अर्थ

सिक्टाको डुडुवा शाखा नहरमा अर्को ठेक्का खोल्ने तयारी

अलपत्र अवस्थामा रहेको सिक्टाको डुडुवा शाखा नहर।  तस्बिर : नागरिक

नेपालगन्ज - सरकारले सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माणका लागि अर्को ठेक्का खोल्ने तयारी गरेको छ।  यसअघि ठेकेदार ‘कोस्टल–पप्पु जेभी’ले सम्झौता गरे पनि तोकिएको समयभित्र काम सम्पन्न नगरेको भन्दै सरकारले कालो सूचीमा राखेर ठेक्का तोडेको थियो। 

आयोजनाका अनुसार २०७३ असार ६ गते भएको ठेक्का सम्झौता बमोजिम ‘कोस्टल–पप्पु’ ले २०१८ अक्टोबर २० तारिखसम्म सम्पन्न गर्नुपर्नेमा ७ प्रतिशत मात्रै गरेको थियो। डुडुवामा करिब २३.२ किलोमिटर लामो शाखा नहर बनाउन सिँचाइ विभागले ९८ करोड रुपैयाँमा ठेकेदारसँग सम्झौता गरेको थियो। 

ठेक्का तोडेपछि अहिले डुडुवा नहरको काम पूरै ठप्प छ। स्थानीय किसानले अर्को ठेकेदार खोजेर भए पनि डुडुवा शाखा नहरको निर्माणाधीन काम सम्पन्न गर्नुपर्ने माग गर्दै आएका छन्। सरकारले कोस्टल–पप्पुसँग ठेक्का तोडे पनि अर्को ठेक्कामार्फत निर्माणाधीन काम सम्पन्न गर्ने प्रक्रियामा रहेको सिँचाइ विभाग स्रोतले जानकारी दियो। ‘निर्माणाधीन डुडुवा शाखा नहरको काम धेरै समयसम्म अधुरो हुँदैन,’ विभाग स्रोतले भन्यो, ‘पहिलो ठेक्का तोडे पनि अर्को ठेकेदारसँग सम्झौता गरेर काम अगाडि बढाउने प्रक्रिया मन्त्रालय र विभागले थाल्दैछन्।’ 

ठेक्का सम्झौता गरेको २८ महिना बित्दा पनि ‘कोस्टल–पप्पु’ले काम नगरेपछि तोड्नु परेको विभागले जनाएको छ। डुडुवा नहर निर्माणका लागि साउदी विकास कोषले नेपाल सरकारलाई दुई अर्ब ४१ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो। नहर निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने बेला सात प्रतिशत मात्र काम गरेपछि आयोजनाले पप्पुसँग ठेक्का तोडेर कालो सूचीमा राख्ने निर्णय मात्र गरेन, पप्पुको करिब सात करोड रूपैयाँ बराबरको बैंक ज्ञारेन्टीसमेत जफत गर्ने तयारीमा थियो। 

आयोजनाको उक्त कदमविरुद्ध ‘कोस्टल–पप्पु’ अदालत पुगेपछि उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले मुद्दाको टुंगो नलाग्दासम्म तत्काल बैंक ग्यारेन्टी जफत नगर्न र कालो सूचीमा नराख्न आदेश दिइसकेको छ। अदालतको उक्त आदेशले अर्को ठेक्का सम्झौता गर्नमा कुनै समस्या नपारेको हुँदा प्रक्रिया थालिएको आयोजना कार्यालयले जनाएको छ। 

आयोजना निर्देशक कृष्ण नेपाल डुडुवाको अधुरो काम सम्पन्न गर्न अर्को ठेक्का लगाउनुको विकल्प नरहेको बताउँछन्। ‘डुडुवा शाखा नहर निर्माण गर्न अर्को ठेक्का सम्झौता गर्ने प्रक्रिया अगाडि बढिरहेको छ,’ उनले नागरिकसँग भने, ‘यस विषयमा विभाग र मन्त्रालयमा आवश्यक छलफल चलिरहेको छ।’ सिक्टाको पानीले खेतबारीमा सिँचाइ गर्ने आशा गरिरहेका किसान डुडुवा शाखा नहर चाडो सम्पन्न हुनुपर्ने बताउँछन्। 

नहर निर्माणको काममा फेरीपनि बिलम्व गर्न नहुने कोहलपुर–१४ पार्वतीपुका किसान जमाहिर लाल लोनियाले बताए। गाउँमा डुडुवा नहर बाहेक सिँचाइको अरु कुनै विकल्प नभएका कारण डुडुवा नहर चाडो सम्पन्न हुनुपर्ने उनको माग छ। सिँचाइ नहुँदा यहाँका किसानले आफ्ना खेतबारी बाँझै राख्नुपर्ने बाध्यता रहेको लोनियाले सुनाए। ‘सिँचाइको एक मात्र विकल्प डुडुवा नहर हो, यो नहरले पनि अहिलेसम्म हामीलाई आशा मात्रै देखाउने काम गर्‍यो, चाडो सम्पन्न भएमा हामीलाई राहत मिल्थ्यो।’ सरकारले अर्को ठेकेदारलाई परिचालन गरेर भएपनि छिटो बनाउनुपर्ने उनले माग गरे।

सरकारले स्थानीय डुडुवा खोलाको पानीमार्फत किसानको खेतबारीमा सिँचाइ गर्ने उद्देश्यले परम्परागत डुडुवा सिँचाइ प्रणाली स्थापना गरेको थियो। उक्त नहरको २०२० सालमा राजा महेन्द्रले उद्घाटन गरेका थिए। तत्कालीन समयमा उक्त नहरबाट तीन क्युमेक पानी सञ्चालनमा ल्याइएको थियो। नहर पटक–पटक बिग्रिन थालेपछि सिक्टा सिँचाइ आयोजनाले डुडुवालाई आफ्नो सबैभन्दा ठूलो शाखा नहर बनाउने गरी काम अगाडि बढायो। आयोजना कार्यालयका अनुसार सिक्टाको पानी डुडुवा शाखा नहरमा साढे १८ क्युमेक छाडेर किसानको खेतबारीमा सिँचाइ सुविधा पुर्‍याइनेछ। यसबाट १६ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित: १६ पुस २०७५ ०५:२३ सोमबार

सिक्टा_सिँचाइ_आयोजना ठेक्का पप्पु_जेभी नहर