अर्थ

गिटी ढुंगा उत्खनन् रोक

खोटाङ – डिभिजन वन कार्यालय खोटाङले बगरे भञ्ज्याङबाट भइरहेको गिटी ढुंगा उत्खननमा रोक लगाएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको सिमानामा रहेको डाँडाखर्क खिसापत्रे सामुदायिक वन क्षेत्रमा पर्ने बगरेभञ्ज्याङबाट पटक–पटक ढुंगा गिटी उत्खनन्् भइरहेको उजुरीका आधारमा डिभिजन वन कार्यालयले सो कार्यमा रोक लगाएको हो।

पुष्पलाल मध्यपहाडी लोकमार्गको दिक्तेल–भोजपुर सडक खण्डको ८८+००० देखि ५२+००० सम्मको खण्ड कालोपत्रेको जिम्मा लिएको ठेकेदार कम्पनी रमन–गोल्डेन गुड जेभीले बगरेभञ्ज्याङबाट कानूनी प्रकृया पूरा नगरी गिटी ढुंगा उत्खनन्् गरिरहेको पाइएकाले उत्खनन््मा रोक लगाइएको डिभिजन वन कार्यालय खोटाङका प्रमुख ललितकुमार कर्णले बताए। डिभिजन वन कार्यालयले पत्र प्राप्त भएको १० दिनभित्र प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (इआइए÷आइइई)को सक्कल प्रति पेस गर्न ठेकेदार कम्पनी रमन–गोल्डेन गुड जेभीलाई निर्देशन दिएको छ।

‘कम्पनीले कुन प्रकृया अवलम्बन गरी सामुदायिक वन क्षेत्रबाट ढुंगा गिटी उत्खनन् गरेको हो ? सडक निर्माणका क्रममा सडकको एलाइमेन्टभित्र पर्ने कुन जातका कति रुख हटाउनुपर्ने हो ? हालसम्म सोको लगतसम्म प्राप्त भएको छैन,’ डिभिजन वन कार्यालयले रमन–गोल्डेन गुडलाई लेखेको पत्रमा भनिएको छ, ‘वन क्षेत्रबाट ढुंगा गिटी उत्खनन्् गर्ने काम तत्काल रोकी इआइए÷आइइईको सक्कल पत्रको प्रतिलिपि प्राप्त भएको मितिले १० दिनभित्र कार्यालयमा पेस गर्न, अन्याथा प्रचलित कानून अनुसार कारबाही अघि बढाइने छ।’

डिभिजन वन कार्यालयले बगरेबाट अवैध तरिकाले गिटी ढुंगा उत्खनन् बन्द गराउन डाँडाखर्क खिसापत्रे सामुदायिक वन उपभोक्ता समूहलाई समेत पत्राचार गरेको छ। वन समूहलाई गिटी ढुंगा उत्खननमा आदेश दिने पक्ष र हालसम्म निकालिएको ढुंगा गिटीको परिमाणको विवरण पेस गर्न भनिएको डिभिजन वन कार्यालयले जनाएको छ। बगरेको गिटी ढुंगा उत्खननका विषयमा छानबिनका लागि सहायक वन अधिकृत चतुरनारायण शाहलाई खटाइएको छ।

दिक्तेल–चखेवाभञ्ज्याङ सडक कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनीले लामो समयदेखि खार्मी र नेर्पाका सामुदायिक वनक्षेत्रबाट अनाधिकृत रुपमा बसेका लागि आवश्यक गिटी ढुंगा उत्खनन् गर्दै आएको छ। खार्मीभन्दा नेर्पातर्फका क्षेत्रबाट बढी मात्रामा गिटी ढुंगा निकालिएको स्थानीय बताउँछन्। यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि मापदण्डअनुसार अनुमति नलिई र शुल्क नबुझाई ढुंगा गिटी उत्खनन् गरेको भन्दै केही समय सो काम बन्द गराएको थियो।
 

प्रकाशित: ८ माघ २०७५ ०६:३२ मंगलबार

डिभिजन_वन_कार्यालय उत्खनन् मझुवागढी_नगरपालिका गिटी_ढुंगा