अर्थ

अब सहकारीमा पनि सूचना अधिकारी अनिवार्य !

काठमाडौं– राष्ट्रिय सूचना आयोगले सहकारी संस्थामा सूचना अधिकारी हुनुपर्ने जनाएको छ। ‘अब सहकारीमा सूचना अधिकारी तोकेकै हुनुपर्छ। हरेक सूचना सार्वजनिक गरेकै हुनुपर्छ’, शुक्रवार राजधानीमा सहकारी पत्रकार समाज र सहकारी विभागद्वारा संयुक्त रुपमा आयोजित सहकारीमा सूचनाको हक विषयक छलफल कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले भने। सहकारीले आफूले गरेका गतिविधि सार्वजनिक गर्नुपर्ने उनको भनाई छ। 

नेपालमा ३४ हजार सहकारी रहेको र ६० लाख मानिस आबद्ध रहेको तथ्यांक प्रस्तुत गर्दै प्रमुख आयुक्त बास्कोटाले सहकारी सूचनाबाट पछि हट्न नहुने बताए। ‘यो मुलुकलाई आत्मनिर्भर सहकारीले बनाउन सक्छ। कृषि, उद्योग, उत्पादन चलाउन सक्छ’, उनले भने, ‘तर सूचना दिएर पारदर्शी हुनुपर्छ। त्यसका लागि सूचना अधिकारी तोक्नुपर्छ। अबको ४ महिनाभित्र सबै सहकारीमा सूचना अधिकारी पाइँनेछ।’ 

उनले सूचना अधिकारी तोक्ने व्यवस्था गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयलाई आग्रह समेत गरे। सचिव गोपीनाथ मैनाली उपस्थित कार्यक्रममा उनले भने, ‘यदि मन्त्रालयले नसक्ने हो भने सूचना आयोगले आफै काम गर्छ।’
जवाफमा सहकारी मन्त्रालयका सचिव मैनालीले सहकारीमा सूचना अधिकारीको व्यवस्थाका लागि सरकार सक्षम रहेको बताए। ‘सहकारीले सूचना दिने वातावरण हुन्छ’, उनले भने। उनले सहकारीमा सुशासन राख्न सञ्चारको भूमिका महत्वपूर्ण हुने पनि बताए। 

कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष एवं सूचनाको हकका अभियन्ता धर्मेन्द्र झाले सूचनाको हकसम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए। उनले सूचना नपाए सूचनासम्बन्धि ऐन २०६४ को दफा ३ अन्तर्गत निवेदन दिएर अघि बढ्न सञ्चारकर्मीलाई सुझाव दिए। सहकारीमा सूचना अधिकारी तोक्नु आवश्यक भएकोतर्फ उनले सूचना आयोगको ध्यानाकर्षण गराएका थिए। 

प्रकाशित: २० पुस २०७५ १४:४४ शुक्रबार

सहकारी सूचना_अधिकारी राष्ट्रिय_सूचना_आयोग