नेपालीहरुमा ब्राण्डेड सामान लगाउने लहर नै चलेकाले बजार पनि दिनानुदिन बढिरहेको छ। लेडिज आइटममा जुत्ता, चप्पल, व्याग, साडी, कुर्ता, लेहङ्गा, जेन्सको जुत्ता, चप्पल, सर्ट, पाइन्टलगायत महिला र पुरुषका लागि सबै ब्राण्डेड आइटम बिक्री गरिरहेका छौं।

कति ब्राण्ड ल्याएर यहाँ बिक्री गर्दैै आउनु भएको छ। नयाँ ब्राण्ड ल्याउने योजना छ की ?
भारत, इटली, भारत, फ्रान्स, अमेरिका, जर्मनलगायत मुलुकका २३ वटा अन्तर्राष्ट्रिय ब्राण्डहरु ल्याएर विभिन्न आउटलेटबाट बिक्री गर्दै आएका छौं। नेपालमा अन्तर्राष्ट्रिय ब्राण्डका एकै ठाउँमा उपभोक्ताले खरिद गर्न सकुन भनेर दरबारमार्गमा मल्टी आउटलेट ब्राण्ड (एओबी) सञ्चालनमा ल्याउने तयारी गरेको छु। त्यसका लागि दरबारमार्गमा चार हजार स्क्वायर फिट स्पेस लिइसकेको छु। विश्वका उत्कृष्ट ब्राण्डको सो रुम आगामि बैशाख १ गतेदेखि सञ्चालन ल्याउने तयारी गरेको छु। नेपालमा नभएका ब्राण्ड उपभोक्ताले एउटै आउटलेटबाट खरिद गर्न सकुन भन्ने उद्देस्य हो। लेडिज र जेन्सका लागि विदेशमा पाइने मूल्यमा त्यही सामान यहीँ खरिद गर्न सकुन भनेर एबिओ खोल्न लागेको हो।

कसरी अन्तर्राष्ट्रिय ब्राण्डका आउटलेट सञ्चालन गर्ने अवधारण आयो ? 
विगतमा डिष्ट्रिव्युटरको काम गर्थें। सुरुमा लेडिजको साडी, कुर्ता, सरवालको जय अम्बे सो रुम सञ्चालन गरेको थिएँ। बैंक, सरकारी, गैर सरकारी, कर्पोरेट अफिसमा काम गर्ने कर्मचारी, व्यापारी नेपाली विदेश घुम्ने र विदेशमै सपिङ गर्ने ट्रेन्ड बढ्यो। विदेश गएर सपिङ गर्नेले त्यही लुगा र त्यही मूल्यमा पाएपछि नेपालमा पायो भने यहीँ किन्छन् भन्ने निष्कर्षसहित यो व्यवसायमा आएको हुँ। 

स्वदेशी उत्पादनले उपभोक्ताको चाहाना पूरा गर्न नसकेर विदेशी ब्राण्ड ल्याउनु परेको हो ?
पहिलो कुरा नेपालमा पस्मिनालगायत सामान्य कपडाको मात्र उत्पादन हुन्छ।  लेडिज, जेन्सले स्टाइलिस कपडाहरु प्रयोग गर्न चाहान्छ। नेपाली कपडा म्यानुफ्याक्चरिङ उद्योगले विदेशीमा पाइने जस्तो आइटम उत्पादन गर्न सकेको छैन। उपभोक्ताले जरा, लुइस, एचएनएम, नाइक, एडिडासलगायतका ब्राण्ड खोजिरहेका छन्। यहाँका परम्परागत उद्योगले बजारको माग अनुसार उत्पादन गर्न सकेको छैन। ब्राण्डेड सामानमा उपभोक्ताको आकर्षण बढेको छ।

