अर्थ

मोतीपुर औद्योगिक क्षेत्रको निर्माण कार्य सुस्त

मोतीपुर औद्योगिक क्षेत्र परियोजना कार्यालय। तस्बिर:नागरिक

रुपन्देही - प्रदेश स्तरीय मोतीपुर औद्योगिक क्षेत्रको निर्माण कार्य सुस्त भइरहेको छ। आगामी वर्षदेखि पूर्वाधार निर्माण थाल्ने दाबी गरिए पनि कामको गति बढ्न सकेको छैन। चैतसम्म वातावरणीय प्रभाव मूल्यांकन (इआइए) सक्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको तयारी छ।

आगामी वर्षदेखि भौतिक पूर्वाधार निर्माणको काम सुरु गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक नन्दकिशोर बस्नेतले बताए। उनका अनुसार पहिलो चरणमा सडक निर्माण गर्ने, विद्युत् जडान कार्य प्रारम्भ हुने छ।  तर इआइए टोलीले भने अहिलेसम्म इआइए गर्ने प्रक्रिया सुरु गरेको छैन। नेक्सस कन्सलटेन्ट काठमाडौंले इआइए सुरु गरेको छ।अहिलेसम्म १० प्रतिशतमात्रै काम भएको कन्सलटेन्टले जनाएको छ। जग्गा अभावका कारण उद्योगी रुपन्देहीबाहिर जान थालेका छन्। बुटवल औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि ठाउँ नै छैन। यहाँ जग्गा किनेर उद्योग सञ्चालन गर्न सक्ने अवस्था नभएकाले बाध्य भएर रुपन्देहीभन्दा बाहिर जानु परेको उद्योगी बताउँछन्।

उद्योगीले जग्गा अभावमा उद्योग स्थापना गर्न नपाएपछि अर्को औद्योगिक क्षेत्र स्थापनाको माग गरेका थिए। उद्योगीको मागअनुसार नै मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्ने योजना अघि बढेको हो। तर, मोतीपुर औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया भने निकै सुस्त भएको उद्योगीको गुनासो छ। अर्को वर्षदेखि औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गर्ने बताइए पनि त्यो गतिमा काम हुन नसकेको रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी बताउँछन्। ‘तिनाउ नदी वारीपारि जग्गा छ, यसको व्यवस्थापन कहिले हुन्छ र कसरी काम हुन्छ,’ उनले भने, ‘कामको गति छिटो भएन।’ उनले उद्योगीले धेरै समय पर्खन सक्ने अवस्था नभएकाले औद्योगिक क्षेत्रले कामको गति बढाउनुपर्ने बताए।

तत्कालीन समयमा बुटवल उद्योग वाणिज्य संघको पहलमा मोतीपुर औद्योगिक क्षेत्रको प्रस्ताव गरिएको थियो। औद्योगिक क्षेत्र समयमा सम्पन्न गर्न कामको गति अझै बढाउनुपर्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले बताए। ‘उद्योगीले छिटोभन्दा छिटो निर्माण गर्न माग गरेका छौं,’ उनले भने। औद्योगिक क्षेत्रको काम अघि बढाउन परियोजना कार्यालय सञ्चालन भने गरिएको छ। प्रदेश ५ को अस्थायी राजधानी बुटवल उपमहानगरभित्रको मोतीपुर क्षेत्रलाई समेटेर औद्योगिक क्षेत्र निर्माण हुन थालेको हो। आठ सय १३ बिघा क्षेत्रफलमा बन्न लागेको औद्योगिक क्षेत्र पूर्वाधार विकासका लागि आठ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आठ सय १३ बिघा जग्गालाई चार क्षेत्रमा विभाजन गरिएको छ।

तिलोत्तमा नगपालिका, बुटवल उपमहानगरपालिका र शुद्धोधन गाउँपालिकाको जग्गा एकीकृत गरी औद्योगिक क्षेत्र निर्माण गरिएको छ। तिलोत्तमा क्षेत्रलाई सेक्टर ए मानिएको छ। एक सय ५४ बिघा क्षेत्रफल रहेको तिलोत्तमामा एक सय ३० प्लट रहने छ। मोतीपुर क्षेत्रलाई बी सेक्टरमा राखिएको छ । चार सय पाँच बिघा क्षेत्रफल रहेको मोतीपुरमा दुई सय ६२ प्लट रहेको छ। मोतीपुर क्षेत्रमा एक सय ४३ बिघा जग्गा बस्तीका लागि समयोजन गर्नुपर्ने छ। त्यस्तै फर्साटिकर क्षेत्रलाई ‘सेक्टर सी’मा राखिएको छ। फर्साटिकर क्षेत्रमा दुई सय २५ बिघा क्षेत्रफल छ। जसमा एक सय ५२ प्लट रहने छ। यो सेक्टरमा पनि ६० बिघा जग्गा बस्ती विकासका लागि राखिएको छ। त्यस्तै दक्षिणतर्फको भागलार्ई डी सेक्टरको रुपमा राखिएको छ। ६६ बिघा जमिन यो सेक्टरमा छ। यो ग्रिनरी निर्माणका लागि छुट्याइएको महाप्रबन्धक बस्नेतले बताए।

औद्योगिक क्षेत्रभित्र चार लेनको मुख्य सडक र दुई लेनको सहायक सडक बनाइनेछ। ४० मेगावाटको छुट्टै विद्युत् फिडर राखिने छ। तिनाउ खोलाको बहाव क्षेत्रका लागि न्यूनतम ५० मिटर कायम गरिएको छ।

वातावरणमैत्री उद्याेग सञ्चालनमा जाेड
मोतीपुर औद्योगिक क्षेत्र अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र लुम्बिनी र बुटवल सहर नजिक रहेकाले यहाँ वातावरणलाई प्रभाव पार्ने उद्योग स्थापना नगरिने भएको छ। वातावरणीय प्रभाव मूल्यांकन (इआइए) रिपोर्ट कस्ता उद्योग स्थापना गर्न मिल्छ भनेर गर्न लागिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक बस्नेतले बताए। उनका अनुसार यहाँ धुवा निस्कने, पानी तथा जमिनमा असर पार्ने खालको उद्योग स्थापना हुँदैन। ‘वातावरणलाई असर गर्ने कुनै पनि उद्योग स्थापना हुन्न,’ उनले भने।

औद्योगिक क्षेत्रले केहि महिनाअघि निवेदन संकलन गरेको थियो। जसमा चार सय ५० उद्योगको निवेदन परेको थियो। त्यहाँ सिमेन्ट उद्योगदेखि वातावरणलाई प्रभाव पार्ने उद्योगको पनि निवेदन आएको भन्दै मोतीपुर वातावरणमैत्री औद्योगिक क्षेत्रको रुपमा स्थापना गरिने उनको भनाइ छ। बुटवल सहर र बस्तीनजिकै रहेकाले यो उद्योगमा प्रदुषण फैलाउने उद्योग राख्न नहुने माग उठिरहेको छ।

प्रकाशित: २० पुस २०७५ ०४:४७ शुक्रबार

मोतीपुर_औद्योगिक_क्षेत्र पूर्वाधार वातावरणमैत्री_उद्याेग