अर्थ

मलेसिया र इन्डोनेसियाली पाहुना बोलाउँदै ट्रेकिङ व्यवसायी

पोखरा - अन्नपूर्ण क्षेत्रको पदयात्रा रुचाएका मुलुकका पर्यटकलाई लक्ष्य गर्र्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरले प्रवद्र्धनात्मक गतिविधि गर्ने भएको छ। पछिल्लो समय अन्नपूर्ण क्षेत्रको पदयात्रामा मलेसिया, इन्डोनेसिया, सिंगापुरका पदयात्री बढी थपिन थालेका छन्।

हिमाली क्षेत्रको पदयात्रा रुचाएका तिनै देशका पर्यटकलाई लक्ष्य गर्दै प्रवद्र्धनात्मक गतिविधि गर्न थालेको टान पश्चिमाञ्चल च्याप्टर अध्यक्ष हरि भुजेलले बताए। टान पश्चिमाञ्चल च्याप्टरले पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा नेपालको पदयात्रा क्षेत्रको प्रवद्र्धन गर्न थालेको हो। टानको समूह शुक्रबार प्रवद्र्धन अभियान लिएर शुक्रबार त्यसतर्फ जाने अध्यक्ष भुजेलले बताए। टिमले मलेसियन र इन्डोनेसियाली पदयात्रा व्यवसायीसँग भेटघाट र छलफल गर्ने भुजेलले बताए। ‘हिमाली पदयात्रा रुचाएका मुलुकका पर्यटकलाई लक्ष्य गरेर हामीले पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न थालेका हौं। यसबाट दिनमा ती मुलुुकका पाहुनाको नेपाल आगमन बढ्ने विश्वास छ,’ उनले भने, ‘पदयात्रा रुटको प्रचारप्रसार गर्दा नेपालको पदयात्रामा आउने पर्यटकको हिस्सा थपिने विश्वास छ।’

नेपाल आउने पर्यटकमध्ये झन्डै ७० प्रतिशत पदयात्रामा जाने गरेको तथ्यांक छ। यो तथ्यांकमा मलेसिया, सिंगापुर र इन्डोनेसियाका पर्यटक उल्लेख्य हुने गरेको उनले बताए। उनका अनुसार समूहमा पदयात्रामा गएका पदयात्रीको तथ्यांक अनुसार सिंगापुर र मलेसियाको २५ प्रतिशत हाराहारी हिस्सा छ। इन्डोनेसियाको संख्या १० प्रतिशत छ। ‘पदयात्रा रुचाएकै कारण हामीले ती मुलुकका पर्यटकलाई चासो दिएका हौं। भविष्यमा पनि आगमन बढाउन अहिले नै बजारीकरण जरुरी छ,’ उनले भने। पदयात्रा व्यवसायीका अनुसार यी मुलुकका पर्यटक लामो दुरीको पदयात्रा रुचाउँछन्। अन्नपूर्ण फेरोको पदयात्रा यी पर्यटकको पहिलो प्राथमिकतामा पर्ने गरेको उनले बताए। नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टिकाराम सापकोटाका अनुसार सन् २०१८ मा मलेसियाका करिब २५ हजार पर्यटक नेपाल आएका छन्। तीमध्ये अधिकांश पदयात्राका लागि आएको उनले बताए। इन्डोनेसियाका पर्यटकको आगमन आठ हजार हाराहारी छ। यी मुलुकका पर्यटकको आगमन हरेक वर्ष बढिरहेको उनले बताए। मलेसियन र इन्डोनेसियाली पर्यटकको नेपाल आगमनको वृद्धिदर करिब २५ प्रतिशत रहेकोले पनि ती मुलुकलाई लक्ष्य गरेर प्रवद्र्धन गर्न थालेको सापकोटाले बताए। ‘अहिलेको आगमन उत्साहजनक रहेको र भविष्यमा पनि त्यहाँबाट पाहुना आउने सम्भावना अधिक छ। त्यसैले पनि हामीले प्राथमिकता दिएका हौं,’ सापकोटाले भने, ‘अगमन वृद्धि हुँदै जाँदा बजारीकरण पनि जरुरी पर्छ।’

सापकोटाका अनुसार मलेसियामा हिमाल नभएकोले त्यहाँका पर्यटक हिमाली क्षेत्रको पदयात्रा निकै रुचाउँछन्। यसअघि अरु निकायले अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरे पनि पदयात्रा क्षेत्रले अवसर पाएको थिएन। सापकोटा पदयात्रालाई नेपाली पर्यटनको मूल आधार भन्दै यसको प्रवद्र्धन जरुरी रहेको बताउँछन्। यो प्रवद्र्धन अभियानले आगामी दिनमा पोखरालाई मात्र नभई सिंगो देशलाई फाइदा हुने उनको भनाइ छ। यस्तो प्रवद्र्धनलाई नियमित गर्नुपर्ने उनले सुझाए। व्यवसायीले प्रवद्र्धन गर्न थालेका मुलुकका पदयात्रा व्यवसायी भेटेर नेपालको पदयात्रा क्षेत्रबारे छलफल गर्ने, पदयात्रा क्षेत्रको सुरक्षा, संरचनाबारे बताउन सक्ने र प्याकेज पनि सार्वजनिक गर्न पाउने भएकोले यसलाई अवसरको रुपमा लिएको सापकोटाले बताए।

प्रकाशित: ४ माघ २०७५ ०४:३३ शुक्रबार

मलेसियाली इन्डोनेसियाली अन्नपूर्ण_क्षेत्र पदयात्रा पर्यटक ट्रेकिङ_एजेन्सिज_एसोसिएसन_अफ_नेपाल