अर्थ

नवलपरासीमा उधारोमा उखु क्रसिङ सुरु

बुटवल – नवलपरासीका चिनी मिलले उखु क्रसिङ सुरु गरेका छन्। मिलहरु सञ्चालनमा आए पनि किसानले उखु उधारोमै बेच्नुपर्ने भएको छ। गत वर्षकै भुक्तानी नपाएका प्रतापपुरका किसान सुधामा कोइरीले यसपालि पनि उधारोमा उखु बेच्न बाध्य भएको बताए। ‘पोहोरकै उखुको पैसा अहिले पनि पाएका छैनौं। अहिलेको त कहिले हो कहिले,’ कोइरीले भने। पोहोरकै पैसा नपाएपछि किसानले उखु काट्ने खेताला र मिलसम्म लैजाने ढुवानी भाडाका लागि ऋण खोजेर काम चलाएका छन्।

नवलपरासीमा सुनवल, इन्दिरा र बाग्मती गरी तीनवटा चिनी मिल छन्। ती मध्ये बाग्मती चिनी मिलमा मर्मतसम्भारको काम चलिरहेकाले उखु क्रसिङ सुरु हुन अझै केही दिन लाग्ने बताइएको छ। सुनवल चिनी उद्योगले शनिबारदेखि उखु लिन सुरु गरेको छ। इन्दिरा सुगर मिलमा आइतबारदेखि क्रसिङ सुरु भइसकेको छ। 

यहाँका किसानका लागि उधारोमा उखु बेच्नुपर्ने नियती पुरानै हो। उखु उत्पादक संघका अनुसार जिल्लामा किसानले गत वर्षको ६ करोडभन्दा बढी भुक्तानी लिन बाँकी छ। इन्दिरा सुगर मिलले मात्रै किसानलाई पाँच करोडभन्दा बढी पोहोरकै भुक्तानी दिन बाँकी थियो। उद्योगका महाप्रबन्धक एसपी शुक्लाले गत वर्षको भुक्तानी दिन सुरु गरिएको बताए। पछिल्लो एक सातामा करिब डेढ करोड भुक्तानी दिइसकेको र बाँकी करिब चार करोड पनि छिट्टै भुक्तानी दिइने शुक्लाले बताए। बाग्मती चिनी मिलको करिब आधा करोड र सुनवल चिनी मिलको पनि त्यत्तिकै हाराहारीमा भुक्तानी बाँकी रहेको उखु उत्पादक कृषक तदर्थ समितिले जनाएको छ।

उधारोमै उखु बेच्न बाध्य किसानले उखुको मूल्य सरकारले तोके बमोजिम पाउने हुन वा होइनन् भन्ने पनि अन्योल छ। चिनी उद्योगहरुले सरकारले तोकेको मूल्य दिन आनाकानी गरिरहेका छन्। इन्दिरा सुगर मिलका महाप्रबन्धक शुक्लाले अहिलेकै अवस्थामा सरकारले तोकेको मूल्यमा उखु खरिद गर्न नसकिने बताए। ‘चिनीको मूल्य सस्तो छ। सरकारले चिनीको मूल्य बढाइदियो भने किसानले पनि सरकारी रेट पाउने छन्,’ शुक्लाले भने।

किसानले कात्तिकदेखि नै समयमै उखुको मूल्य निर्धारण गरीदिन सरकारलाई पटक पटक आग्रह गर्दै आएका थिए। तर माघ लागेपछि बल्ल समर्थन मूल्य तोकिदियो। यसपटक प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ मूल्य तोकिएको छ। जसमध्ये ६५ रुपैयाँ ५० पैसा सरकारी अनुदान र चार सय ७१ रुपैयाँ चिनी मिलले भुक्तानी गर्नुपर्ने मूल्य हो। उद्योगीसँगको छलफलपछि मूल्य तोकिएको हो। तर तीनै उद्योगीले अहिले सरकारले तोकेको मूल्य दिन अनाकानी गर्दै उधारोमा उखु खरिद गरिरहेका छन्। 

इन्दिरा सुगर मिलले चिनीको मूल्य नबढे सरकारी अनुदानसहित चार सय ७१ रुपैयाँ प्रतिक्विन्टलमा उखु किन्ने प्रस्ताव किसानसमक्ष राखेको बताएको छ। जुन मूल्य सरकारले तोकेभन्दा प्रतिक्विन्टल ६५ रुपैयाँ कम हो। सुनवल चिनी मिलले पनि चिनीको मूल्य बढे सरकारले तोकेकै मूल्य किसानलाई दिने बताएको छ। ‘सरकारले तोकेकै मूल्यमा उखु किन्न तयार छौं। तर उद्योगीको पिर मर्का पनि बुझिदिनु पर्छ। चिनीको मूल्य बढाउनु पर्छ,’ सुनवल चिनी उद्योगका उखु प्रबन्धक छविलाल प्रसाद हरीजनले भने। उखु क्रसिङ गर्ने सिजन सकिन लागेको र खेतमै उखु सुक्न थालेकाले किसानकै राहतका लागि अप्ठ्यारो परिस्थितिमा पनि मिल सञ्चालन गरिएको उनको भनाइ थियो। नवलपरासीमा करिब साढे सात हजार हेक्टर क्षेत्रफलमा उखु लगाइएको उखु उत्पादक कृषक समितिले जनाएको छ। उखु उत्पादक कृषक तदर्थ समितिका अध्यक्ष दूधनाथ गुप्ताका अनुसार जिल्लामा करिब २० लाख क्विन्टल उखु उत्पादन हुन्छ। जिल्लाका १० हजार किसान परिवार उखुमा आश्रित छन्। तीनवटा ठूला चिनी मिल र करिब एक सय भेली उद्योग छन्।

प्रकाशित: २८ माघ २०७५ ०१:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App