अर्थ

कृत्रिम गर्भाधानमा किसान आकर्षित

धनगढी उपमहानगरपालिकाको पशु सेवा शाखा कार्यालयमा गाईलाई कृत्रिम गर्भाधान गराउँदै पशु स्वास्थ्य प्राविधिक। तस्बिर : नागरिक

कैलाली - धनगढी मटियारीका किसान देवीलाल भण्डारीले घरमा दूधालु गाई पाल्दै आएका छन्। वर्षौंदेखि गाई पाल्दै आएका उनी पहिले गाईलाई गर्भधारण गराउन गाउँमा बहर खोज्दै जान्थे। गाउँमा कसैको गतिलो र हट्टाकट्टा बहर कहाँ लगेर गाईलाई गर्भाधान गराउँथे। साता नपुग्दै गाई कराउन थालेपछि  पुनः बहरकहाँ लैजानु पर्थ्यो। तर, गत वर्षदेखि भने उनी गाई कराउन थालेपछि पशु सेवा कार्यालयमा लैजान थालेका छन्।  

‘गाई कराउन थालेपछि गर्भाधानका लागि पशु सेवा कार्यालयमा लैजाने गरेको छु,’ उनले भने, ‘एक पटक लगेपछि पशु चिकित्सकले कृत्रिम गर्भाधान गराइदिएपछि अर्को पटक लैजानु पर्ने बाध्यता हटेको छ।’ कृत्रिम गर्भाधानले बाच्छाबाच्छी राम्रा जन्मने र गाईले दूध पनि बढी दिने गरेको उनको अनुभव छ। ‘कृत्रिम गर्भाधानले गाईका बाच्छाबाच्छी पनि राम्रा जन्मन्छन्,’ उनले भने, ‘बहरबाट गराइएको गर्भाधानभन्दा कृत्रिम गर्भाधानले गाईले दूध बढी दिने गरेको छ।’ पछिल्लो समय उनी मात्रै नभई पशुहरुलाई कृत्रिम गर्भाधान गराउन पशु सेवा कार्यालय धाउने किसानको संख्या बढ्दो छ।

धनगढी उपमहानगरपालिकाको पशु सेवा शाखा कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४÷७५ मा तीन हजार नौ सय ४० गाई, एक हजार चार सय २२ भैंसी र एक सय ६० बाख्रा गरी कूल पाँच हजार पाँच सय २२ जनावरलाई कृत्रिम गर्भाधान गराइएको छ।  यस्तै चालू आर्थिक वर्षको साउनमा ९६, भदौमा एक सय २१, असोजमा एक सय ६८, कात्तिकमा एक सय ५३ र मंसिरमा एक सय ५५ गरेर पाँच महिनामा कूल ६ सय ९३ पशुमा कृत्रिम गर्भाधान गराइएको छ। मासिक तथ्यांक हेर्ने हो भने प्रत्येक महिना कृत्रिम गर्भाधानका लागि पशु सेवा कार्यालयमा किसानले पशुलाई लैजाने क्रम बढ्दो छ।  

धनगढी उपमहानगरपालिकाको पशु सेवा कार्यालयमा पछिल्लो समयमा पशुहरुलाई कृत्रिम गर्भाधान गराउने सुविधा थपिएसँगै किसानको आकर्षण बढेको पशु सेवा शाखा कार्यालय धनगढीका नायव पशु स्वास्थ्य प्राविधिक कृष्णबहादुर धामीले बताए। उनले भने, ‘कृत्रिम गर्भाधानले पशुबाट जन्मने बच्चा स्वस्थ र उन्नत जातको हुने भएकाले पनि किसानको आकर्षण बढेको छ।’

कृत्रिम गर्भाधानले गाई, भैंसीले दूध बढी दिने गरेको समेत उनले बताए। ‘कृत्रिम गर्भाधान गराएका पशुले बढी दूध दिने गरेको हामीले पाएका छौं,’ उनले भने, ‘यसले गर्दा पनि किसानको आकर्षण बढेको हो।’ गाई, भैंसीलाई पटक पटक बिजार कहाँ लैजानु पर्ने बाध्यता रहेको बताउँदै नायव पशु स्वास्थ्य प्राविधिक धामीले भने, ‘कृत्रिम गर्भाधान गराउँदा बच्चा बस्ने सम्भावना शतप्रतिशत रहेकाले पनि किसान कृत्रिम गर्भाधानमा बढी विस्वस्त हुन थालेका छन्।’    
पशु सेवा शाखा कार्यालय धनगढीले कृत्रिम गर्भाधानबापत प्रतिपशु २५ रुपैयाँ किसानबाट लिने गरेको छ। कृत्रिम गर्भाधानका लागि न्यून शुल्क र अनुदान दिइने भएकाले पनि किसानको आकर्षण बढ्न थालेको पशु सेवा कार्यालयका कर्मचारी बताउँछन्।  

प्रकाशित: २९ पुस २०७५ ०६:२० आइतबार

गाई कृत्रिम_गर्भाधानमा किसान