अर्थ

सान्जेनको ६६ प्रतिशत काम पूरा

सान्जेन जलविद्युत् आयोजनाको पावर हाउस। तस्बिर : हिमनाथ/नागरिक

रसुवा - रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको सान्जेन जलविद्युत् आयोजनाको ६६ प्रतिशत काम पूरा भएको छ। आयोजनाको पाँच लटमा निर्माण कार्य भइरहेको छ। सिभिल कार्यतर्फ ६७, इलेक्ट्रो मेकानिकलतर्फ ५८, हाइड्रो मेकानिकलतर्फ ५४ र प्रसारण लाइन निर्माणमा १५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ।

आयोजनामा सुरुङ, पावरहाउस र हेडवक्र्स निर्माणको काम भइरहेको छ। हेडरेस टनेल निर्माणको काम ७१.८० प्रतिशत सकिएको छ। हेडरेस सुरुङ तीन हजार ६ सय ४० मिटर सुरुङमध्ये दुई हजार सात सय पाँच मिटर सुरुङ निर्माण गरिएको छ।
आयोजनाको पाँच हजार दुई सय मिटर सुरुङमध्ये चार हजार एक सय मिटर सुरुङ निर्माण भइसकेको आयोजनाले जनाएको छ। सुरुङ निर्माणको काम ९० प्रतिशत पूरा भएको उनको भनाइ छ। ‘बाँध निर्माणको काम ७५ प्रतिशत सकिएको छ,’ उनले भने, ‘यही गतिमा काम हुने हो भने तोकिएको समयमा विद्युत् उत्पादन हुन्छ।’ ४२.५ मेगावट क्षमताको आयोजनाको निर्माण कार्य २०६९ देखि सुरु भएको थियो।

एसइडब्लु टुन्डी जेभीले निर्माण गरिरहेको आयोजनाले २०७६ फागुनभित्र विद्युत् उत्पादन सुरु गर्नेछ। आयोजनाको पाँच चरणमा काम भइरहेको प्रशासकीय अधिकृत सुनिलप्रसाद रेग्मीले बताए। सिभिलमा एसइडब्लु टुन्डी जेभी, इलेक्ट्रो मेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसन कर्पोरेसन, हाइड्रो मेकानिकलमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड र प्रसारण लाइन निर्माणमा मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका आयोजनाले जनाएको छ।

चारवटा ठेकेदारले निर्माण कार्य गरिरहेका छन्। चारवटै ठेकेदारले डिजाइन, आयात, जडान, परीक्षण र कमिसनिङको काम गर्ने प्रशासकीय अधिकृत रेग्मीले बताए। उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चिलिमे हवमा गएर जोडिने छ। आयोजनाबाट विद्युत् उत्पादन गर्ने समय नजिकिँदै गएको कारण प्रसारण लाइन निर्माणमा प्राधिकरणले तीव्रता दिएको जनाएको छ। भूकम्प, नाकाबन्दी, पहिरो र ठेकेदारको लापरबाहीका कारण निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ। यो आयोजना निर्माणका लागि पाँच अर्ब दुई करोड ४२ लाख रुपैयाँ खर्च हुने बताइएको छ।

प्रकाशित: १९ पुस २०७५ ०४:१५ बिहीबार

सान्जेन_जलविद्युत्_आयोजना निर्माण प्रसारण_लाइन