अर्थ

६ लेन सडक : निर्माणमा कमजोरीले दुर्घटना बढ्दै

धनगढी - धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत बोराडाँडीमा कल्भर्ट निर्माणका लागि खनिएको खाल्डोमा अहिलेसम्म चार मोटरसाइकल र एक जिप खसिसकेका छन्। कल्भर्ट अगाडि डाइभर्सन गर्न बनाएको सडकको संकेत गरेको साइनबोर्ड नराखिएकाले झुक्किएर सवारीसाधन दुर्घटनामा परेर खाल्डोमा खसेका हुन्।

‘डाइभर्सनको साइन राखेको बोर्ड नहुँदा खाल्डोमा दुर्घटना हुने गरेका छन्,’ स्थानीय विजय बहादुर बोहराले भने। ६ लेन सडक निर्माणका लागि ठेक्का लिएका निर्माण व्यवसायीले सम्झौता बमोजिम न्यूनतम मापदण्डसमेत पालना नगर्दा दुर्घटना बढेका छन्। यो सडकमा दिनहुजसो दुर्घटना भइरहने गरेको छ। यो सडकमा दुर्घटना बढेर कैयौं घाइते भएका छन्।

निर्माण सुरु भएदेखि हालसम्म एक वर्षको अवधिमा ६ लेन सडकमा भएका दुर्घटनामा ६ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक अनिल उप्रेतीले बताए। ‘सडकको अवस्था ठिक नभएका कारण दुर्घटना हुने गरेको हो,’ उनले भने, ‘यो सडकमा दुर्घटना बढेका छन्। संकेतहरु नहुँदा नयाँ आउने चालकलाई डाइभर्सन छ भन्ने जानकारी नहुने भएकाले दुर्घटनाको जोखिम रहेको उनी बताउँछन्। सडक भत्किनु, कल्भर्ट निर्माण गर्दा डाइसर्भन गरिएका ठाउँमा संकेतहरु नराखिएकाले चालक भुक्किने गरेका छन्।

धनगढी मोहना पुलदेखि अत्तरिया चोकसम्म १४.२ किलोमिटर लम्बाइ रहेको सडक खण्डअन्तर्गत एक दर्जनभन्दा बढी ठाउँमा कल्भर्ट निर्माणका लागि ‘डाइभर्सन’ गरिएको छ। डाइभर्सन गरिएका अधिकांश ठाउँमा संकेत राखिएको छैनन्। ६ लेन सडक परियोजनाका सब–इन्जिनियर उपेन्द्र ढकाल डाइभर्सन भएका केही ठाउँमा संकेत नराखिएकामा कमजोरी भएको बताउँछन्। ‘संकेत कहाँ राख्नुपथ्र्यो, केही ठाउँमा नराखेर कमजोरी भएको छ,’ उनी भन्छन्, ‘राख्न भनेर हामीले निर्माण व्यवसायीलाई भनेका छौं।’ डाइभर्सन गरिएका ठाउँमा स्पष्ट देखिने गरी बोर्ड, संकेतहरु राख्न पटकपटक भनिए पनि निर्माण कम्पनीले बेवास्ता गरेको उनको भनाइ छ। ‘डाइभर्सन गरिएका ठाउँमा बोर्ड राखिएका छैनन्। सवारीसाधन चलाउँदा राती धेरै समस्या हुने गर्छ,’ स्थानीय सुरत रावत भन्छन्।

निर्माण भइरहेका ठाउँमा संकेतहरु नराख्ने जस्ता कमजोरीले दुर्घटनामा परी सर्वसाधारणले अकालमै ज्यान गुमाउनु परिरहेको स्थानीयको भनाइ छ। ‘निर्माणव्यवसायीको लापरबाहीले दुर्घटनामा परी मेरो छोराको अकालमै ज्यान गयो,’ धनगढी राजपुरका सुलिन चौधरीले दुःखेसो पोखे। गत वर्ष भएको दुर्घटनामा उनका छोराको ज्यान गएको थियो। टाढैबाट देखिने गरी स्पष्ट संकेत राख्ने र खाल्डाखुल्डी पुर्नसके दुर्घटनामा कमी आउने स्थानीय बताउँछन्

धुलो प्रदुषण
सम्झौतामा धुलो उड्न दिन नियमित पानी हाल्ने उल्लेख भए पनि निर्माण व्यवसायीले आवश्यक पानी नहाल्ने गरेकाले मोहनादेखि अत्तरियासम्म धुलोले सर्वसधारणलाई धेरै सास्ती भएको छ।

ओहोरदोहोर गर्नेदेखि सडक वरपर घर, पसल भएकाले सास्ती खेप्नुपरेको छ। ‘धुलोले हामी बिरामी पर्ने गरेका छौं। पसलका लुगाकपडा समेत धुलोले फोहोर भएर व्यवसायसमेत धरापमा परेको छ,’ स्थानीय व्यवसायी रामबहादुर रावल भन्छन, ‘निर्माणमा ढिलासुस्तीले हामीलाई धेरै समस्या भएको छ।’

धुलो उड्न नदिन दैनिक पानी हाल्नुपर्ने माग स्थानीयको छ। आयोजना कार्यालय र निर्माण कम्पनीको लापरबाहीका कारण सास्ती भोग्नु परेको गुनासो सर्वसाधारणको छ।

निर्माणमा ढिलाइ
निर्माण सुरु भएको डेढ वर्ष हुँदा पनि ६ लेन सडकको काम सुस्त छ। आगामी जेठमा सक्नुपर्ने आयोजनाको काम हालसम्म करिब ४० प्रतिशतमात्र सम्पन्न भएको छ। निर्माण कार्यमा ढिलाइ भएको सब इन्जिनियर बडालले स्वीकारेका छन्। ‘निर्माण कार्यमा ढिलाइ भएको छ’ उनले भने। सम्झौता भएको लामो समयसम्म सडकको क्षेत्राधिकार खाली नहुँदा काममा ढिलाइ भएको कारण देखाउँदै निर्माण कम्पनीले एक वर्ष म्याद थपका लागि आयोजना कार्यालयमा निवेदन दिएका छन्। सडकमा भएका रुख काटिसकिएको छ। विद्युतका पोल हटाउने काम भइरहेको छ। सडकमा अवरोध नभए पनि निर्माण कम्पनीले काममा गति दिन सकेका छैनन्।

प्रदेश राजधानी अत्तरिया, अस्थायी राजधानी एवं प्रमुख व्यापारिक केन्द्र धनगढी र भारतीय नाका गौरीफण्टासम्म जोड्ने ६ लेन सडक यहाँको महत्वपूर्ण आयोजना मानिएको छ।  एक अर्ब ६८ करोड रुपैयाँ लागत रहेको यो आयोजनालाई तीन खण्डमा छुट्याएर काम भइरहेको छ। तीनवटा निर्माण कम्पनीले काम गरिरहेका छन्। आयोजना प्रमुख अर्जुन राजेश पौडेलले सुरक्षा र धुलो प्रदुषण कम गर्न निर्माण कम्पनीलाई निर्देशन दिने बताएका छन्।

 

नोट तस्विर छ  निर्माण हुदै छ लेन सडक।

प्रकाशित: १९ पुस २०७५ ०३:४६ बिहीबार

६_लेन_सडक निर्माण कमजोरी दुर्घटना