अर्थ

थामखर्क विमानस्थल उद्घाटन

थामखर्क – खोटाङ जिल्लाको थामखर्क विमानस्थलको स्तरोन्नतिको काम सम्पन्न भई सञ्चालनमा आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले सोमबार विमानस्थलको उद्घाटन गरेका हुन्। 
खोटेहाङ गाउँपालिका–४ मा रहेको विमानस्थलको धावनमार्ग कालोपत्रे लगायत स्तरोन्नतिको कामका लागि २०७३ चैत्र १३ गतेदेखि स्थगित भएको उडान विमानस्थल उद्घाटन भएसँग अब सुचारु हुने भएको छ। मन्त्री अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुचारु भएको थामखर्क ३२ औं विमानस्थल हो। 

थामखर्क विमानस्थल कालोपत्रेको काम रौटा कन्स्ट्रक्सनले करिब १० करोड ६० लाख ७१ हजार रुपैयाँको लागतमा २७ महिनामा सम्पन्न गरेको हो। २०७३ कार्तिकबाट विमानस्थल कालोपत्रे लगायत निर्माणको काम सुरु गरिएको थियो। यो विमानस्थलको क्षेत्रफल २० रोपनी ६ आना छ। यो विमानस्थलको काठमाडौं र विराटनगर विमानस्थलसँग हवाइ सम्पर्क छ। 

विमानस्थल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले थामखर्क विमानस्थलमा साताको दुईवटा उडान हुने व्यवस्था  मिलाउने बताए। ‘खोटाङ जिल्ला पर्यटनको दृष्टिकोणले पनि महत्वपूर्ण गन्तव्यस्थल भएको र खोटाङबासीको सुविधाको लागि पनि नियमित उडान आवश्यक भएकाले सातामा दुईवटा उडानको व्यवस्था मिलाउँछौं’, मन्त्री अधिकारीले भने। 

त्यसबाहेक, खोटाङ जिल्लामै रहेको लामिडाँडा विमानस्थल आगामी दुई महिनाभित्रमा सञ्चालनमा ल्याइसक्ने र खानीडाँडा विमानस्थल स्तरोन्नतीको काम पनि चाडैं सुरु गर्ने मन्त्री अधिकारीले बताएका छन्।
मन्त्री अधिकारीले भने, ‘अहिल नेपाल वायुसेवा निगम सबैभन्दा धेरै यात्रु बोक्ने एयरलाइन्सको रुपमा स्थापित भएको छ। यसलाई लाई अझ सशक्त बनाएर राष्ट्रिय र अन्तर्राष्ट्रिय विमानस्थलमा उडान संख्या बढाउँछौं।’   
त्यस्तै, खोटाङबाट संघीय प्रतिनिधिसभामा निर्वाचित सांसद विशाल भट्टराईले थामखर्क विमानस्थल स्तरोन्नतिभई सुचारु भएपछि खोटाङको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।  विमानस्थल सुरुचारु भएपछि खोटाङ जिल्लाको दक्षिणी क्षेत्रका खोटेहाङ, बराहपोखरी, जन्तेढुङ्गा लगायतका गाउँपालिकाको स्थानीयका लागि सुविधा भएको भट्टराईले बताए।

विमानस्थल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दौ नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देश सञ्जीव गौतमले थामखर्कमा नियमित उडानको लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाउने बताए। 
त्यसैगरी, नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले थामखर्कमा सातामा कम्तिमा दुईवटा फ्लाइटको व्यवस्था नेपाल वायुसेवा निगमले गर्ने प्रतिवद्धता व्यक्त गरे। 

विमानस्थल उद्घाटन कार्यक्रममा प्रतिनिधि सभासदस्य हिरा गुरुङ, प्रदेशसभा सदस्य रामकुमार राई लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २९ माघ २०७५ ०१:०३ मंगलबार

खोटाङ थामखर्क विमानस्थल स्तरोन्नति