अर्थ

एनसेलको कर ७३ अर्ब पुग्ने

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि एनसेलको कर विवाद सल्टिएपनि एनसेलले कति कर तिर्ने भन्ने विषय भने अझै टुंगाे लागेको छैन। कर तिर्ने दिनसम्म लाग्ने जरिवानाका कारण एनसेलले अहिले कति कर तिर्छ भन्ने विषय अन्याैलमा रहेको छ।

महालेखा परीक्षकको कार्यालयले ३० चैत २०७३ मा एनसेलवाट सरकारले ३५ अर्ब पुँजीगत लाभ कर असुल्नुपर्ने हिसाब निकालेको थियो। त्यसको तीन महिनापछि १३ असार २०७४ मा ठुला कर दाता कार्यालयले एनसेलले ६० अर्ब ७० करोड रुपैयाँ पुँजीगत लाभकर तिर्नु पर्ने गरी कर निर्धारण गरेको थियो।

ठुला करदाता कार्यालयका प्रमुख धनिराम शर्माले एनसेलले तिर्नु पर्ने पुँजीगत लाभकर ७० अर्ब भन्दा माथि हुने वताए। उनले भने, ‘हाम्रो सिस्टमले दैनिकी कर काउन्ट गर्छ। त्यसकाे आधारमा उसले कर तिर्नुपर्छ।’ १३ असार २०७४ पछि डेढ वर्षको एनसेलले निर्धारण भएको करको व्याज र हर्जाना समेत तिर्नुपर्ने देखिएकाे छ

पूर्व कार्यवाहक महालेखा परीक्षक सुकदेव खत्रीले सवै ब्याज र हर्जाना जोड्दा एनसेलले ७३ अर्ब भन्दा माथि कर तिर्नु पर्ने देखिएकाे वताए। उनले भने, ‘ हाम्राे कार्यालयले भने भन्दा कर कार्यालयले बढि रकम तिर्नु पर्ने हिसाव निकालेको छ, एन सेलले तिर्ने दिनसम्म यो रकम हामीले सोचेभन्दा वढि हुन्छ, फैसलाको पुर्ण पाठ आएपछि यो विषय अझै प्रष्ट होला।’

एनसेलले अहिलेसम्म दुई पटक गरेर २३ अर्ब ५६ करोड रुपैयाँ तिरेको छ। पहिलो पटक २६ बैशाख २०७३ मा टेलियासोनेराका तर्फवाट नौ अर्ब ९६ करोड रुपैया लाभकर तिरिएको छ।  त्यस्तै २१ जेठ २०७४ मा कर नपुगेको भन्दै एन सेलले १३ अर्ब ६० करोड तिरेको थियो।     

प्रकाशित: २४ माघ २०७५ ०८:५३ बिहीबार

सर्वोच्च_अदालत परमादेश एनसेल कर