अर्थ

सुनको भाउ ६० हजार तीन सय

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागिरहेको सुनको भाउ उच्च बिन्दुमा पुगेको छ। शुक्रबार स्थानीय बजारमा सुन प्रतितोला ६० हजार तीन सयमा कारोबार भएको  छ।

बिहीबार ६० हजार चार सय पुगेको सुन शुक्रबार एक सयले घटेको थियो। यो स्थानीय बजारमा ६ वर्षपछिको महँगो हो। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिले स्थानीय बजारमा पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए।

‘अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर र सेयर बजार दुवै झरेकाले सुनको भाउ बढेको हो,’ बज्राचार्यले भने, ‘यसले गर्दा स्थानीय बजारमा पनि बढ्यो।’ अमेरिकी डलर घटेको र सेयर बजार पनि घटेकोले लगानीकर्ता सुनमा आकर्षित भएका हुन्। त्यसैगरी, नेपालमा सुनको भाउ बढ्नुमा भारतीय रुपैयाँ कमजोर हुनु पनि हो। डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुँदा पनि सुन एक्कासि बढ्न गएको महासंघले जनाएको छ। तर, शुक्रबारको दिन भने सेयर बजार र डलर कमजोर भए पनि भारतीय मुद्रा मजबुत भएको कारणले सुनको मूल्यमा भारतीय रुपैयाँ ८५ ले कमी आएको महासंघले उल्लेख गरेको छ।

उनका अनुसार सुनको मूल्य अझै केही दिन बढ्न सक्ने वा अहिलेकै अवस्थामा स्थिर रहन सक्ने आँकलन भइरहेको छ। अमेरिका र चीनबीचको व्यापार विवादले अन्तर्राष्ट्रिय बजारलाई असर गरेको छ। यसले गर्दा सेयर मार्केट बढ्न सकेको छैन। यस विवाद अगामी दिनमा समाधान हुने संकेत नदेखिए सुनको मूल्य नघट्ने अन्तर्राष्ट्रिय बजारमा विश्लेषण गरिएको छ। त्यसैगरी, उत्तर कोरिया र अमेरिकी सम्बन्धले पनि अन्तर्राष्ट्रिय बजारमा लगानीकर्तालाई असर गरिरहेको छ।

हप्ता दिनभित्र सुनको भाउ ६ सय रुपैयाँले वृद्धि भएको छ। गत आइतबार ५९ हजार सात सय रुपैयाँ रहेको मूल्य शुक्रबार आइपुग्दा ६० हजार तीन सय पुगेको थियो। यो ६ वर्षयताकै महँगो हो। २०६९ भदौमा सुनको मूल्य प्रतितोला ६३ हजार तीन सय पुगेको थियो।

यसअघि असोज महिनाको अन्तिम हप्ता सुनको भाउ प्रतितोला ६० हजार पुगेको थियो। त्यसयता पुन उच्च बिन्दुमा पुगेको हो। दुई वर्षअघि नेपाली बजारमा सुनको मूल्य सबैभन्दा कम प्रतितोला ४७ हजार सात सय रुपैयाँसम्म झरेको थियो। विवाहको सिजन सुरु भए पनि मूल्यकै कारण स्थानीय बजारमा सुनको माग बढ्न नसकेको बज्राचार्यले बताए। मंसिर महिनामा एक दिनमात्र लगन भएकाले माग धेरै नभएको उनले बताए।

माघ र फागुन पनि विवाहको सिजन हो। त्यो सिजनका लागि अहिलेदेखि नै बजारमा माग बढ्नुपर्नेमा त्यसो हुन नसकेको उनले बताए। ‘अझै केही दिन हेरौं, माग बढ्छ कि !,’ बज्राचार्यले भने, ‘मूल्य उच्च भएकाले घट्न सक्ने आशामा उपभोक्ताले पर्खिरहेका छन्।’ पुस २५ पछि माग केही बढ्न सक्ने अनुमान उनको छ।

प्रकाशित: २२ पुस २०७५ ०३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App