अर्थ

पुरानो पिच नयाँ ग्राभेलमा प्रयोग

वीरगन्ज–कलैया–बरियारपुर हुलाकी राजमार्ग निर्माणको क्रममा कलैया र सिसहनियाबीचको सडकमा नयाँ ग्राभेलको साटो हालिएको कालोपत्रेसहितको पुरानो ग्राभेल। तस्बिर : नागरिक

बारा – हुलाकी राजमार्ग अन्तर्गतको वीरगन्ज–कलैया–बरियारपुर खण्डको निर्माणमा ठेकेदार कम्पनीले पुरानै ग्राभेल र गिटी प्रयोग गरेको फेला परेको छ।

एक फिट मोटाइ र १२ मिटर चौडाइको सडकमा नयाँ ग्राभेल राख्नुपर्ने सम्झौता गरे पनि कम्पनीले पहिलाको कालोपत्रे उप्काएको फोहोरसहितको ग्राभेललाई एक ठाउँबाट उठाएर अर्को ठाउँमा प्रयोग गरेको फेला परेको हो।पहिलादेखि लगभग आठ मिटर हाराहारीमा चौडा रहेको बरियारपुर–कलैया–वीरगन्ज सडकलाई अहिले नालाबाहेक १२ मिटर चौडाइमा निर्माण भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जले जनाएको छ।

वीरगन्ज महानगरपालिकाको लक्षुमनवादेखि महागढीमाई नगरपालिकाको बरियारपुरसम्मको लगभग १९ किलोमिटर उक्त हुलाकी राजमार्ग निर्माण गर्न स्वच्छन्द/पप्पु/हिम सगरमाथा जेभीले ८५ करोड ८५ लाखमा ठेक्का लिएको आयोजना कार्यालयले जनाएको छ।

आयोजनासँग ठेक्का सम्झौता भएपछिको काम गुणस्तरहीन निर्माण कार्यमा कुख्याती कमाएको पप्पु कन्सट्रक्सनले गरिरहेको आयोजना कार्यालय वीरगन्जका इन्जिनियर सुनिलकुमार गुप्ताले बताए।
निर्माण कम्पनीले हुलाकी राजमार्गसँग गरेको सम्झौताअनुसार सडक निर्माणको क्रममा एक फिट मोटो नयाँ ग्राभेल गर्नुपर्ने उल्लेख छ। त्यसको लागि सडकको डिपिआर अनुसार १२ करोड रुपैयाँ छुट्ट्याइएको गुप्ताले बताए।हुलाकी राजमार्गका उच्च अधिकारीको मौखिक सल्लाहमा नयाँ ग्राभेलको सट्टा पहिलादेखि बाँकी रहेको ग्राभेल प्रयोगगराइएको इन्जिनियर गुप्ताले बताए। ग्राभेल कम हाल्दा बच्ने रकम कट्टा गरी निर्माण कम्पनीलाई भुक्तानी गर्ने उनको भनाइ छ। 

इन्जिनियर गुप्ताले सडक निर्माणको क्रममा कति पुरानै ग्राभेल प्रयोग गरिएको र कति रकम कट्टा गरिने भन्ने यकिन नगरिएको बताए।निर्माण कम्पनीलाई कालोपत्रे सहितको पुरानै ग्राभेल प्रयोग गर्न दिएबापत हुलाकी राजमार्गका पदाधिकारीले कमिसन बुझ्न थालिसकेको स्रोतले बतायो। सडक निर्माणको क्रममा अनियमिता गरिएको भन्दै एक हप्ता पहिला संघीय संसदको विकास समितिका पदाधिकारी टोलीले अनुगमन गरी आयोजना प्रमुख अनुठालाल पटेललाई पुरानो कालोपत्रे सहितको ग्राभेल र गिटी प्रयोग नगराउन निर्देशन दिएका थिए।

विकास समितिले दिएको निर्देशनलाई समेत अटेर गरी आयोजनाका पदाधिकारीले पुरानै ग्राभेल प्रयोग गराइरहेका छन्। पप्पु कन्सट्रक्सनका प्रतिनिधि जहुर मियाँले हुलाकी राजमार्गका प्राविधिकको सल्लाह अनुसारै पुरानो ग्राभेल प्रयोग गरिएको बताए।‘पहिलादेखि सडकमा रहेको कालोपत्रे सहितको ग्राभेल प्रयोग गर्न आयोजनाका इन्जिनियरहरुले रोकेका छैनन्,’ मियाँले भने ‘सुरुमै रोकेको भए नयाँ ग्राभेल नै ल्याएर हाल्थ्यौं।’ 

निर्माण कम्पनीले सडक निर्माणको क्रममा नयाँ राखेको माटो पनि प्रत्येक तहलाई रोलर नथिची सिधै राखेको छ।
सडक निर्माणको क्रममा सुरुमा अधिकतम २५ सेन्टिमिटरसम्म नयाँ माटो राख्दा उक्त माटोमा रहेको पानीको मात्रा जाँच गर्नुपर्ने, माटोमा पानीको मात्रा कम भेटियो भने त्यसमा पानी हाल्नुपर्ने र त्यसपछि माटोलाई रोलिङ गरी त्यसको कम्पेक्सन जाँच गरी मात्रै त्यसमा अर्को तह माटो राख्नुपर्ने नियम रहे पनि पप्पुले सुरुमा त्यो नियम पूरा नगरेको आयोजनाका अधिकारीले बताएका छन्।

निर्माणाधीन बरियारपुर–कलैया–वीरगन्ज सडकमा अहिले कालोपत्रे रहेको बाहेक दायाँ–बायाँ गरी दुवै छेउमा दुई मिटरसम्म उचाइमा नयाँ माटो राखिए पनि निर्माण कम्पनीले एकपटक पनि रोलिङ नगरेको सिसहनियाका बासुदेव साहले बताए।पहिलादेखि नै ५.५ मिटरमा कालोपत्रे र एक–एक मिटरमा ग्राभेल र माटो रहेको सडकमा अहिले दायाँ–बायाँ दुवैतिर गरी अढाई–अढाई मिटर माटो पुरी सडक चौडा पारिएको छ।

निर्माण कम्पनीले मापडण्ड विपरीत काम गरे पनि आयोजना प्रमुख पटेलले आर्थिक लाभ लिनको लागि भित्रभित्रै सघाइरहेको आरोप आयोजनाकै अधिकारीले लगाएका छन्। औसतमा एक किलोमिटर सडक निर्माण गरेबापत पप्पुले आयोजनासँग चार करोड २० लाखभन्दा बढी रकम लिने सम्झौता गरे पनि सुरुमै बढी नाफाको लागि कमसल सामग्री प्रयोग गरेको देखिएको छ। 

प्रकाशित: २३ माघ २०७५ ००:४१ बुधबार

हुलाकी_राजमार्ग पिच ग्राभेल अनियमितता