अर्थ

पचास प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोवार रद्द

काठमाडौ - नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोवार भएका कारण कारोवार रद्द गर्नुपरेको जानकारी दिए। 

आइतबारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोवार सुरु भएको थियो । स्टकले सुरुआती चरणमा प्रतिकित्ता  २२४ रूपैयाँ सम्मको सीमा निर्धारण गरेको थियो । आज बजार खुल्ने बित्तिकै २ लाख ४३ हजार कित्ता शेयर खरिदका लागि लगानीकर्ता लालायित भएका थिए । खरिद गर्न चाहनेको सङ्ख्या बढेपनि बिक्री गर्न चाहने भने एक जना पनि देखिएको थिएन। 

नियमानुसार कुनै कम्पनीको शेयर मूल्यमा १० प्रतिशत भन्दा बढीले कमी आउँदा वा बढ्दा ‘सर्किट ब्रेक’ लगाउने गरिन्छ । यसको अर्थ १० प्रतिशतभन्दा बढीले कमी हुँदा वा बढी हुँदा सेयर कारोवार हुनुहुँदैन । तर प्राविधिक समस्याका कारण माथिल्लो तामाकोशीको शेयरमा उच्च अङ्कले वृद्धि हुन पुग्यो । बजार खुल्दा सो कम्पनीको शेयर ११२ ले वृद्धि भई रु ३३६ पुगेको थियो । स्टकले भने सीमाभन्दा बाहिर गएर भएको कारोवार रद्द भएको जनाएको छ। 

सेन्ट्रल फाइनान्सको धितोपत्र सूचीकरण स्थगित 

स्टकले आजै सेन्ट्रल फाइनान्स लिमिटेडको धितोपत्र सूचीकरण स्थगित गरेको छ । धितोपत्र बजार मूल्यमा प्रभाव पार्ने सूचना सम्प्रेषणबारे स्पष्ट जानकारी नदिइएकाले कम्पनीको धितोपत्र सूचीकरण स्थगित भएको हो ।  कम्पनीको २७ गते बसेको सञ्चालक समितिको निर्णयमा नगद लाभांशसम्बन्धी सूचना आइतबार पत्रमार्फत प्राप्त भएको थियो । बजार मूल्यलाई प्रभाव पार्ने सूचना तत्काल उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि दुई दिन ढिला गरेर मात्रै उपलब्ध भएको स्टकको भनाइ छ।   स्टकले यसबारे २४ घण्टा भित्र आवश्यक स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

यस्तै स्टकमा आजै बैंक अफ काठमाडौँको शेयर मूल्य समायोजन भएको छ । बैंकले १४ प्रतिशत शेयर लाभांश दिने निर्णय लगत्तै प्रतिकित्ता रु २८८ मा मूल्य समायोजन गरिएको हो । बैंकको औसत शेयर मूल्य  ३२८ रूपैयाँ रहेको छ। रासस

प्रकाशित: ३० पुस २०७५ ०८:४२ सोमबार

माथिल्लो_तामाकोशी_जलविद्युत्_कम्पनी नेपाल_स्टक_एक्सचेञ्ज सेन्ट्रल_फाइनान्स