अर्थ

दूधकोसी जलविद्युत् आयोजनाको अवरोध हट्यो

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका स्थानीयले दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको काममा गरेको अवरोध हटाएको छ। धितुङका स्थानीय र आयोजनाबीच सोमबार तीनबुँदे सहमति भएपछि आयोजनाको काममा स्थानीयको अवरोध हटेको हो।

स्थानीयसँग समन्वय नगरी खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमामा पर्ने तीन सय मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत्् आयोजनाको पावरहाउस र सुरुङ निर्माणका लागि भौगर्भिक अध्ययनको काम सुरु गरिएको भन्दै स्थानीयले पुस २० गतेदेखि आयोजनाको काम ठप्प पारेका थिए।

द्विपक्षीय छलफलमा दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालनका क्रममा धितुङमा पावरहाउस निर्माण गर्नुपर्ने अवस्थामा सामाजिक उत्तरदायित्वका सम्पूर्ण काम सोही ठाउँका स्थानीयलाई दिएर आयोजना सञ्चालन गर्ने, कोर ड्रिलिङको कामलाई आजैका मितिबाट सुचारु गराउने, परिक्षण सुरुङमार्ग निर्माणकाक्रममा धितुङतर्फ मोटरबाटो निर्माण गर्न आयोजना तथा वडा कार्यालयसँग समन्वय गर्ने, तत्काललाई टेस्ट अडिट खन्ने काम सुरु गर्न दिने लगायत सहमति भएको धितुङका वडा सदस्य खेमराज कार्कीले जानकारी दिए।

दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना प्रमुख वशन्तध्वज श्रेष्ठ, आयोजना प्रशासन अधिकृत सिताराम तरबाडे, दूधकोसी रँभुवा–धितुङ रातेखोला सरोकार तथा संघर्ष समितिका तर्फबाट संयोजक निरकुमार राई र सचिव रमेश राईबीच आयोजनाको काम अघि लिखित सहमति भएको हो। समन्वय नगरी धितुङको राते खोलामा पावरहाउस, सुरुङ लगायत संरचना निर्माणका लागि भूगोल, जमिन, ढुंगा, माटो योग्य भए–नभएको विषयमा आधुनिक उपकरण प्रयोग गरेर अध्ययन थालिएको भन्दै पुस २० गते संघर्ष समिति बनाएको स्थानीयले आफ्नो परामर्श, साझेदारी र हित हुनेगरी जलविद्युत् आयोजनाको काम अघि बढाउन माग गर्दै पुस २२ गते जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाएका थिए।

आकर्षक आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कै काम अन्तर्गत धितुङमा मंसिर अन्तिम सातादेखि भौगर्भिक अध्ययनको काम भइरहेको छ। लामीडाँडाको रँभुवाबजारमा एक सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.५ किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ। रभुवाँस्थित नकटीडाँडा र भदौरेस्थित दोभानडाँडामा चट्टानमा परीक्षण सुरुङ निर्माण सुरु गरेको ७ महिनापछि धितुङमा पनि भौगर्भिक अध्ययनका काम सुरु गरिएको हो। नकटीडाँडा र दोभानडाँडामा हिमाल कन्स्ट्रक्सन–वाइवा इफ्राटेक जेभीले गत जेठ १० गतेदेखि परीक्षण सुरुङ निर्माण सुरु गरेको थियो। करिब पौने एक खर्ब लागतमा पूरा हुने जलविद्युत् आयोजनाबाट वार्षिक एक अर्ब ८० करोड युनिट विद्युत् उत्पादन हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्रकाशित: ८ माघ २०७५ ०६:२९ मंगलबार

खोटाङ तुवाचुङ_नगरपालिका दूधकोसी_जलाशययुक्त_जलविद्युत_आयोजना