अर्थ

विभिन्न मुलुकबाट ८६ करोडको तयारी मासु तथा माछाको आयात

काठमाडौं – पर्याप्त सम्भावना भएपनि उत्पादन हुन नसक्दा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ४२ लाख ८९ हजार ७३८ केजी तयारी मासु तथा माछा आयात भएको छ।

भन्सार विभागले प्रस्तुत गरेको चालु आर्थिक वर्षको आयात विवरणमा पाँच महिनामा करिब ८५ करोड ५६ लाख २ हजार मूल्य बराबरको हाडरहित मासु, माछा, घुङ्गी आयात भएको उल्लेख छ।

भारत, फ्रान्स, इटली, नेदरल्याण्डस्, थाइल्याण्ड, चीन, अष्ट्रेलिया, नर्वे, भियतनाम, बंगलादेश, सिङ्गापुर र जापान गरी १२ देशबाट अष्ट्रिच, टर्की, हाँस, बङ्गुर, भेडा, कुखुरा, विभिन्न थरीका माछा, झिङ्गे माछा तथा समुद्रमा पाइने विभिन्न जीवका तयारी मासु आयात भएको हो। आयातित वस्तु यहाँ उत्पादन गर्न सकिन्छ। यद्यपि आयात गरिएको छ।

आयात गरिएको घुङ्गी (शंखे किरा) सिमसार, घोल, जमेको पानी र दवदवे जमीनमा पाइन्छ। पछिल्लोपटक सीमसार क्षेत्रमा अतिक्रमण बढेको छ। आगोमा सिकाएको, सग्लो तर मरेको, (हिउँ) ले ढाकिएको र जिउँदो माछा आयात भएको हो। जिउँदो बाहेक अन्य आयातित वस्तु नेपालका तारे होटेलमा खपत हुने गरेको छ।

भन्सार विभागको तथ्याङ्कले नेपालमा निर्यातभन्दा आयातको अंश २३ प्रतिशतले बढेको उल्लेख छ। एघार दशमलव दुई प्रतिशत निर्यात हुँदा ३४ दशमलव शून्य दुई प्रतिशतले आयात बढेको छ। चालु आर्थिक वर्षको पाँच महीनामा कूल आयात ६ खर्ब ७ अर्ब छ भने निर्यात ३७ अर्ब ५० करोडमा सीमित हुन पुगेको छ।    (रासस)

प्रकाशित: ५ माघ २०७५ १०:३८ शनिबार

मासु माछा आयात