अर्थ

चैतदेखि धसिंगरे तेल उत्पादन गरिने

रसुवा - रसुवाको कालिका गाउँपालिका–२ स्याउबारीमा रहेको धसिंगरे तेल उत्पादन केन्द्रले आगामी चैतदेखि तेल उत्पादन सुरु गर्ने भएको छ। तीन वर्षदेखि बन्द रहेको केन्द्र पुनः सञ्चालनमा ल्याउन लागिएको हो।२०७२ वैसाख १२ गते आएको भूकम्पको कारण केन्द्रमा क्षति पुगेपछि उत्पादन बन्द भएको थियो।

स्याउबारी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले २०६६ मा केन्द्रको स्थापना गरेको थियो। वार्षिक एक सय केजी तेल उत्पादन हुने समितिले जनाएको छ। तेल लिटर एकाइमा नापिने भए पनि यहाँबाट तेल बिक्री गर्दा केजीको हिसाबले हुन्छ। ‘सुरुमा प्रतिकेजी नौ सय रुपैयाँमा बिक्री हुन्थ्यो, समितिका सचिव विक्रम लोप्चनले भने, ‘पछि हामीले प्रतिकेजी तीन हजा पाँच सय रुपैयाँसम्ममा बिक्री गर्‍यौं।’ भूकम्प आएपछि केन्द्रमा क्षति पुगेको उनले बताए। तेल उत्पादनका लागि तयारी पूरा भइसकेको बताइएको छ।

फागुनदेखि असारसम्म केन्द्रले तेल उत्पादन गर्ने गर्दछ। पहिले जस्तो कच्चा पदार्थ नपाइने भएकाले वार्षिक ७० देखि ८० केजी उत्पादन हुने समितिले जनाएको छ। ‘आगलागीका कारण वन क्षेत्रमा धसिंग्रे कम छ,’ उनले भने, ‘निकुञ्ज क्षेत्रमा संकलन गर्न पाइँदैन।’ सञ्चालनको दुई वर्षसम्म केन्द्रले राम्रो उत्पादन गर्न सकेन। तेल उत्पादन गर्न सकेमा बजारको अभाव नहुने उनको भनाइ छ। ‘पहिले पनि माग अनुसारको उत्पादन गर्न सकिएको थिएन्,’ उनले भने, ‘निकुञ्ज क्षेत्रमा पनि संकलन गर्न पाएमा उत्पादन बढ्छ।’

उत्पादन भएको तेल काठमाडौंको निजी कम्पनीमा पठाउने गरिएको थियो। जिल्लामा डिभिजन वन कार्यालयको क्षेत्र कम र निकुञ्जको क्षेत्र बढी छ। धसिंग्रे निकुञ्ज क्षेत्रमा बढी छ। तर संकलनका लागि अनुमति नदिँदा केन्द्रमा कच्चा पदार्थको अभाव छ। निकुञ्ज क्षेत्रमा संकलन गर्न नदिएको भए पनि मध्यवर्ती क्षेत्रमा संकलनको अनुमति दिएको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताए। ‘मध्यवर्ती क्षेत्रमा संकलन गर्नका लागि अनुमति दिन्छौं,’ उनले भने, ‘यसका लागि पक्रिया पूरा गर्नुपर्छ।’ संकलनका लागि सुरुमा स्रोत सर्बेक्षण गर्नुपर्ने र सामुदायिक वनको वन कार्ययोजनामा उल्लेख भएको अवस्थामा कच्चा पदार्थ संकलनका लागि कार्यालयले अनुमति दिँदै आएको सूचना अधिकारी गैरेले बताए।

प्रकाशित: ९ माघ २०७५ ०६:२३ बुधबार

रसुवा कालिका_गाउँपालिका धसिंगरे_तेल उत्पादन