उपभोक्ताको रोजाई अनुसारका ब्राण्डेड सामान यहाँ उत्पादन गर्ने सम्भावना के छ ?
अन्तर्राष्ट्रिय स्तरका ब्राण्डेड सामान उत्पादनका लागि धेरै पुँजी चाहिन्छ। नेपालमा उपभोक्ता कम छन्। बजार सानो छ। खपत गर्न नसकिने भएकाले लगानीकर्ता लगानी गर्न हिच्किचाउँछन्। उपभोक्ता कम भएकाले स्थापित ब्राण्डले नेपालमा ल्याएर उत्पादन गर्ने सम्भावना कम छ।

ब्राण्डेड सामानको गुणस्तरमा पनि प्रश्न उठ्ने गरेको छ नी ?
ब्राण्डेड सामान उत्पादन गर्ने कम्पनीले सबैभन्दा ध्यान दिने भनेको गुणस्तर हो। कसैले कपी गरेर ब्राण्डेड सामानको नाममा डुब्लिकेट सामान बिक्री गरेको हुनसक्छ। त्यसमा सचेत हुनुपर्छ। विगतमा भन्सारबाट डुब्लिकेट सामान ल्याउने गर्थे। पछिल्लो एक वर्षदेखि कडाई भएको छ। नेपाललाई नक्कसी ब्राण्डको डम्पिङ हुनबाट बचाउनु पर्छ। विगतमा कहीं बिक्री भएको डुव्लिकेट सामान बेच्ने गरेका थिए। अहिले भन्सारको कडाईले गर्दा ५० प्रतिशत घटेको छ। कस्टमले ओर्जिन सर्टिफिकेट, प्याकिङ लिष्ट, सामान खरिद गर्न एलसी खोलेको प्रमाण खोज्न थालेको छ। सस्तोमा डुव्लिकेट सामान ल्याएर बिक्री गर्न अब कठिन छ। अन्टर्राष्ट्रिय ब्राण्डको लोगो राखेर समान आएको छ भने त्यसको ओर्जिन सर्टिफिकेट मागेको छ। सम्बन्धित कम्पनीले बनाएको होकी होइन भनेर हेर्छ। यसले सरकारलाई राजस्व आउन्छ उपभोक्ताले गुणस्तरीय सामान पाउँछ।

नेपाली उपभोक्ताको खर्च गर्ने क्षमता (क्रय शक्ति) बढेर ब्राण्डेड सामान रोजेका हुन् ?
खर्च गर्ने क्षमता भन्दा पनि उपभोक्ताले गुणस्तरीय र टिकाउ सामान खोजिरहेको छ। मानौं पाँच÷छ हजारमा डुब्लिकेट जुत्ता किनिरहेको छ भने दुई हजार थपेर ओर्जिनल जुत्ता पाउँछ भने किन डुब्लिकेट किन्छ ? स्वभाविक रुपमा ब्राण्डेड सामान प्रयोग गर्छ। ओर्जिनल किन्यो भने वारेन्टी हुन्छ। यस्तो सबै सामानमा लागु हुन्छ। ब्राण्डेड सामानको फिटिङ, क्वालिटी राम्रो हुन्छ। अब उपभोक्ताले कम किन्ने बरु ब्राण्डेड किन्न थालेको छन्। गुगज सर्च गरेर ब्राण्डेड सामानको नामसहित खरिद गर्न आउँछन्।  नेपालको बजारमा उपभोक्ताले लोगो, ब्राण्ड र क्वालिटी खोजेका छन्।

