अर्थ

यसरी हुँदैछ मदन भण्डारी राजमार्गको निर्माण (फोटो फिचर)

सिन्धुली - धरान-चतरा-सिन्धुली-हेटौँडा सडकको निर्माणकार्य तीव्र गतिमा हुन थालेको छ। सरकारको प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग ( धरान-चतरा-सिन्धुली-हेटौँडा बैकल्पिक राजमार्ग) को निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा हुन थालेको हो।

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको सडकको दुबै खण्डमा करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। सडकको तुलनामा पुल निर्माणका कार्य धेरै अगाडी बढीसकेको पाइएको छ। 

राजमार्गको पुर्व र पश्चिम गरि दुई खण्डमा विभाजन गरि काम भएको छ। दुबै खण्डमा सडक संरचना निर्माण, पुल निर्माण, कजवे, ह्युम पाइप, बक्स कल्भर्ट र स्ल्याब कल्भर्ट लगायतको संरचना निर्माणको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ। आयोजनाका पश्चिम खण्डका इन्जिनियर सजग थापाका अनुसार सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवनपुरको हेटाैडा महानगरपालिका–६ चौगडासम्मको कुल ११५ किलोमिटर सडकमा धमाधम काम भइरहेको छ। कुल १ सय १५ किलोमिटर सडक खण्डअन्तर्गत सडकतर्फ करिव ३५ प्रतिशत र पुलतर्फ झन्डै ६० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। यसैगरि आयोजनाको पश्चिम खण्डको १० किलोमिटर सडकमा पिच नै भइसकेको छ। वागमती नदीदेखि मकवानपुरको फापरवारी छतिवनसम्मको १० किलोमिटर सडक पिच भइसकेको आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर थापाका अनुसार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका क्षेत्रमा पर्ने सडकमा पनि कालोपत्रेकाे तयारी हुँदैछ। 'हामी सब बेशको काम गरिरहेका छौ', उनले नागरिकसँग भने, 'केहि महिनामै कालोपत्रेको काम हुन्छ।'

राजमार्गको पुर्वी खण्डमा पनि सब बेशकै काम भइरहेको हेटौडा पूर्वी खण्डका इन्जिनियर गोविन्द दुमरुले जानकारी दिए। 'सडकको ग्रेड मिलान गरि सब बेश हाल्ने काम भइरहेको छ', उनले भने, 'कालोपत्रे तत्कालै हुन्छ भन्न त सकिदैन तर काम तिब्र गतिमै भएको छ, कालोपत्रेको तयारी हुँदैछ।' यस बर्ष ५० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य लिएकाे बताउँदै उनले अगाडि थपे, 'सडकको ४५ प्रतिशत र पुलको ६५ प्रतिशत काम पुरा भइसकेको छ।'

पश्चिम खण्डको ११५ किलोमिटरमा ३३ वटा पुल, ५७ स्थानमा कजवे, ह्युम पाइप ३ सय ९७ वटा, बक्स कल्भर्ट १९, स्ल्याब कल्भर्ट ४ रहने आयोजनाले जनाएको छ। तीन वर्षमा निर्माण सक्ने लक्ष्य लिएको उक्त राजमार्गको निर्माणको  पश्चिम खण्डको जिम्मा कालिका, स्वच्छन्द, रकेन जेभी काठमाडौंले २०७३ कात्तिक २२ गते लिएकाे थियो। ११ मिटर चौडाई रहेको उक्त सडक दुई पत्रमा पिच हुनेछ। पहिलो लेयरमा ११ मिटर चौडाइमै पिच हुने र त्यस माथि ७ मिटर चौडाइमा दोस्रो लेयरमा पिच हुने जनाइएको छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App