अर्थ

यातायातको भाडा घट्यो

खोटाङ – जिल्ला प्रशासन कार्यालयमा गत सोमबार बसेको यातायात क्षेत्र सुधार सम्बन्धी बैठकले खोटाङमा किलोमिटरका हिसाबले सार्वजनिक यातायातको भाडा निर्धारण गरेको छ। हालसम्म बिना मापदण्ड सार्वजनिक यातायातको भाडा निर्धारण गरेर लागू गरिँदै आएकामा उक्त बैठकले हालसम्मकै कम भाडादर तोकेको छ।

आगामी पुस १५ गतेदेखि लागू हुनेगरी सवारी साधन तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ अनुसार राजमार्गमा बसमा यात्रा गर्न प्रतिकिलोमिटर चार र जिपका लागि प्रतिकिलोमिटर पाँच रुपैयाँ भाडा दर निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताए।
यस्तै, जिल्लामा सञ्चालित कच्ची सकडमा ५० किमिसम्मको दूरी भएको सडकमा बसका लागि प्रतिकिमि आठ र जिपका लागि साढे १० रुपैयाँ भाडा लिन पाउने व्यवस्था गरिएको छ। यस्तै, ५० किमिभन्दा बढी दूरीको कच्ची सडक भए बसका लागि प्रतिकिमि ६ रुपैयाँ र जिपका लागि प्रतिकिमि साढे आठ रुपैयाँ भाडा निर्धारण गरिएको प्रजिअ पौडेलले बताए।

‘यसअघिको भाडादर कुन आधारमा धेर वा थोर निर्धारण गरियो भन्ने लजिक थिएन,। १६ किमि सडकको भाडा पाँच सय लिने गरेको पनि देखियो,’ प्रजिअ पौडेलले भने, ‘अहिले हामीले सवारी साधन तथा यातायात व्यवस्था ऐनअनुसार दूरीका आधारमा नयाँ भाडादर निर्धारण गरेका छौं।’

मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेलबाट हलेसी–जयराम हुँदै बाहिरिने सडकमा बसका लागि प्रतिकिलोमिटर चार र जिपका लागि प्रतिकिमि पाँच रुपैयाँ भाडा दर लागू हुने छ। जिल्लाको दिक्तेल–बाक्सिला, दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–निर्मलीडाँडा, दिक्तेल–पाथेका, दिक्तेल–जालपा, दिक्तेल–पञ्चमीबजार लगायतका कच्ची सडकमा भने बसका लागि प्रतिकिमि आठ र जिपका लागि साढे १० रुपैयाँ भाडा कायम गरिएको छ। पुस १५ देखि हरेक सडकमा दूरीका आधारमा मात्र भाडा लिने दिने व्यवस्था लागू गरिने प्रजिअ पौडेलले बताए।

 

प्रकाशित: १३ पुस २०७५ ०३:५१ शुक्रबार

जिल्ला_प्रशासन_कार्यालय यातायात भाडा