मुुलुकको व्यापार घाटा बढिरहेको छ। विदेशी सामान ल्याएर बिक्री गर्दा नेपालको अर्थतन्त्रमा असर पुग्दैन ?
त्यस्तो होइन। यहाँ ब्राण्डेड सामान बिक्री नहुँदा नेपाली घुमकाम, काम विशेषले विदेश जाँदा उतै किनेर ल्याउँथे। यसले डलरमा भुक्तानी हुँदा मुलुकलाई फाइदा भन्दा घाटा थियो। हरेक व्यवसायी वर्षमा दुई÷चार पटक विदेश जान्छ। विगतमा विदेशमा किन्न समान अहिले यहीँ किन्न पाएका छन्। पुँजी यहीँ रोकिएकोछ। सपिङका लागि विदेश जानुपर्ने अवस्था छैन। अर्को कुरा नेपालमा आउने विदेशी पर्यटकले ब्राण्डेड सामान किनिरहेका छन्। दरबारमार्गको आउटलेटमा गएर सर्भे गरेर हेर्नुहोस्। ब्राण्डेड सामानका ४० देखि ६० प्रतिशत उपभोक्ता विदेशी पर्यटक छन्। चिनिया र कोरियन धेरै छन्।

मुलुकको व्यावसायिक वातावरण कस्तो छ ?
व्यवसाय सञ्चालन गर्न हाम्रो मुलुक अहिले उत्तम छ। स्थिर सरकार आएपछि सबै क्षेत्रमा सकरात्मक देखिएको छ। अहिले बन्द हडताल छैन। विगतमा सामान भन्सार क्लियर गर्न दुई दिन लाग्थ्यो भने अहिले एक÷दुई घण्टामै हुन्छ। विजुली बत्ती सहज भएको छ। कुनै सरकारसँग पनि जादुको छडी हुँदैन। अन्तर्राष्ट्रिय समुदायले पनि नेपाललाई पत्याउन थालेको छ। अब नेपालमा व्यावसायिक वातावरण बनेको छ। हाइड्रो पावर, ट्रेडिङ क्षेत्र, पर्यटनलगायत विभिन्न क्षेत्रमा लागनी बढेको छ। दुई तिहाईको स्थीर सरकार छ।

उद्यमशीलता विकास गर्नका लागि के गर्नुपर्छ ?
उद्योग खोल्नका लागि औद्योगिक वातावरण बनाउनु पर्छ। कानुनी रुपमा सहज बनाउनु पर्छ। पछिल्लो समय ठूला उद्योग पनि सञ्चालनको तयारीमा छन्। सडक, विजुली बत्ती, कामदारको सहजता, सस्तोमा बैंकको ऋण हुनुपर्छ। दक्ष कामदार, तरलताको अभाब, सामान ढुवानीमा समस्या सुल्झाउनु पर्‍यो। सरकारले औद्योगिक क्षेत्र खोलेको छ। त्यसको भाडालगायत अन्य सुविधा दिनुपर्छ। व्यवसाय सञ्चालन गर्दा मार्केट रिसर्च गरेर गर्नुपर्छ। 

निजी क्षेत्रले राज्यको तर्फबाट कस्तो अपेक्षा गरेको छ ?
सरकारले सिस्टम बसाल्नु पर्छ। लगानीकर्तालाई आकर्षित गर्नका लागि क्लियर वे बनाउनु पर्‍यो। कसैले उद्योग खोल्न चाह्यो भने लगानीका आधारमा यति प्रतिशतमा ऋण पाउँछ भन्ने क्लियर हुनुपर्‍यो। सरकारले लोनका लागि सहजीकरण गर्नुपर्छ। विदेशमा उद्योगीलाई निश्चित समय जग्गा फ्रीमा दिएको छ। अहिले मानौं कसैले फाइभ स्टार खोल्न खोज्यो भने जग्गा खरिद गर्ने पैसाले विदेशमा दुईटा फाइभ स्टार होटल सञ्चालन हुन्छ। यस्तो समस्याहरु सरकारले सहयोग गर्नुपर्छ। नेपालमा जग्गाको कारण उद्योग सञ्चालनमा निकै कठिनाई छ।  विदेशी लगानी आकर्षित गर्नुपर्छ।

प्रकाशित: ६ फाल्गुन २०७५ ०१:१३ सोमबार

रुपेश_पाण्डे आरपी_ग्रुप ब्राण्डेड_कपडा