अर्थ

लाङटाङमा सडक निर्माण सुरु

रसुवा- पर्यटकीय क्षेत्र लाङटाङमा सडक निर्माणको काम सुरु भएको छ। जिल्लाको गोसाईकुण्ड गाउँपालिका–३ खाम्जिङदेखि लाङटाङको थाङस्यापसम्म जोड्ने कृषि सडकको निर्माण कार्य सुरु गरिएको हो।

जिल्लाको पाँचवटा गाउँपलिकाको २७ वडामध्ये २६ वटा वडा सडक सञ्जालले जोडिसकेको छ। चालु आर्थिक वर्षमा गोसाईकुण्ड गाउँपालिका–४ को वडा कार्यालयले छुट्याएको २५ लाख, संसद विकास कोषको २५ लाख तथा प्रदेश सरकारको ५० लाख रुपैयाँ गरी एक करोड रुपैयाँको लागतमा  सडक निर्माण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए। उक्त सडक खाम्जिङ, सुर्का, शेर्पागाउँ, लामा होटल, घोडा तबेला हुँदै थाङस्यापसम्म पाँच गाउँ छोएर निमार्ण गरिने बताइएको छ। सडककोे दूरी २५ किलोमिटर रहेको छ। सडक निर्माणका लागि उपभोक्ता समिति गठन गरी काम सुरु गरिएको गोसाईकुण्ड गाउँपालिका–४ का वडाअध्यक्ष सुप्पा तामाङले बताए।

गोसाईकुण्ड गाउँपालिका–४ लाङटाङमा एक सय १६ घरधुरी रहेको छ। यस क्षेत्रका ९५ प्रतिशत परिवार होटल तथा पर्यटन व्यावसायमा संलग्न छन्। भूकम्पपछि लाङटाङ र क्यान्जिन क्षेत्रमा एक घर एक होटल सञ्चालनमा छ।

लाङटाङ र क्यान्जिन क्षेत्रबाट एक दर्जन हिमशृंखला देख्न सकिन्छ। तीन सय सय ३० वर्ष पुरानो क्यान्जिन गुम्बा र नेपालको पहिलो चीज उत्पादन केन्द्र त्यहाँ पुगेपछि छुटाउन नहुने ठाउँ हो। धेरै हिमाल हेर्नका लागि क्यान्जिन री, लाङसिसा र चेर्गो री चढ्न सकिन्छ।
यी री चढेपछि करिब एक दर्जन हिमाल देख्न सकिन्छ। चेर्गो री वा लाङसिसा जाने बाटोमुनि लाङटाङ विमानस्थलको भग्नावशेष देख्न सकिन्छ। उकालो चढ्दा लेक लाग्ने सम्भावना पनि उतिकै छ। भूकम्पले क्षति गरेको पदमार्ग, निजी आवास र धार्मिक सम्पदा पुनर्निर्माण भइसकेको छ।

प्रकाशित: १५ पुस २०७५ ०४:४७ आइतबार

लाङटाङ सडक कृषि संसद_विकास_कोष