अर्थ

कावेली ‘ए’ को काम रोकियो

पाँचथर – विश्व बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय निगम (आइएफसी)को ऋण लगानी भएको कावेली ‘ए’ जलविद्युत् आयोजनाको काम रोकिएको छ। २२ महिना अगाडि शिलान्यास भए पनि द्रुत गतिमा काम अघि बढ्न नसकेको उक्त आयोजना क्षेत्रमा ठेकेदार कम्पनीका कामदारले समेत छाडेर गएका छन्।

ऋण लगानीकर्ता, प्रवद्र्धक कम्पनी र ठेकेदार कम्पनीबीच तालमेल नमिल्दा कामले गति लिन सकेको थिएन। अहिले काम रोकिएको प्रवद्र्धक कावेली इनर्जी कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेरसिंह भाटले जानकारी दिए। ‘डिसेम्बर–११ देखि ठेकेदार कम्पनी साइडमा छैन। आन्तरिक छलफल भइरहेको छ। के गर्ने भन्ने टुंगिएको छैन,’ उनले भने। शिलान्यास भएको दुई वर्ष पुग्न लाग्दा एक हजार एक सय मिटर टनेल बनाउने काम भएको उनले बताए। 

ठेकेदार चिनियाँ कम्पनीलाई गुणस्तरीय काम नभएको भन्दै पत्र लेखेपछि काम रोकिएको आयोजना स्रोतको भनाइ छ। लामो अलमलपछि शिलान्यास भएको आयोजनाको कामले गति नपाएको हो। लगानीकर्ता कम्पनी तथा ठेकेदार कम्पनीबीचको असमझदारीका कारण काम रोकिएको बताइएको छ। आयोजना स्थलमा ठेकेदार कम्पनी हटेपछि चहलपहल सून्यप्रायः बनेको छ। सरकारको सुपर–६ आयोजनाभित्र पर्ने कावेलीको लामो चर्चा चलेपछि काम हुन्छ कि भन्ने आशा स्थानीय स्तरमा भए पनि पुनः काममा गतिरोध उत्पन्न भएको छ। ठेक्का सम्झौताअनुसार काम नगरेको आरोप ठेकेदार कम्पनीलाई लागेको छ। ठेक्का रद्द गरेर अर्को कम्पनीलाई दिने वा यसैलाई काममा लगाउने भन्ने विषयमा भाटले केहि खुलाउन चाहेनन्।

‘कावेलीका मान्छेहरु केहि भन्दैनन्। चिनियाँ कम्पनीसँग यिनीहरु मिलेन भन्ने बुझिएको छ। ठेकेदार कम्पनीले सबै छाडेर गएका छन्। काम बन्द गर भनेर पत्र दियो भन्ने हल्ला सुनिन्छ,’ स्थानीय सरोकार समितिका अध्यक्ष भवानी लिङ्देनले भने, ‘अब के हुन्छ भन्ने केहि थाहा छैन।’

३७.६ मेघावाट क्षमताको आयोजनाको काम विभिन्न बहानामा लामो समयदेखि अलमलिँदै छ। सिंगापुरको इन्फ्राको एसिया, बुटवल पावर कम्पनी (बिपिसी)जस्ता चर्चित संस्थाको सहभागितामा निर्माण कार्य अघि बढाइएको आयोजनाको काम अघि नबढ्दा स्थानीयले असन्तुष्टि जनाएका छन्। राम्रो आयोजना भए पनि काम अघि नबढ्नु दुखद भएको जलस्रोत क्षेत्रका विज्ञहरुको भनाइ रहेको छ। आयोजनाको काम अघि बढाउन चिनियाँ झिझिहाङ कम्पनीलाई सिभिल ठेकेदार र सिडब्लुटिडब्लु इलेक्ट्रो मेकानिकल ठेकेदारको रुपमा कामको जिम्मा दिइएको थियो।  

नेपालमा विश्व बैंकको ऋण लगानी भएको एकमात्र आयोजना भएकाले यसलाई महŒवका साथ लिइन्छ। हिउँद र बर्खामा पनि ३७.६ मेघावाट विद्युत् उत्पादन गर्नसक्ने बताइएको छ। विद्युत् विकास  विभागले  कावेलीबाट विद्युत् उत्पादनका लागि २०५५ मा प्रारम्भिक सर्भेक्षण र पूर्वसम्भाव्यता अध्ययन गरेको थियो। लामो समयको अन्योलतापछि आयोजनाको काम अघि बढे पनि गति पाउन नसकेको हो । बिपिसीले सन् २००९ मा निजी क्षेत्रको सहभागितामा जलविद्युत् विकास गर्ने रणनीतिअनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा विद्युत् प्राधिकरणसँग उक्त आयोजना खरिद गरिएको थियो। 

कावेली इनर्जी प्रालिले प्रवद्र्धन गर्ने आयोजनामा स्वपुँजीका लागि बिपिसी र सिंगापुरको इन्फ्राकोले साझेदारी गरेका छन्। आयोजना निर्माण गर्न १० करोड २० लाख ८० हजार डलर लागत अनुमान गरिएको छ। यसमध्ये विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास निकायले चार करोड, आइएफसीले तीन करोड ८१ लाख १२ हजार अमेरीकी डलर ऋण लगानी गर्ने बताइएको थियो। विश्व बैंक र आइएफसीको ८० प्रतिशत ऋण लगानी र प्रवद्र्धक कम्पनीको बाँकी लगानी रहने बताइएको थियो। पाँचथरको हिलिहाङ गाउँपालिकामा निर्माणस्थल रहेको आयोजनाको काम  सन् २०२० भित्र सक्नेगरी विद्युत् खरिद सम्झौता भएको थियो। तर, विविध कारणले निर्धारित समयमा आयोजना निर्माण नहुने देखिएको छ ।

यो र त्यो बाहानामा आयोजनाको काम अघि नबढाइएको स्थानीय मणि लिङ्देन बताउँछन्। स्थानीयसँग भएका सहमति पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ। शिलान्यस भएपछि कामले तीव्रता पाउने आशा गरे पनि त्यस्तो हुन नसकेको उनको भनाइ छ। हिलिहाङ गाउँपालिकामा पर्ने अमरपुरको ठूलो धुसेनीमा बा“ध बा“धेर कावेलीको पानी ४.३२ किलोमिटर लामो सुरुङमार्गबाट पिनासीघाटमा खसाउने लक्ष्य थियो।

प्रकाशित: २५ माघ २०७५ ०२:२५ शुक्रबार

विश्व_बैंक आइएफसी कावेली_‘ए’ जलविद्युत्_आयोजना