अर्थ

टेलिकममा अधिकारीले गरे पदभार ग्रहण

काठमाडौं - नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सोमबार पदभार ग्रहण गरेका छन्। अधिकारीलाई सरकारले पुस १९ गते तीन वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको थियो। पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजना अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न कर्मचारीलाई आह्वान गरे। उनले काममा ढिलासुस्ती, अधिकारको दुरुपयोग, भ्रष्टाचार तथा आर्थिक अनियमितता जस्ता कुरामा कसैसँग सम्झौता नगरिने बताएका छन्।

परिवर्तनशील प्रविधि र ग्राहकको माग तथा चाहनामा हुने परिवर्तनलाई समयानुकूल सम्बोधन गर्दै लैजाने, ब्याकबोन नेटवर्कलाई भरपर्दो र गुणस्तरीय बनाइने, फोरजी परियोजनालाई समयमा सम्पन्न गरिने, एक करोड लाइन क्षमताको टुजी र थ्रीजी परियोजनालाई यथाशीघ्र सम्पन्न गरिने, मोबाइल डाटाको प्रयोग बढाउन कार्यक्रम ल्याइने, एफटिटिीएच सेवालाई मुख्य सहर तथा पकेट क्षेत्रमा विस्तार गरिने र कपर नेटवर्कलाई प्रतिस्थापन गरिने बताए। त्यसैगरी, कर्पोरेट र इन्टरप्राइज बिजनेसलाई विशेष जोड दिइने, मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क तयार गर्ने कार्यमा शीघ्रता ल्याइने र मोबाइल फाइनान्सियल सेवा तथा आइपी टीभी सेवालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने प्रतिबद्धता समेत व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रबन्ध निर्देशक अधिकारी यसअघि प्रबन्ध निर्देशकको कार्यालयमा प्रबन्धक पदमा कार्यरत थिए। तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा २०५९ फागुन २२ गते टेलिकम इन्जिनियर पदमा प्रवेश गरेको अधिकारी २०६५ मा वरिष्ठ इन्जिनियर, २०७० मा उप–प्रबन्धक र २०७५ वैशाख १६ देखि प्रबन्धक पदमा कार्यरत रहेका थिए। यसबीचमा उनले कम्पनीका विभिन्न निर्देशनालय र विभागहरुमा कार्यरत थिए। एक्सेस नेटवर्क, ट्रान्समिसन नेटवर्क, वायरलेस ब्रोडब्यान्ड एक्सेस, अन्तर्राष्ट्रिय व्यापार, ब्याकबोन ट्रान्समिसन आदि क्षेत्रको साथै कम्पनीको सह–प्रवक्ता र नोडल अधिकृत समेतको कार्य अनुभव उनीसँग छ।

प्रकाशित: २४ पुस २०७५ ०५:२६ मंगलबार

नेपाल_टेलिकम प्रबन्ध_निर्देशक डिल्लीराम_अधिकारी पदभार_ग्रहण