अर्थ

कोही सुक्ने त्रासमा, कोही काट्ने चटारोमा

स्थानीय इन्दुशंकर चिनी उद्योगमा लैजान हरिवनको घुर्कौलीस्थित खेतमा उखु काट्दै किसान। तस्बिर: टंक/नागरिक

सर्लाही -सर्लाहीमा देशकै सबैभन्दा बढी उखु खेती हुन्छ। यहाँ यस वर्ष २६ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती भएको जानकार बताउँछन्। जिल्लामा तीनवटा चिनी उद्योग छन्। एउटै जिल्लाभित्र पनि उखु किसानको व्यथा भने फरकफरक छ।

उत्तरी क्षेत्रका किसानलाई हरिवनस्थित इन्दुशंकर चिनी उद्योगमा उखु काटेर लैजान भ्याइनभ्याइ छ भने दक्षिण–पश्चिम क्षेत्रका किसान स्थानीय चिनी उद्योग चल्ने छाँटकाँट नदेखिएपछि उखु सुक्ने त्रासमा छन्। दक्षिण–पश्चिम क्षेत्रस्थित धनगढाका किसान लक्ष्मण राय उखु सुक्ने त्रासले भयभित छन्। माघ पहिलो साता बित्न लाग्दासमेत छेउकै अन्नपूर्ण सुगर उद्योग चल्ने छाँटकाँट नदेखिएपछि रायलाई छटपटी भएको हो। ‘घर छेउको चिनी उद्योग चल्ने छाँटकाँट नै छैन,’ उनले गुनासो गरे, ‘अन्नपूर्णको मिल गेट क्षेत्रमा पर्ने भएकाले अरु चिनी मिलले लिँदैनन्, उखु सुकेर सुठ्ठा भइसक्यो।’

३५ कट्ठामा उखु खेती गरेका राय छेउको उद्योग नचल्दा खेतमै उखु सुकेर नष्ट हुने हो कि भन्ने चिन्तामा छन्। ‘मंसिर १५ बाटै उद्योग चलेदेखि तीनवर्षे खुट्टी उखु मासेर अरु बाली लगाउनुपर्ने थियो,’ उनले भने, ‘उखु मासेर अर्को बाली लगाउनु त परै जाओस्, त्यही उखु पनि खेतमै सुकाउनु पर्ला जस्तो छ।’ छटौलका रामचन्द्र रायलाई गत वर्ष पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर मिललाई बेचेको ६ सय क्विन्टल उखुको एक पैसा नपाएको पीडासँगै यस वर्ष अहिलेसम्म चिनी उद्योग नै नचलेपछि खेतमै उखु सुक्ने त्रासले छोपेको छ।

यी त प्रतिनिधि पात्र मात्र हुन्। केही वर्षदेखि भुक्तानी नपाएर छट्पटिएका त्यस क्षेत्रका हजारौं उखु किसान यस वर्ष माघ पहिलो साता बित्न लाग्दा समेत स्थानीय चिनी उद्योग चल्ने छाँटकाँट नदेखेपछि आत्तिएका छन्। समयमै भुक्तानी नपाएर छट्पटिएका धनकौल क्षेत्रका किसान यस वर्ष स्थानीय चिनी उद्योग समयमै नचल्दा निकै मारमा परेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए। ‘अन्नपूर्णबाट किसानलाई विगत वर्षकै ३० करोडभन्दा बढी भुक्तानी बाँकी छ। यस वर्ष त अहिलेसम्म चल्ने छाँटकाँट नै छैन,’ अध्यक्ष मैनालीले भने। उद्योग चलाउन ढिलो गरेर उद्योगपतिले किसानलाई गलाउन खोजेको र सरकार मूकदर्शक बनेको मैनालीको आरोप छ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जिल्लास्थित दुईवटा चिनी उद्योग चले पनि अन्नपूर्णमा समस्या देखिएको जानकारी दिए। ‘विगतकै भुक्तानी बाँकी लगायत समस्याले अन्नपूर्णमा समस्या देखिएको छ,’ प्रजिअ पोखरेलले भने, ‘यथाशीघ्र भुक्तानी र उद्योग सञ्चालनका लागि समन्वय भइरहेको छ।’ अन्नपूर्ण व्यवस्थापन पक्षका कोहीसँग पनि सम्पर्क हुँदैन। सबै अधिकारी मोबाइल स्विच अफ गरेर बसेका छन्। कसैलाई लागिहाल्यो भने पनि उठ्दैन। उद्योगमा समेत कोही बस्दैनन्।

सरकारले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा तोकेको छ। चिनी उद्योगले चार सय ७१ रुपैयाँ २८ पैसा र सरकारी अनुदानबापत ६५ रुपैयाँ २८ पैसा किसानले पाउने गरी सरकारले मूल्य तोकेको हो। हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले माघ १ गतेबाटै उखु क्रसिङ सुरु गरिसकेको छ। हरिवनसहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रका किसान भने सातायता उखु काट्न भ्याइनभ्याइको अवस्थामा छन्। ढिलै भए पनि उद्योग चल्न थालेकाले उत्तरी क्षेत्रका किसान खेतको उखु काटेर लैजाने चटारोमा रहेको महासंघ अध्यक्ष मैनालीले जानकारी दिए।
दक्षिणी क्षेत्रकै बगदहस्थित महालक्ष्मी सुगर मिलले पनि शनिबारबाट उखु क्रसिङ सुरु गरेको छ। दुई वर्षअघि स्थापनाको काम सुरु गरेको उक्त उद्योगले यसै वर्षबाट उखु क्रसिङ सुरु गरेको हो।

गत वर्ष हरिवनको इन्दुशंकर र पश्चिम धनकौलको अन्नपूर्ण पुस पहिलो साताबाटै सञ्चालनमा आएका थिए। मंसिरमै चल्नुपर्ने उद्योग गत वर्ष प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका कारण पुसमा पुगे पनि अन्नपूर्ण त यस वर्ष माघ पहिलो साता बित्न लाग्दा समेत सञ्चालन नहुँदा किसान ठूलो पीडामा छन्। तेस्रो वर्षे खुट्टी उखु काटेर अन्य बाली लगाउने समय घर्किने भएपछि र उद्योग चल्न ढिला हुँदा खेतमै सुक्ने त्रासले कतिपय किसान प्रतिक्विन्टल दुई सय ५० रुपैयाँमै स्थानीय क्रसर उद्योगलाई उखु बिक्री गर्न बाध्य भएका छन्। गत वर्ष इन्दुशंकरले ३९ लाख ९९ हजार एक सय २२ क्विन्टल तथा अन्नपूर्णले १२ लाख ८४ हजार पाँच सय ६२ क्विन्टल उखु क्रसिङ गरेको थियो। त्यस्तै, जिल्लाबाट महोत्तरी, रौतहट, बारा लगायत चिनी उद्योगमा समेत त्यत्तिकै उखु गएको थियो।

प्रकाशित: ९ माघ २०७५ ०६:३० बुधबार

उखु किसान पीडा