अर्थ

बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा ३० हजार दर्शक

काठमाडौं –  नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी ३० हजारले अवलोकन गरेका छन्। शुक्रबार सुरु भएको प्रदर्शनी आइतबार सकिएको छ।

मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टले काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना गरेको थियो। मेलामा तीन सयभन्दा बढी ख्यातिप्राप्त ब्रान्डका स्टल थिए।मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सिर्जल भट्टराईका अनुसार यस वर्षको मेला भव्य रुपमा सकिएको छ। प्रदर्शनी गत वर्षको भन्दा फरक ढंगले सकिएको उनको दाबी छ। 

‘एउटै छानामुनि घर तथा भवन बनाउन आवश्यक सामग्री छानीछानी लिन पाउने भएका कारण अवलोकनकर्ताले रुचाए,’ उनले भने, ‘अवलोकनकर्ताले काठमाडौंमा मात्रै नभएर उपत्यकाबाहिर समेत मेला आयोजना गर्न सुझाव दिएका छन्। यस विषयमा हामीले सोचेका छौं।’

मेलामा निर्माण कम्पनी, डिलर, सबडिलर, बिक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराएका थिए। मेलामा निर्माण सामग्री, निर्माण उपकरण, ठूला निर्माणका उपकरण (मेसिन), युपिभिसी प्रोफाइल, युपिभिसी विन्डो मेसिनरी, झ्याल र ढोका, बाथरुम फिटिङ, पाइप, टायल र खानेपानी सामग्री, पावर टुल्स, कंक्रिट ब्लक मेसिनरी, प्री–इन्जिनियरिङ बिल्डिङ आदि राखेको भट्टराईको भनाइ छ।

प्रदर्शनीमा घर बनाउने व्यक्ति, निर्माण क्षेत्रमा काम गरिरहेका आर्किटेक्ट, इन्जिनियर, कन्ट्र्याक्टर, बिल्डर तथा इन्टेरियर डिजाइनरको सहभागिता थियो।प्रदर्शनीको मुख्य उद्देश्य नेपालको निर्माण क्षेत्रमा नयाँ निर्माण सामान भिœयाउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिलाई सहजै उपलब्ध गराउनु हो। प्रदर्शनीले नेपालमा भइरहेका निर्माणसम्बन्धी कार्यमा सकारात्मक भूमिका खेलेको थियो।

प्रकाशित: २८ माघ २०७५ ०२:०७ सोमबार

नेपाल_बिल्डकन अन्तर्राष्ट्रिय_प्रदर्शनी भृकुटीमण्डप