अर्थ

डोल्पामा रहेकाे जापानिज चामल मुसाको चारो बन्दै

नेपाल खाद्य संस्थान शाखा कार्यालय दुनैमा बिक्री नभएर थन्किएकोे जापानी र सोना मन्सुली चामल। तस्बिर : बिष्णुप्रसाद/नागरिक

डोल्पा - विगतका वर्षहरुमा चामल लिनको लागि सर्वसाधारणको तँछाड मछाड हुने गरेका डोल्पाका खाद्य डिपोहरुमा आजभोली मानिसहरुको भीडभाड घटेको छ।

नेपाल खाद्य संस्थानले विक्री बितरण गर्दै आएको जापानिज चामल बजार मुल्य भन्दा महंगो भएपछि सर्बसाधारणले लिन छाडेपछि मानिसहरुको भीडभाड घटेको हो। सर्बसाधारणहरुले चामल किन्न छाडेपछि नेपाल खाद्य संस्थानले वितरण गर्दै आएको जापानिज चामल मुसाको चारो बन्न थालेको हो।

विकट हिमाली जिल्ला डोल्पामा खाद्यान्नको लागि एक वर्ष पहिला नेपाल खाद्य संस्थानमा चामल लिनेको भिड लाग्ने गरेकोमा यस वर्ष चामल लिने ग्राहकको पर्खाइमा खाद्य संस्थान बस्नु परेको छ। पहिला त घरको काम छोडेर हप्ता दिनसम्म १० किलो चामलको लागि खाद्य संस्थानमा लाइनमा बसेर चामल लैजाने गरेको ठुलीभेरी २ की आइतुरुपा रोकायले बताइन्। उनले भनीन् 'हामीलाइ दु:ख छैन लाइनमा बस्दैनाैं चाहिएको बेला बजार गएर खाद्य संस्थान भन्दा सस्तोमा चामल ल्याएर खाने गरेका छौ।'

नेपाल सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको ८ जातका चामल डोल्पाका शाखाबाट बिक्रि हुने गर्दछ। जापानी चामल बजारको जिरा मसिनो र सोना मन्सुली भन्दा महंगो भएको भन्दै जनताले किन्न मानेका छैनन्। विभिन्न क्षेत्रको दवाब परिरहेको बताउँदैे केन्द्रले जापानी चामलको मुल्यमा हेरफेर गरेपछि मात्रै जनता चामल लिन खाद्यमा आउने भएकाले मुल्य घटाउनुको विकल्प केन्द्रमा नरहेको जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताए।

पछिल्लो समयमा नेपाल खाद्य संस्थानले जापानिज चामलको मुल्य प्रतिकेजी ४८ रुपैयाँ तोकेर पठाएपनि अझै बजार मुल्य भन्दा महँगो नै भएकाले सर्बसाधारणले लिन नमानिरहेका नेपाल खाद्य संस्थान डोल्पाले जनाएको छ।

कर्णाली प्रदेशका जाजरकोट, हुम्ला लगायतका जिल्लाहरुमा जापानिज चामलको मुल्य घटाएपनि हिमाली जिल्ला डोल्पामा नेपाल खाद्य संस्थानले चामलको मुल्य नघटाउँदा सर्वसाधारण मारमा परेका छन्। नेपाल सरकारले कर्णालीका पाँच जिल्लाहरुमा ढुवानी अनुदानमा नेपाल खाद्य संस्थानमार्फत खाद्यान्न उपलब्ध गराउँदै आएको छ। डोल्पामा प्रतिघर प्रति परिवार सदस्य ३ केजी र दलितहरुलाई ४ केजीका दरले रासनकार्ड मार्फत चामल पाउने गरेका छन्।

 

प्रकाशित: १६ माघ २०७५ ११:०० बुधबार

डोल्पा खाद्य_डिपो जापानिज_चामल